Edukhabar
विहीबार, ०६ बैशाख २०८१
अन्तैवाट

पढाइ ठप्प पारेर निजीमा लगानी

शुक्रबार, २८ मंसिर २०७५

काठमाडौं २८ मंसिर / कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुर, चितवनका पदाधिकारीले निजी कलेज पनि चलाइरहेको पाइएको छ । कतिपय पदाधिकारी ती कलेजमा अध्यापनसमेत गरिरहेका छन् ।

विश्वविद्यालयका उपकुलपति ईश्वरीप्रसाद ढकाल चितवनस्थित नेपाल पोलिटेक्निक इन्स्टिच्युट (एनपीआई) का संस्थापकमध्ये एक हुन् । रजिस्ट्रार मनराज कोलाक्षपतिसहित केही पदाधिकारी र प्राध्यापकले पनि निजीमा लगानी गरेका छन् । कोलाक्षपति काठमाडौंको हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एन्ड टेक्नोलजी (हिकास्ट) का सञ्चालक हुन् ।

कृषि संकायकी सहायक डिन कल्याणी मिश्र र विश्वविद्यालयका अनुसन्धान तथा प्रसार निर्देशक नवराज देवकोटाको एनपीआई र हिकास्ट दुवैमा सेयर छ । दुवै कलेजले पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर कृषि विषय पढाउँदै छन् । कान्तिपुरलाई प्राप्त सूचीअनुसार एनपीआईमा उपकुलपति ढकालको २ लाख १८ हजार ८ सय, मिश्रको ४ लाख ३७ हजार ५ सय र देवकोटाको १ लाख २५ हजार सेयर देखिन्छ ।

विश्वविद्यालयका करिब १० प्राध्यापकको एनपीआईमा लगानी रहेको स्रोतले जनाएको छ । तीनै प्राध्यापकले बिनाअनुमति निजी कलेजमा समेत पढाउने गरेका छन् । विश्वविद्यालय र पोलिटेक्निक इन्स्टिच्युट करिब १० किमि दूरीमा छ । ‘उपकुलपति सरकै निजी कलेजमा संलग्नता छ, कति पदाधिकारी र प्राध्यापकले श्रीमती, बुबा र आफन्तका नाममा सेयर लिएका छन्,’ विश्वविद्यालयका एक पूर्वपदाधिकारीले भने ।

८ वटा निजी कलेजलाई सम्बन्धन दिन लागिएको विरोधमा विश्वविद्यालय ६ महिनादेखि ठप्प छ । प्राध्यापक र विद्यार्थी निजीलाई सम्बन्धन दिन नहुने भन्दै आन्दोलनमा उत्रिएका छन् । आन्दोलनको नेतृत्व गर्ने कतिपय प्राध्यापक नै निजी कलेजमा पढाइरहेका छन् ।

प्राध्यापक उजित सिग्देलले आन्दोलन सुरु भएपछि आफूले निजी कलेजमा पढाउन छाडेको बताए । ‘पहिले पढाउँथें, अहिले छाडिसकें,’ उनले भने । विवाद चर्केपछि कतिपय पदाधिकारी र प्राध्यापकले सेयर आफन्तका नाममा सार्न थालेका छन् । निर्देशक देवकोटाले निजीमा केही पदाधिकारीसहित आफ्नो पनिलगानी रहेको स्विकारे । ‘लगानी गर्न पाइँदैन भनेर कतै भनेको छैन, काम गरेको होइन,’ उनले भने ।

शैक्षिक निकायको जिम्मेवार पदमा नियुक्त र जागिरे व्यक्तिले स्वार्थ बाझिने मिल्दोजुल्दो व्यवसायमा लगानी गर्न नहुने शिक्षा मन्त्रालयका अधिकारीहरू बताउँछन् । कृषि विश्वविद्यालयका पूर्वउपकुलपति कैलाशनाथ प्याकुरेलले जिम्मेवार पदमा नियुक्ति लिनुअघि मिल्दोजुल्दो क्षेत्रको लगानी छाड्नुपर्ने जनाए ।

‘लगानी नै गर्न पाइँदैन भन्न त मिल्दैन तर कुनै जिम्मेवार पदमा नियुक्ति लिनुअघि स्वार्थ बाझिने ठाउँको लगानी त्यागेर पूरै समय दिनुपर्छ,’ उनले भने । विश्वविद्यालय समयमा अन्यत्र पढाउनु भ्रष्टाचार गरेजत्तिकै हुने प्याकुरेलको बुझाइ छ ।

‘निजी कलेजमा लगानी गर्ने पदाधिकारी र पढाउने प्राध्यापकमाथि छानबिन गर्नुपर्छ,’ उनले भने, ‘६ महिनादेखि विश्वविद्यालय ठप्प हुँदा सरकार थाहा नपाएजस्तो गरी बस्न मिल्दैन ।’ विद्यार्थी र प्राध्यापकको दाबीअनुसार सम्बन्धनमा अनियमितता भए सरकारले छानबिन गरेर रद्द गराउन सक्नुपर्ने उनले बताए ।

पूर्वाञ्चल विश्वविद्यालयबाट सम्बन्धन लिएर निजी कलेज चलाउने पदाधिकारी र प्राध्यापकले सम्बन्धन विवादमा कृषि विश्वविद्यालय ठप्प पारेको आरोपसमेत लाग्ने गरेको छ । ‘आंगिकलाई पनि सम्बन्धन दिन नसक्ने, निजी पनि खोल्न नदिने, कतै क्याम्पस थप नहोस् भन्ने स्वास्र्थ त हैन ?,’ पूर्वरजिस्ट्रार सूर्यकान्त घिमिरेले प्रश्न गरे ।

कृषि विश्वविद्यालयमा पढाइ ठप्प पारेर निजीमा लगानी शिर्षकमा कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् । 

प्रतिक्रिया