Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
विचार / विमर्श

अस्थायी शिक्षकलाई किन अपमान ?

सोमबार, २४ मंसिर २०७५

शिक्षक एक, तर प्रकार स्थायी, अस्थायी, राहत, अनुदान, पिसिएफ, निजी स्रोत आदि !

विभिन्न वर्ग वा प्रकारमा गरिएको यो विभाजन शिक्षकले गरेको हैन, राज्यले गरेको हो । उनीहरुलाई समान ब्यवहार नगरेर राज्यले अर्को अपराध गरेको छ । 

दुःखको कुरा शिक्षक स्वयं आपसमा एक अर्कालाई विभेद गर्दछन् । शिक्षकको अधिकार र राज्यले शिक्षकलाई दिनु पर्ने सम्मान र गर्नु पर्ने व्यवहारमा शिक्षककै एक आपसको खिचातानीले महत्वपूर्ण भूमिका निर्वाह गरेका छ । उनीहरु आफ्ना अधिकार हासिल गर्न सकेका छैनन् । निजामती र शिक्षकमा सेवा सुबिधाको हिसाबले धेरै भिन्नता छ । निजामती भित्र शिक्षा सेवालाई त राज्यले विभेद गरिरहेको छ भने यसरी खिचातानीमा रुमलिने शिक्षकलाई गर्न के गाह्रो ! 

यस आलेखमा शिक्षक सेवा आयोगद्धारा जारी अस्थायी शिक्षकको नतिजा सार्वजनिक हुने क्रमका सन्दर्भमा चर्चाको प्रयास गरिएको छ । पछिल्लो समय  अस्थायी शिक्षकहरुलाई केही गर्न नसक्ने र शिक्षाको गुणस्तर वृद्धि गर्न नसक्ने समूहको रुपमा चित्रित गर्न खोजिएको छ । 

आयोगद्धारा प्रकाशित नतिजा विश्लेषण गर्ने हो भने असफल हुने शिक्षकको संख्या ५० प्रतिशत हाराहारी देखिन्छ । उक्त नतिजा संगै विद्यालय शिक्षा क्षेत्र बिगार्ने यिनीहरू नै हुन् भन्ने विश्लेषण सुन्न पढ्न पाहिन्छ । यस नतिजामा असफल हुनेहरुले शिक्षण गर्न सक्दैनन् पनि भनेको सुन्न पाहिन्छ । कतिपय सञ्चार माध्यमले लेखेको समाचारमा पनि यस्तै विश्लेषण देखिन्छ । 

के अवस्था यस्तै हो त ? बेरोजगार शैक्षिक जनशक्ति उत्पादन गर्ने अस्थायी शिक्षक नै हुन् त ? के उक्त परीक्षाले उनीहरूको योगदानको मूल्यांकन गर्न सक्छ ? उनीहरूको अनुभव जाँच्न सक्छ ?

यही नतिजाका आधारमा अस्थायी शिक्षकहरूलाई अयोग्य भन्ने हो भने त्यही समय वा पछि स्थायी भएका शिक्षकहरुलाई पुन परीक्षामा सहभागी गराउने हो भने नतिजा कस्तो आउला ? 

यहाँ सबै स्थायी र अस्थायी शिक्षकहरु एकैनास हुन्छन् भनेर सामान्यीकरण गर्न खोजिएको छैन । नेपालकै शिक्षक तथा दरबन्दी बिवरण हेर्ने हो भने स्थायी भन्दा अस्थायी र अन्य प्रकारका शिक्षककै संख्या धेरै छ । कतिपय स्थायी शिक्षकहरु ठेमाने अर्थात्  ठेकेदार माष्टर नेता छन् ।  आफ्नो जागिरको स्थायित्वको दम्भका कारण अरुलाई नटेर्ने यनीहरुका चरित्र छ । त्यसो भए विद्यालय कसले धानेका छन् त ? निशन्देह अस्थायी र अन्य प्रकारका शिक्षकले नै विद्यालय धानेका छन् । 

नेपालमा शिक्षकलाई अस्थायी बनाउन बिभिन्न पक्षहरु जिम्मेवार छन् । सरकार, कर्मचारीतन्त्र, शिक्षक सेवा आयोग, राजनीतिक दल, शिक्षकका नेता र स्वयम् शिक्षकहरु पनि । सरकारको शिक्षक प्रती स्पष्ट धारणा छैन । विगतमा शिक्षक बनेका र शिक्षकको पिर मर्का बुझेका कैयन ब्यक्तिहरु शिक्षा मन्त्री बन्दा समेत यस बिषयलाई बेवास्ता गरेको पाइन्छ । नीति निर्माणको स्थानमा पुगेका नेताहरूमा स्पष्ट दृष्टिकोण नहुनु र कर्मचारीतन्त्रकै इशारामा नाच्नु अर्को कारण हो । अर्को तर्फ कर्मचारी छनौटमा लोक सेवा आयोग जसरी संबैधानिक अङ्ग बनेर स्वतन्त्र रूपमा कार्य गरेको छ, त्यसरी शिक्षक सेवा आयोग स्वायत्त हुन नसक्दा समस्या जेलिएको छ । 

