Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
खबर/फिचर

शिक्षाका भ्रष्टाचारीलाई अख्तियार कुर्न नपर्ने, थुतेर मोसो दल्न नेकपा प्रवक्ताको निर्देशन !

सोमबार, २४ मंसिर २०७५

काठमाडौं  - सत्ताधारी दलका प्रवक्ता नारायणकाजी श्रेष्ठले शिक्षा क्षेत्रका भ्रष्टहरुलाई कारवाही गर्न अख्तियार कुर्नु नपर्ने भन्दै 'टेबलबाटै थुतेर कालो मोसो दल्न' युवा विद्यार्थीलाई निर्देशन दिएका छन् । कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धनका विरुद्ध आन्दोलनरत प्राध्यापक तथा विद्यार्थीले गरेको कार्यक्रममा सहभागी विद्यार्थीलाई उनले यस्तो निर्देशन दिएका हुन् ।  

'प्राध्यापक विद्यार्थी डेलिगेसन आउनु भाथ्यो मैले सोधेँ तपाईहरुलाई थाह छ के भएको हो ? थाह छ भन्नु भो, थाह छ भने निकाल्नुस् बाहिर मैले भनेकै हो, अहिले पनि भन्छु कति विगार्ने ? भ्रष्टाचारकै कारणले यस्तो भएको हो भने निकाल्नुस् अख्तियार मात्रै पर्खनु पर्दैन' श्रेष्ठले भने 'यति भन्दा मिडियाले बाहिर लेख्छ भने लेख्नुस् विद्यार्थी शिक्षक प्राध्यापक जनता सब मिलेर जहाँ जहाँ भ्रष्टाचार छ अख्तियारले कारवाही गर्दैन, देशलाई गलत दिशा तिर लैजान खोज्छ भने टेबलबाट निकालेर कालो मोसो दलेर घेरेर कारवाही गर्नु पर्छ ।' 

देशले तय गरेको समृद्धि र विकास शिक्षा क्षेत्रको सुधारबाट मात्रै सम्भव भएको बताउँदै श्रेष्ठले समाजवाद उन्मुख शिक्षा प्रणालीको निर्माण गर्न नसक्ने हो भने आफ्नो पार्टिले सरकार र शिक्षा मन्त्रालय सम्हालेको छ भन्नुको अर्थ नहुने पनि उल्लेख गरे । 

'शिक्षामा निजीकरण मात्रै हैन ब्यवसायिकरण हुँदै छ, आर्थिक उपार्जनको मुख्य थलो शिक्षा बनाउने र त्यसमा लगानी गर्ने प्रकृयाको प्रभावले शिक्षा क्षेत्रलाई जनमुखि बनाउँदैन' उनले भने, 'यदी सामुदायिक विद्यालय र आँगिक क्याम्पस सार्वजनिक र गुणस्तरीय शिक्षाको मुल थलो बन्दैन भने हाम्रो पार्टिले सरकार चलाउनु र शिक्षा मन्त्रालय चलाउनुको कुनै अर्थ छैन । हामी चलाईराखेका त छौं तर अर्थ छैन । '

भ्रष्टाचार अन्त्य नगरिकन समाजको विकास सम्भव नहुने भन्दै उनले आफ्नै दलको सत्ता हुँदा पनि सही काम गर्न नसकेको भन्दै 'दिक्दारी' ब्यक्त गरे । 

'कम्युनिष्टले त बुझ्नु पर्यो नी माओले साँस्कृतिक क्रान्ति किन गर्नु भाको ? पार्टिकै सत्ता छ, तर मजदूर वर्गकै शोषण छ, उत्पीडन भयो, सत्तामा आउनेहरु चाँही मौका नपाएर बेईमान भएका भातेहरु भए' उनले प्रश्न गरे  'रुपचन्द्र कामरेडले भन्नुहुन्थ्यो यहाँ मौका नपाएर बेईमान नभएका भातेहरु धेरै छ, सत्तामा गएर मौका पाए पछि देख्लास् भन्नुहुन्थ्यो । हामी सबै त्यही मौका नपाएका भाते हौं त ?'

ठाउँमा गएपछि सबै विग्रने, आचरण नहुने भएरै आफूले राजनीतिक सफाई आन्दोलन शुरु गरेको बताउँदै श्रेष्ठले उक्त आन्दोलन पार्टिमा मात्रै नभई सबै संगठनहरुमा आवश्यक रहेको बताए । 

'विद्यार्थी हेर्यो विद्यार्थी जस्ता छैनन्, युवा भनेका युवा जस्ता छैनन् विद्यार्थी सम्बन्धन लिनेसँग पैसा असुल्दै छ, युवा ठेकेदारसँग उठाउने ! सुन्यो भने सुनिसाध्य छैन' दिक्दार हुँदै उनले भने 'अहिले पनि सुधार गरिएन भने कहिल्यै देशको उन्नती हुन्दैन, यसको सुरुवात शिक्षाबाट गरौं ।'

उनले कृषि क्याम्पसले दिएको सम्बन्धन  औचित्यपूर्ण नभएको बताउँदै यस्ता खाले चलखेल निराकरण गर्न नीतिगत रुपमै कार्य गर्न  शिक्षा मन्त्रीसँग कुराकानी गरेको पनि बताए । 

उक्त सम्बन्धनमा आर्थिक चलखेल भएको भन्दै लामो समय देखि आन्दोलन हुँदै आएको छ । विवादका कारण सम्बन्धनको निर्णय रोक्न मन्त्रीपरिषद्ले गरेको निर्णय विरुद्ध अदालतमा मुद्धा विचाराधिन छ । उक्त मुद्धाको फैसला हुनु २ दिन अघि काठमाडौंमा अन्तरक्रिया गरिएको हो । 

कार्यक्रममा पूर्व शिक्षा मन्त्री तथा उच्चस्तरीय शिक्षा आयोगका सदस्य धनिराम पौडेलले सम्बन्धन फिर्ता गर्ने मन्त्रीपरिषद्को निर्णय नै प्रकृया नुर्याई भएकोले विषय अदालत सम्म पुगेको बताउँदै शिक्षामा विविध पक्षको सम्बाधेन गर्न आयोग मार्फत् कार्य भईरहेको बताए । 

कार्यक्रममा विश्वविद्यालयका  उपप्राध्यापक ईश्वरीप्रसाद कडरियाले  चितवनमा मात्रै गरिएको विरोधले राज्यको ध्यान आर्कषण हुन नसकेर काठमाडौं केन्द्रित कार्यक्रम गरेको बताए । कार्यक्रममा विद्यार्थी सँगठनका प्रतिनिधिहरु सहित क्याम्पसका पूर्व प्राध्यापक लगायतले उक्त सम्बन्धनको विरोध गर्दै विधि सम्मत कार्य गर्न सरकारको ध्यानाकर्षण गराएका थिए । 

कृषि तथा वन विज्ञान विश्वविद्यालयले निजी कलेजलाई दिएको सम्बन्धनका विषयमा यी खबर पढ्नुहोस् :

प्रवेश परीक्षाको मिति तोकिएसँगै फेरी आन्दोलन

माफिया प्रभावको आरोप, धर्ना बसेका विद्यार्थी गिरफ्तार

विश्वविद्यालयले दिने सम्बन्धनमा रोक, कृषिको आठ सम्बन्धन खारेज

 'माफिया'बाट जोगाउन हारगुहार !

 

प्रतिक्रिया