Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

प्राइभेट परीक्षा बन्दको विरोध

सोमबार, २४ मंसिर २०७५

काठमाडौं - स्नातकोत्तर तहमा प्राइभेट परीक्षा बन्द गर्ने त्रिभुवन विश्वविद्यालयको निर्णयको सत्ताधारी दलका विद्यार्थी संगठनले विरोध गरेका छन् । सोमबार उपकुलपति प्रा.डा. तीर्थ खनियालाई ज्ञापनपत्र बुझाएर उनीहरुले उक्त निर्णय गलत भएकाले फिर्ता लिन माग गरेका छन् । विना विकल्प परीक्षा बन्द गर्दा हजारौं विद्यार्थी मर्कामा परेको उनीहरुको तर्क छ । 

'त्रिवि परीक्षा नियन्त्रण कार्यालयले सञ्चालन गर्दै आईरहेको प्राईभेट परीक्षा विना विकल्प एक्कासी बन्द हुँदा धेरै विद्यार्थी स्नातकोत्तर तह उत्तीर्ण हुनबाट बञ्चित भएकाले प्राईभेट परीक्षा दिने ब्यवस्था पुनः कायम गरियोस्' १७ बुँदे ज्ञापनपत्रको पहिलो बुँदामा भनिएको छ ।  

नियमित क्याम्पस जान नभ्याउने विद्यार्थीका लागि सञ्चालित प्राइभेट परीक्षा स्नातकोत्तर तहमा सेमेस्टर प्रणाली लागू गरिएकाले वार्षिक प्रणाली अन्तर्गतको पढाइ बन्द गरेको तर्क सहित यो वर्षदेखि बन्द गर्ने त्रिविले निर्णय गरेको थियो । त्रिवि परीक्षा नियन्त्रण कार्यालयका अनुसार गत वर्ष मात्र यो कार्यक्रममा ५ हजार भन्दा बढी विद्यार्थी सहभागी थिए । प्राइभेट परीक्षा दिने मध्ये अधिकांश सेना, प्रहरी, निजामती सेवा, गैरसरकारी र निजी क्षेत्रमा कार्यरत कर्मचारी हुन्थे ।

स्नातकोत्तर तह अन्तर्गत यो कार्यक्रममा राजनीति शास्त्र र मास्टर्स इन पब्लिक एड्मिनिस्टे«सन (एमपीए) पढ्न पाइन्छ । यी विषयमा प्रयोगात्मक परीक्षा नहुने भएकाले कक्षामा नियमित उपस्थित नभए पनि सैद्धान्तिक विषयको परीक्षा दिन पाइन्छ । त्रिविले यसै वर्ष देखि स्नातकोत्तर तहमा उपत्यकाका सबै क्याम्पसमा सेमेस्टर प्रणालीमा पढाइ सुरु गरेको छ । त्रिविको स्नातक तहमा भने प्राइभेट परीक्षा दिन पाउने व्यवस्था कायमै छ ।

तर उक्त निर्णयले विद्यार्थीको भविष्य वर्वाद पारेको निश्कर्ष साथ ज्ञापन पत्र बुझाएको विद्यार्थी संगठनका नेताहरुले बताएका छन् ।  

उक्त ज्ञापनपत्रमा पाठ्यक्रम, अध्ययन विधि, शुल्क गुणस्तर छात्रवृत्ति, पुस्तकालय शौचालय ल्यावल लगायत भौतिक र शैक्षिक वातावरण चुस्त राख्न माग गरिएको छ । 

वेथितीको सम्बन्धन महँगो प्राविधिक शिक्षा, गुणस्तरहीन जनशक्ति र अति राजनीतिकरणले विश्वविद्यालय थिलोथिलो परेको ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।  जिम्मेवार पदाधिकारीहरुका गैह्र जिम्मेवार भूमिकाहरु विश्वविद्यालय ध्वस्त बनाउने कारक बनेको उक्त ज्ञापन पत्रमा उल्लेख गरिएको छ । 

सत्ताधारी दल नेकपाका दुबै विद्यार्थी संगठन मध्ये तत्कालिन माओवादी निकट अखिल क्रान्तिकारीका अध्यक्ष रञ्जित तामाङ् र एमाले निकट अनेरास्ववियुका कार्यवहाक अध्यक्ष रश्मि आचार्यद्धारा हस्ताक्षरित उक्त ज्ञापनपत्रको पूर्ण विवरण पढ्नुहोस् :

प्रतिक्रिया