Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

कक्षाकोठामै सांसद आउँदा विद्यार्थी दंग

बुधबार, २६ मंसिर २०७५

काठमाडौं २६ मंसिर / बर्दियाको बासगढी नगरपालिका–७, लक्षमनास्थित पूर्णहिरा माविमा सोमबार साढे १० बजे संघीय सांसद सञ्जय गौतम एक्कासि झुल्किए। उनी आएको देखेर विद्यार्थीसँगै प्रधानाध्यापक गोपाल सुवेदी पनि अचम्मित भए।

विद्यालयको शैक्षिक स्तर कसरी उकास्न सकिन्छ भन्ने विषयमा शिक्षकसँग सुझाव लिइसकेपछि सांसद गौतमले प्रत्येक कक्षाकोठामा पस्दै विद्यार्थीका समस्या पनि सुने। भौतिक पूर्वाधार तथा शैक्षिक सामग्री अभाव हुँदा पनि कतैबाट सहयोग नभएको भन्दै विद्यार्थीले दुःख व्यक्त गरेका थिए। सांसद गौतमले आफूले सक्दो सहयोग गर्ने वचन दिएपछि विद्यार्थी खुसीले गद्गद् भए।

उक्त विद्यालयमा कक्षा ९ अध्यनरत रामबहादुर चौधरीले खुसी हुँदै भने, ‘हाम्रो समस्या सुनेका सांसद गौतमले पक्कै पनि सहयोग गर्छन् भन्ने आशा लागेको छ।’

पूर्व–पश्चिम राजमार्ग छेउमै रहेकाले उक्त विद्यालयका विद्यार्थीलाई सवारी दुुर्घटनामा पर्ने जोखिम छ। उत्तरतर्फ नहर भएकाले बालबालिका पानीमा डुब्न सक्ने खतरा पनि उत्तिकै छ। यसबाट सुरक्षाका लागि विद्यालयमा गेट तथा नहर व्यवस्थापनको खाँचो छ। तर आर्थिक अभावका कारण यी काम गर्न नसकिएको शिक्षकहरू बताउँछन्। सरकारसँग आफूहरूको धेरै ठूलो अपेक्षा नभएको प्रधानाध्यापक सुवेदी बताउँछन। उनले भने, ‘कक्षाकोठाका लागि तला थप गरिदिए र दुर्घटना जोखिम भएको दक्षिणतर्फ मूलगेट बनाइदिए धेरै ठूलो सहयोग पुग्थ्यो।’

यता सांसद गौतमले जिल्लाका सबै विद्यालयको अध्ययन अवालेकनपछि एकमुस्ट योजना बनाएर शैक्षिक सुधारका लागि पहल गर्ने आफ्नो लक्ष्य रहेको बताएका छन्। ‘अहिले जिल्लाका विभिन्न विद्यालयमा पुगिरहेको छु,’ उनले भने, ‘सबै विद्यालयको भौतिक पूर्वाधार तथा शैक्षिक अवस्थाबारे बुझिसकेछि दीर्घकालीन योजनै बनाएर अघि बढ्छु।’

चुनाव जितेर गएपछि जिल्लामा फर्केर नहेर्ने चलन रहेका बेला सांसद गौतम गाउँमै आएर जनताका समस्या बुझेको भन्दै स्थानीय बासिन्दा पनि हर्षित भएका छन्।

कांग्रेस नेता गौतम नेपाली कांग्रेसबाट निर्वाचित सांसद हुन्। विकास निर्माणका साथै जनताका समस्या समाधान आफ्नो पार्टीको योजना रहेको नेपाली कांग्रेसका युवा नेता सुवास पोख्रेलले बताए। ‘विद्यालय तथा विद्यार्थीका थुप्रै समस्या छन्,’ उनले भने, ‘यी र यस्तै समस्या समाधान गर्नु हाम्रो पहिलो प्राथमिकता हो।’ नेता गौतमले चुनावका बेला गरेका प्रतिवद्धता पूरा गर्ने पोख्रेलको दाबी छ। आफू सांसदमा निर्वाचित भएपछि आफ्नो गृह जिल्लाको शैक्षिक सुधार गर्ने आफ्नो पहिलेदेखिको योजना रहेको सांसद गौतमको भनाइ छ।

नागरिकमा  निर्मल घिमिरेले लेखेका छन् । 

प्रतिक्रिया