राजनीतिक दलले आफ्नो झण्डा बोकाउनका लागि पनि शिक्षकलाई स्थायी गर्नुहुदैन भन्ने मानसिकताले पनि ठुलो भुमिका खेलेको छ । यस्तै शिक्षकहरु पनि राजनीतिक रूपमा विभिन्न दलका भातृसंगठनमा बिभाजित हुने र पेशागत संगठन भन्दा पनि राजनीतिक संगठन जस्तो क्रियाकलाप तथा कार्यक्रममा सहभागी हुने गरेको पाहिन्छ । यस्तै शिक्षकका नेताहरू शिक्षकका पेशागत हकहित भन्दा पनि संगठनलाई भर्याङ बनाएर राजनीतिमा होमिने गरेको देखिन्छ । यसरी अस्थायी शिक्षकको समस्या लामो समय देखि झन् पछि झन् बल्झिदै गएको यथार्थ हाम्रा सामु छर्लङ्ग छ । 

यदि शिक्षकको परीक्षा समयमै सञ्चालन गर्न सकेको भए अस्थायी शिक्षकको समस्या यसरी बिकराल भएर झाङ्गिने थिएन । निरन्तर रूपमा आयोगले परीक्षा सञ्चालन गरेको भए यस्तो अवस्था आउने नै थिएन । शिक्षकहरु समयमै स्थायी हुने थिए । यदि हुन नसकेको भए अन्य विकल्प रोज्ने थिए । वास्तवमा उनीहरू भविष्य नै अनिश्चित बनेको छ । आज उनीहरू घरको न घाटको बनेका छन् । यसका निमित्त जिम्मेवार पक्षहरुले क्षतिपूर्ति दिनु पर्दैन ? 

अबको बाटो

के एउटा जवान सन्तानले आफ्ना वृद्ध मातापितालाई अपमान गर्न मिल्छ ? यस्तै अवस्था हो अस्थायी शिक्षकहरुको । वर्तमानमा जवान सन्तानले जति भुमिका निर्वाह गर्न नसके पनि उनीहरूले विगतमा गरेको योगदानलाई नजर अन्दाज गर्न मिल्दैन । उनीहरू मध्ये वर्तमानमा योगदान दिन सक्नेलाई शिक्षणमा संलग्न गराउन सकिन्छ । उनीहरूको अनुभवलाई सदुपयोग गर्नका लागि फरक भुमिका प्रदान गर्न सकिन्छ । तर उनीहरूलाई अपमान गर्नु हुँदैन । शिक्षा ऐनले गरेको ब्यवस्था अनुसार जतिसक्दो चाँडो ससम्मान बिदाइ नगर्ने हो भने उनीहरुले अझै धेरै अपमान सहनु पर्ने देखिन्छ ।

शिक्षक प्रति समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउन कार्यरत स्थायी शिक्षकहरुलाई उपलब्ध गराईने तालिमको ढाँचामा परिवर्तन ल्याई उनीहरुलाई नवीनतम चिन्तन र आधुनिक प्रबिधिमैत्री बनाउनु पर्छ । तालिम, गोष्ठी, सेमीनार जस्ता कार्यक्रम निरन्तर चलाइनुपर्छ । उनीहरूको योग्यता र अनुभव अनुसार फरक फरक भुमिका क्रमशः दिइनु पर्छ । अहिलेको बेरोजगार युवा पुस्तालाई शिक्षण तर्फ आकर्षित गर्नै पर्छ । 

शिक्षकका सेवा सुबिधा समयानुकूल सुधार गर्नु पर्छ ।  बिदेश पलायन भइरहेको पुस्तालाई रोक्न सक्नु पर्छ । शिक्षक र शिक्षा बिकासमा प्राथमिकता नदिईकन देश बिकास र समृद्धिको नाराको अर्थ छैन ।  यसका लागि शिक्षकहरु स्वयम् जिम्मेवार र जवाफदेही हुनु अपरिहार्य छ ।

एम.सी. गौमुखी मा.वि. प्युठानका अङ्ग्रेजी शिक्षक हुन् । 

 

प्रतिक्रिया