Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

तीन विश्वविद्यालय आन्दोलनमय

बुधबार, २६ मंसिर २०७५

काठमाडौं २६ मंसिर / देशकै सबैभन्दा ठूलो त्रिभुवन विश्वविद्यालयमा डिनदेखि उपकुलपति कार्यालयसम्म तालाबन्दी छ । नयाँ पत्रिकाका अनुसार कृषि तथा वन विज्ञान विश्वविद्यालयमा कृषि शिक्षालाई निजीकरण गरेको विरोधमा महिनौँदेखि प्राध्यापक तथा विद्यार्थीहरू आन्दोलनमा छन् । सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय पनि पदाधिकारीका कारण आन्दोलनमय बनेको छ । तालाबन्दी तथा आन्दोलनका कारण विद्यार्थीको परीक्षा तथा नतिजा प्रकाशनमा समस्या भएको छ । केही विश्वविद्यालयमा महिनौँदेखि विद्यार्थीले पढ्नसमेत पाएका छैनन् ।

त्रिविको मानविकी संकायको डिन कार्यालय, योजना निर्देशनालय, शिक्षाध्यक्ष र उपकुलपति कार्यालयमा तालाबन्दी छ । मोहन वैद्यनिकट नेकपा माओवादीनिकटका प्राध्यापकहरूले गत बिहीबार सहायक डिन नियुक्तिमा भागबन्डाको माग राखेर डिन कार्यालयमा तालाबन्दी गरेका हुन् । ‘सहायक डिन नियुक्तिको माग राखेर प्राध्यापकले तालाबन्दी गरेका छन्,’ त्रिविका एक पदाधिकारीले भने । प्राध्यापकको तालाबन्दीका कारण स्नातकोत्तर तहकोे सेमेस्टर प्रणालीको परीक्षाको नतिजा सार्वजनिक गर्न तयार भएको काम रोकिएको छ ।

नेविसंघको एक समूहले योजना निर्देशनालय, शिक्षाध्यक्ष र उपकुलपति कार्यालयमा ताला लगाएको छ । बिसिएको सम्बन्धनलगायतमा आर्थिक चलखेल गरेको आरोप लगाउँदै नेविसंघ विश्वविद्यालय कमिटीको नामबाट ताला लगाइएको छ । त्रिवि उपकुलपति प्रा.डा. तीर्थ खनियाँले ताला खोल्न वार्ता भएको र छिट्टै केही सहमति हुने बताए ।

सुर्खेतस्थित मध्यपश्चिमाञ्चल विश्वविद्यालय आन्दोलनमय छ । भागबन्डामा आएका विश्वविद्यालयका पदाधिकारीका कारण विश्वविद्यालयको काम ठप्प छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा. उपेन्द्र कोइराला र रजिस्ट्रार डा. महेन्द्रकुमार मल्लबीच पहिलेदेखि नै मनमुटाव सुरु भएको थियो । उपकुलपति कोइरालाले मल्ललाई पदबाट हटाएपछि विद्यार्थीले आन्दोलन सुरु गरेका थिए । आन्दोलनले अहिले चर्को रूप लिएको छ ।

विद्यार्थी संगठनले विश्वविद्यालय प्रशासनले वार्ताबाट समस्या समाधान गर्नुको सट्टा विद्यार्थीमाथि धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । नेविसंघका अध्यक्ष नैनसिंह महर, अनेरास्ववियुका कार्यवाहक अध्यक्ष रश्मी आचार्य र अनेरास्ववियु (क्रान्तिकारी)का अध्यक्ष रञ्जित तामाङले मंगलबार संयुक्त प्रेस विज्ञप्ति जारी गरी कडा आन्दोलनको चेतावनी दिएका छन् ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयमा २७ असारदेखि आन्दोलन जारी छ । पछिल्लोपटक २१ कात्तिकदेखि पठनपाठन ठप्प छ । विश्वविद्यालयका मूलगेट बन्द छ । निजीलाई दिएको सम्बन्धन पूर्णरूपमा खारेज हुनुपर्ने माग राखेर विद्यार्थी र प्राध्यापक संयुक्त रूपमा आन्दोलनमा छन् । बिएस्सी सातौँ सेमेस्टरको चलिरहेको परीक्षा बीचमै रोकिएको छ । कतिपय विद्यार्थी परीक्षा सकेर इन्टर्नमा जानुपर्नेमा आन्दोलनका कारण रोकिएको छ । आन्दोलनकारीले चितवनको रामनगरदेखि काठमाडौंसम्म पुगेर आन्दोलन गरिरहेका छन् । आन्दोलनकारीले मंगलबार माइतीघर मण्डलामा कोणसभा गरेका थिए ।

कृषि वन विज्ञान विश्वविद्यालयका सहप्राध्यापक डा.ईश्वरीप्रसाद कडरियाले विश्वविद्यालयले त्रुटिपूर्ण रूपमा सम्बन्धन दिएका कारण रद्द गर्नुपर्ने बताए । उनले आंगिक र सम्बन्धनलाई फरक मापदण्ड बनाएर दिएकाले आन्दोलनमा लागेको जिकिर गरे ।

कृषि तथा वन विज्ञान विश्वविद्यालयले २० असारमा सात कृषि र एक वन विज्ञान क्याम्पसलाई सम्बन्धन दिएको थियो । सम्बन्धनको विरोध भएपछि १४ साउनमा मन्त्रिपरिषद्को बैठकबाट सम्बन्धन रद्द भयो । त्यसपछि निजी कलेजका सञ्चालक सर्वोच्च अदालत पुगे । १ भदौमा सर्वोच्चले अन्तिम फैसला नहुन्जेल सम्बन्धन रद्द नगर्न अन्तरिम आदेश दियो । अदालतले २६ पुसका लागि पेसी तोकेको छ ।

नयाँ पत्रिकामा भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया