पढाईको भोक जगाउने शिक्षक नै भएनन् !


पञ्चायती शासनको भर्भराउँदो समयमा चेतना विकास हुँदै थियो नरेश कोइरालाको । पारिवारिक पृष्ठभूमिका कारण नेपाली प्रजातान्त्रिक आन्दोलनलाई नजिकैबाट हेर्ने बुझ्ने मौका पाएकाले होला शायद उनमा शिक्षाको महत्वको बोध सानै देखि बसेको थियो । २०१३ सालमा काठमाडौंको पद्मोदय स्कुलबाट एसएलसी गरेका उनले ईञ्जिनीयरिङ्को स्नातक सम्मको अध्ययन भारतको रुड्की विश्वविद्यालय र जमिन मुनिको बारेमा पढाई हुने जियो टेक्निकल ईञ्जिनीयरिङ्को पढाई बैंककबाट सकेपछि देशमै काम गर्ने धोको पालेका थिए ।* केही समय विभिन्न परियोजनामा संलग्न भए पनि उतिखेरको ब्यवस्थाको तारो बने ।

राजनीति अपनाएनन्, पेशा रोजेर विभिन्न मुलुक पुगे । अमेरिका, थाईल्याण्ड, ईरान क्यानडा आदी मुलकमा आफ्नो सीप खन्याए । तर जन्मभूमि प्रति केही गर्न नसकेको पीडा थियो शायद । सन् २००५ देखि नेपाल लाइब्रेरी फाउण्डेशन मार्फत् पठन संस्कृतीको विकास गर्ने अभियान शुरु गरे । ३८ जिल्लाका विभिन्न विद्यालय र छुट्टै गरी ३ सय हाराहारी पुस्तकालय मार्फत् उनको उक्त कार्य जारी छ । 

नित्तान्त ब्यक्तिगत पहलबाट शुरु भएको यो अभियानमा उनका सहकर्मीहरु स्वयं सेवकका रुपमा संलग्न छन् । विगत २४ बर्ष देखि क्यानडामा बसोबास गर्दै आएका कोइराला विभिन्न ब्यक्ति तथा संस्था मार्फत् सानो तिनो श्रोत जोगाड गर्छन् र जम्मा भएको रकम पुस्तकालय स्थापना गर्न भन्दै नेपालमा रहेका सहकर्मीलाई पठाउँछन् । शिक्षा विना समाज विकास हुन्न भन्ने उनको निष्कर्श छ । यस पटक नेपाल आएका बखत उनको अगुवाईमा जारी कार्य, समाजको विकास क्रम र शिक्षाका बारेमा श्रीधर पौडेलसँग कोइरालाले लामो कुराकानी गरेका छन् । सोही कुराकानीको मुख्य अँश : 

- तपाईहरुले पुस्तकालय खोले पछि विद्यार्थी र समाजमा के परिवर्तन आएको छ ? 

जती मैले चाहेको हो त्यो त भएको छैन, तर केही हद सम्म परिवर्तन देखेको छु । दुई बर्ष अघि पुस्तकालय अनुगमनका लागि हामी विभिन्न ठाउँमा गएका थियौं । डोल्पाको एक विद्यालयमा किताब दिएका थियौं । त्यो विद्यालयमा पढ्ने बच्चाको आमाले हामीलाई एउटा चिठि दिईन् । त्यसमा लेखिएको थियो – तपाईहरुका कारण मेरो बच्चाले लेख्न पढ्न जान्ने भयो, तपाईहरु त देउता हुनुहुँदो रहेछ !

यस्तै मलंगवाको घटना पनि याद आउँछ मलाई । भारतीय सीमानाबाट २ किलोमिटर नेपाल पट्टी रहेको सिमरा भन्ने गाउँमा हामीले २ बर्ष अघि पुस्तकालय स्थापना गरेका थियौं । अमेरिकाको टेक्सासमा बस्नु हुने विजय झाको सकृयतामा शुरु भएको पुस्तकालयमा पुग्दाको जवाफ त्यस्तै रोचक छ । 
एकजनाले पुस्तकालयले आफ्नो जीवननै परिवर्तन गरिदिएको बताउनु भयो ! कसरी ? भनेर सोधेको पुस्तकालयमा रहेको डाक्टर नभए के गर्ने भन्ने पुस्तक पढेर आफ्नो दुखेको घुँडा ठिक पार्नु भएछ । 

अर्का एक जनाले लोकसेवाको परीक्षा दिनु भएको रहेछ, त्यो परीक्षाको तयारीका लागि पुस्तकालयमा भएको किताव सहयोगी भएछन् । त्यसो त अन्य मान्छेलाई पनि उस्तै होला तर मधेसका मान्छेहरुमा निजामती सेवा प्रवेशको ठूलो धोको हुँदो रहेछ । यी त केही उदाहरण भनेँ मैले । विभिन्न ठाउँमा जाँदा विभिन्न प्रकारका प्रतिकृया पाएका छौं हामीले । 

तर दुखको कुरा हामीसँग पढ्ने संकार नै भएन । यसको दोषि पढेलेखेका भनिएका मान्छेहरु नै हुन् । पुस्तकालयमा गएर त्यहाँको बोर्डका मान्छेलाई यो बर्ष कति किताव पढ्नु भयो भनेर सोध्ने गरेको छु । हात उठ्दैन ! 

- पढ्ने भन्ने कुराको भोक नजागी त पढाई हुँदैन, यसको भोक जगाउने काम भनेको  त कक्षा कोठाबाटै हो, शिक्षकबाट जगाउनु पर्यो, यस दिशामा केही प्रगती भएको देख्नु भएको छ ? 

यस पटक नेपाल आउँदा गैह्र आवासीय नेपाली संघको सम्मेलनका क्रममा सरकारले गठन गरेको उच्चस्तरीय शिक्षा आयोगका सदस्यहरुसँग पनि भेट्ने मौका मिल्यो । मैले उहाँहरुसँग कुराकानी गर्दा भनेँ, जब सम्म केटाकेटि देखिनै पढाईको भोक उब्जाउन सकिन्न शिक्षा सुधारका कुरा सम्भव छैन । किन भने मैले नेपालमा जस्तो विद्यार्थीको पठनपाठनमा उत्प्रेरणा नजगाउने शिक्षक संसारमा अन्त देखेकै छैन । फाट्ट फुट्ट होलान् तर अधिकाँश शिक्षकले विद्यार्थीमा पढाईको उत्प्रेरणा जगाउने कामै गर्दैनन् । ज्ञानका प्रति केटाकेटीको रुचि जगाउने शिक्षक तयार नभए सम्म गुणस्तरका कुरा सतही हुन्छन् । जब शिक्षकबाट पढाईको उत्प्रेरणा केटाकेटीले पाउँछन् गुणस्तर आफैं उठ्छ । 

- कोही पनि शिक्षकलाई कुनै पोको बोकाएर लौ यो बोक्नुस् त्यस पछि तपाईमा बालबालिकको पढाई प्रति उत्प्रेरणा जगाउने कुराको विकास हुन्छ भन्न त सकिन्न । त्यसो हो भने त्यस्ता खालका शिक्षक कसरी तयार पार्ने ? 

बहुत अप्ठ्यारो कुरा हो । यसमा हाम्रो संस्कृति र आर्थिक पक्षको भूमिका पनि हुन्छ । तर मुख्य कुरा के हो भने, नेपालको हरेक पेशागत क्षेत्रको खट्केको कुरा आफ्नो कर्तव्य बोध नहुुनु नै हो ।  शिक्षकका सन्दर्भमा कुरा गर्ने हो भने हरेक शिक्षकले मेरो कर्तव्य बालबालिकालाई ज्ञान दिने हो, सिकाउने हो, बालबालिकाको जीवनलाई उज्यालो तिर डोहोर्याउने हो, यही मेरो काम हो भनेर दत्तचित्त हुनु पर्यो नी । अरु पेशाको तुलनामा यस तर्फ शिक्षकहरु अझै संवेदनशील हुनु जरुरी छ । यो कुरालाई कुनै पनि ब्यक्ति शिक्षक हुन रुचि राख्ने बेला देखिनै भित्र्याउनु जरुरी छ । 

अर्को खराब पक्ष भनेको शिक्षा क्षेत्र वा शिक्षकलाई राजनीतिक भर्ति केन्द्र बनाउन बन्द गर्न नसक्नु पनि हो । भित्रै देखि उत्प्रेरित मान्छेलाई शिक्षकमा नियुक्त गर्नुको साटो भर्ति केन्द्र बनाए पछि कसरी पुरा हुन्छ ? हुँदै हुँदैन । 

विदेश तिर हेर्नुहुन्छ भने पीएचडी गरेका मान्छेहरु मेरो मुख्य काम नै केटाकेटीको भविष्य बनाउने हो, बच्चाबाटै समाज सुधार गर्ने हो भनेर दत्तचित्त भएर लागेका हुन्छन् । उनीहरुलाई दलगत राजनीतिको कुनै प्रभाव पर्दैन, पैसा कमाउने धेरै बाटाहरु हुँदा हुँदै पनि बालबालिकाबाटै देशको निर्माण गर्ने हो भनेर आफ्नो पेशा प्रति ईमान्दार र एकाग्र भएर उत्तरदायित्वलाई दिमागमा राखेर कक्षा कोठमा आउँछन् । 

- त्यो उत्तरदायित्व शिक्षकमा विकास गर्ने कसरी होला ? 

हरेक कुरामा शिक्षाबाटै शुरु हुन्छ । शिक्षक बनाउनु अघि दिईने तालिममा शिक्षकलाई आफ्नो उत्तरदायित्व निकै गम्भिर तरिकाले बुझाउनु पर्यो । शिक्षकको उत्तरदायित्व के भन्ने कुरा त्यहीँबाट दिमागमा राख्नु पर्छ  । एक जना शिक्षकले बालबालिका प्रति उत्तरदायित्व बोध गर्यो भने त सुधार नभई सुखै छैन । शिक्षकलाई दलगत राजनीतिको प्रभावबाट मुक्त बनाएर तालिमकै चरणदेखि  सुधार शुरु गर्नु पर्यो । 

अहिले काठमाडौंका सडकमा मेलम्चिको पाईप विच्छ्याउने काम जारी रहेछ, यसले निकै धुलो उड्ने समस्या छ, मैले क्यानडाको भ्यानकुवरमा ५० किलोमिटर भन्दा बेसी पाईप हालेको छु, तर यहाँ जस्तो धुलो त उड्दैन । सडकको छेउमा बस्ने ब्यापारी र घर भएका मान्छेका पीडा ईञ्जिनीयरले सोच्दियो भने यो गर्नै सक्दैन । यही हो सामाजिक उत्तरदायित्व भनेको ।

सामाजिक उत्तरदायित्वका बारेमा न स्कुलमा पढाई हुन्छ, न पढाउन जाने शिक्षकलाई, निर्माणमा संलग्न ईञ्जिनीयरलाई, उपचार गर्ने डाक्टरलाई नै पढाईन्छ ! यत्रो विधि सामाजिक उत्तरदायित्व लिएका पेशामा कुनै उत्तरदायित्व नहुदाँ नै यस्ता समस्या आएका हुन् । त्यसैले विद्यालय तह देखिनै उत्तरदायित्वको बोध गराउनु आवश्यक छ । 

- अहिले सम्म केन्द्रिकृत राज्य  संरचनाका कारण भने जस्तो सेवा प्रवाह हुन सकेन भनेर देशको संरचना बदलिएको छ, विद्यालय शिक्षाको अधिकार घर गाउँमै रहेको स्थानीय सरकार मातहत पुगेको छ, यो समयमा सुधार गर्न सजिलो हुन्छ त ? 

म सफा कुरा गर्छु हेर्नुस्, जब सम्म राज्यको पहुँच र सुधारका कुरामा नेतृत्व उत्प्रेरित हुँदैन तब सम्म जे संरचना बनाए पनि केही हुँदैन ।  जुन समाजमा सरकारले सम्बन्धित क्षेत्रमा ब्यापार गर्ने ब्यक्तिलाई नै नीति तय गर्ने ठाउँमा राख्छ र नेताहरुले त्यसलाई स्विकार गर्छन् भने विकास होला भनेर कसरी विश्वस्त हुने ? कन्फ्लिक्ट अफ ईन्ट्रेस त जहाँ पनि हुन्छ । हाम्रोमा निजी शिक्षाका ब्यापारीहरुलाई नीति बनाउने ठाउँमा पुर्याईन्छ । निर्माणका कुरामा हेर्नुस् ठेकेदारका प्रतिनिधि ईञ्जिनीयरका रुपमा आउँछ । अहिले प्रधानमन्त्री केपी ओलीले भ्रष्टाचार विरोधका कुरा त गर्नु भएको छ तर संसदमा त्यस्ता स्वार्थ हावी छन्, उहाँले यसबारेमा केही गर्नु हुन्न । 

नेताहरुका बन्धन के के हुन्छन् उहाँहरुलाई नै थाह होला, तर बुझेर नबुझेर यस्ता कुराहरुमा संलग्न छन् । जब सम्म यस्ता कुराहरुमा स्पष्टताका साथ नेतृत्व उभिदैन तब सम्म सुधार सम्भव देखिन्न । 

- संविधानले शिक्षालाई मौलिक हक अन्र्तगत राख्ने, तर तपाईका कुरा सुन्दा उहाँहरुबाट सम्भव नहुने भए पछि आशा गर्ने कहाँ त ? 

कुरा धेरै ठूला गर्न छाडेर आधारभूत रुपमा नीतिगत काम शुरु गर्नु पर्छ । म ईञ्जिनीयरिङ्को विद्यार्थी भएकाले यसकै कोणबाट कुरा गर्छु । अहिले फाष्ट ट्रयाक बनाउने कुरा छ । एसियन मापदण्डको उच्चस्तरीय सडक बनाउने योजनामा नेपाल आर्मीको यस बारेमा के क्षमता र अनुभव छ ? यस बारेमा राजनीतिक निर्णय त हुनु नपर्ने । तर भयो । यस्ता ठूला आयोजनाको छनौट गर्दा संसारका विभिन्न मुलुकमा म पनि संलग्न भएको छु । यस्ता काम गर्दाको प्रकृया नै नौ महिना एक बर्षको हुन्छ । प्रतिस्पर्धाको प्रकृयाबाट हुन्छन् यस्ता काम । मेरो अनुभवले के भन्छ भने समाजको आवश्यकतालाई पहिचान गरेर आफ्नो क्षमता र बुद्धिको दायराबाट काम गर्नु पर्छ । त्यो भन्दा बाहिरको कुरा गर्दा उचित सल्लाह दिनेहरुबाट लिनु पर्छ । नत्र समाजले धेरै दुख पाउँछ । यो कुरा शिक्षाको सवालमा पनि यही हो । 

- कुराकानीलाई शिक्षा सँगै नै जोडेर यहाँको ध्यानाकर्षण गर्न चाहेँ, स्थानीय सरकार बनेका छन्, उनीहरुले कक्षा कोठाको सुधार, शिक्षक र समग्र शिक्षा क्षेत्र विकासका लागि तत्काल के काम गर्नु पर्ने देख्नुहुन्छ ?

शिक्षा सम्बन्धि कार्य गर्नु अघि यस क्षेत्रका विद्धान जस्तै केदारभक्त माथेमा, सुरेशराज शर्मा जस्ता अरु पनि छन् जो यो क्षेत्रमा भिजेका अनुभवी मान्छेहरु सित सल्लाह लिएर नीति तय गर्न सक्छन् । नीतिगत निर्माणका क्रममा राजनीतिक आग्रह पूर्वाग्रह पर राखेर देश हित सोच्नु पर्छ । शिक्षामा राजनीतिको प्रभाव यति सम्म छ की गोविन्द केसीको अनसनका बेला केदारभक्त माथेमा टीयुको भाईस चान्सलर हुँदा यति क्याम्पसलाई अनुमति दिए अहिले किन नहुने ? भनेर सरकारका प्रवक्ताले नै बोले । यस्ता राजनीतिक आग्रह राखेर हुँदैन । यस्तो घटना हाम्रा अघि छन् । त्यसलाई सँधै स्थानीय सरकारले सोच्नु जरुरी छ । 

