Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

क्याम्पसमा आर्थिक कठिनाई, सित्तैमा पढ्ने बुहारीहरुलाई नि:शुल्क भर्ना !

आइतबार, २३ मंसिर २०७५

काठमाडौं - शहीद आदर्श क्याम्पस भद्रबासले क्याम्पस पढ्न चाहने बुहारीहरुलाई नि:शुल्क भर्ना गर्ने भएको छ । विहे गरेपछि पढाईनै छुट्ने बढ्दो क्रम रोक्न क्याम्पसले २०७२ सालदेखि त्यस क्षेत्रका बुहारीहरुलाई भर्ना र मासिक शुल्क छुट दिदैं आएको थियो । तर, यस बर्षबाट भर्नामा मात्रै छुट दिने निर्णय गरेको छ । आर्थिक कठिनाईका कारण सबै शुल्क छुट गर्न नसकिएको क्याम्पसका संस्थापक अध्यक्ष केशवप्रसाद पुडासैनीले बताए । 

'हाम्रो उद्धेश्य त निशुल्क पठन पाठन गराउने नै थियो, तीन बर्ष कोशिस पनि गर्यौं तर आर्थिक कठिनाईले हामीलाई गाह्रो बनाएर यस बर्षबाट भर्नामा मात्रै छुट दिने निर्णय गरेका छौं' उनले भने । 

विद्यार्थीको भर्ना शुल्क ४ हजार १ सय रुपैंया छ भने मासिक शुल्क ६ सय रुपैंया छ । यो निर्णय सँगै बुहारीहरुका लागि भर्ना शुल्क छुट गरिएको छ । तर उनीहरुले मासिक ६ सय रुपैंया भने बुझाउनु पर्छ ।  

२०६३ सालमा स्थापना भएको क्याम्पसमा वीवीएस र वीएडमा गरी १ सय ५ जना विद्यार्थी छन् । क्याम्पस सञ्चालनका लागि गत बर्ष विश्वविद्यालय अनुदान आयोगबाट ४ लाख ९० हजार र नगरपालिकाबाट ५ लाख रुपैंया सहयोग भएको पुडासैनीले बताए । 

प्रदेश सरकारबाट क्याम्सलाई प्राप्त हुने एक करोड रुपैंयाबाट क्याम्पसको आफ्नै नाममा भएको जग्गामा भवन बनाउन सामाजिक विकास मन्त्रालय, हेटौंडामा गएर सम्झौता गर्ने सञ्चालक समितिले निर्णय गरेको छ । 

 

प्रतिक्रिया