- केन्द्रमा रहेको निकाय सम्म पहुँच नपुगेकैले सुधार हुन नसकेको र अब आफ्नै गाउँ ठाउँका सरकारले सुधार गर्न सक्छन् की भन्ने आशा जागेको बेलामा शिक्षा सुधारका सवालमा पुस्तकालय मार्फत् तपाईहरुले गरिरहनु भएको यो कामले  स्थानीय सरकारालाई के मद्दत पुग्न सक्छ ? 

म क्यानडामा बस्छु, त्यहाँ हुन्थ्यो भने यो काम हामीले गर्नै पर्दैनथ्यो । त्यो सरकारले नै गर्छ । तर हाम्रोमा त्यस्तो छैन । हामीले काम शुरु गरेको ११ बर्ष भयो हामी सबै जना स्वयंसेवकका रुपमा काम गरेका छौं । एक जनालाई कार्यालय सञ्चालनका लागि भत्ताका रुपमा तलबको ब्यवस्था गरेका छौं । नत्र यहाँ कसैले तलब पाउँदैन  । त्यसैले अहिले हामी कार्यालय ब्यवस्थापनको स्थायी श्रोत जोगाडको लागि एउटा अक्षय कोष बनाउने तयारीमा छौं । हामीले गरेको काम राम्रो छ, सुधार पनि देखिएको छ तर हामीले मार्केटिङ् गर्न जानेनौं । म ईञ्जिनीयरको मान्छे मैले यो काम गर्न जान्दिन । कति जना शिक्षालाई समर्थन गर्ने पैसावाला होलान् हामी त्यहाँ पुग्न सकेका छैनौं अथवा उहाँहरुलाई यस बारेमा बझाउन सकिएको छैन । त्यसैले हामीले एक बर्षमा १ करोडको अक्षय कोष बनाउन सक्यौं भने त्यसकै ब्याजले यो कार्यालय चलाउन सकिन्थ्यो भन्ने हो । म ७५ बर्ष भएँ कहिले सम्म चलाउन सकिएला र ? 

अहिले सम्म सरकारले केही चासो दिएन । यसपटक मैले शिक्षा मन्त्री गिरिराजमणि पोखरेलसँग भेटेँ । उहाँ पहिलो मन्त्री हो जसले हाम्रो यो काम प्रति रुचि पूर्वक सुन्नु भयो । समय लिन गाह्रो भएको थियो तर समय पाए पछि उहाँसँग गरिएको कुराकानीले हामीलाई उत्साही बनाएको छ । खुसीको कुरा उहाँकै प्रयासले जमलमा रहेको सात रोपनी जग्गामा केन्द्रिय पुस्तकालय बनाउने निर्णय भएको रहेछ । 

तर, अहिले सम्म नेपालमा कति पुस्तकालय छ ? कुन चलेको छ ? कुन चलेको छैन ? कुनले कस्तो प्रभाव पारेको छ ? भन्ने कुनै तथ्याङ्क छैन । सरकारको पुस्तकालय शाखाका प्रतिनिधिका अनुसार सरकारको अहिलेकै श्रोतमा लाईब्रेरियनहरुलाई तालिम दिने हो भने ३४ बर्ष लाग्छ रे त्यसैले हामीले सरकारसँग मिलेर काम गर्न चाहन्छौं, भनेका छौं । मन्त्री ज्यू सकारात्मक हुनु भएकोले हाम्रो यो अभियान सफल होला भन्ने झिनो आशामा छौं । पठनपाठनलाई टेवा दिने यो अभियानमा यो आशाले केही टेवा दिन्छ की !

* सच्याईएको - सं.