Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

तीन कक्षा पास गरी तीनमै

शनिबार, २९ मंसिर २०७५

काठमाडौं २९ मंसिर / प्रदीप चेपाङले तीन कक्षा पास गरिसके तर चार कक्षा पुगेका छैनन् । अहिले पनि तीन कक्षामै पढ्छन् । पुरानै किताब सुमसुम्याउँछन् ।

चितवनको इच्छाकामना गाउँपालिका २, भोटेगाउँ । यहाँको राष्ट्रिय आधारभूत विद्यालयबाट ३ कक्षा पास गर्ने कमैले उपल्लो कक्षा पढ्न पाउँछन् । पढ्नै परे २ घन्टा पैदल धाउनुपर्छ । खोला तर्नुपर्छ । जंगल छिचोल्नुपर्छ । प्रदीपका साथीले स्कुल टाढा भएकैले पढाइ छाडे । उनको चाहिँ रत्तिभर मोह घटेको छैन । त्यसैले बेला–बेला पुरानै स्कुल छिर्छन् । पुरानै कक्षा पस्छन् । अनि पुरानै किताब पढ्छन् ।

‘नआऊ भन्न भएन, आउँछन् पुरानै कुरा पढ्छन् । यो यहाँको बाध्यता हो,’ प्रधानाध्यापक नीमबहादुर बुढाथोकीले भने । भोटेगाउँको स्कुलमा शिशुदेखि कक्षा ३ सम्म पढाइ हुन्छ । कक्षा ४ पढाउने विद्यालय नजिक छैन । काउलेको जनप्रिय मावि पुग्नुपर्छ । ‘यहाँ भोटेगाउँका मात्रै हैन हपनी, मायाटार, हुर्केस, बाँसपुर, मैतेस, फैदल, थापाथली र धादिङको कोटबाट विद्यार्थी आउँछन्,’ जनप्रियका प्रधानाध्यापक नेत्रबहादुर अधिकारीले भने ।

यी गाउँ विद्यालयबाट कम्तीमा सवा घण्टादेखि २ घण्टा टाढा छ ।

स्थानीय जनप्रतिनिधि दुर्गमका यी विद्यार्थीको समस्यासँगै राम्रै परिचित छन् । उनीहरूलाई सहजै विद्यालय पुर्‍याउने प्रभावकारी योजना भने बनाइसकेका छैनन् ।

‘टाढाका विद्यार्थीलाई पढ्न समस्या नहोस् भनेर आवासीय स्कुल खोल्न लागेका छौं,’ इच्छाकामना गाउँपालिका प्रमुख गीता गुरुङले भनिन्, ‘विद्यार्थी संख्या, घरधुरी सबै विचार गरी कक्षा र शिक्षक दरबन्दी थप्ने तयारी गरेका छौं ।’ टाढाका विद्यार्थीलाई सुविधा दिन छात्रावास पनि बनाउने सोच रहेको उनले बताइन् ।

इच्छाकामनामा अधिकांश पहाडी भूभाग पर्छ । यहाँ आदिवासी चेपाङ समुदायको बसोबास छ । ‘चेपाङहरूको बस्ती छिरलिएको छ । घर टाढा–टाढा हुन्छन् । विद्यालय नजिक नभएकैले पढ्न नजाने धेरै हुन्छन्,’ नेपाल चेपाङ संघ चितवन जिल्ला अध्यक्ष लक्ष्मण चेपाङले भने ।

नेपाल राष्ट्रिय शिक्षक संगठनका अध्यक्ष दानबहादुर गुरुङ नजिक उपल्लो कक्षा पढाउने विद्यालय नभएकै कारण पढाइ छाड्ने विद्यार्थी धेरै छन् । ‘घरनजिकैको स्कुलमा कक्षा २ वा ३ पढेपछि थप पढ्न टाढा जानुपर्ने अवस्था छ । टाढा जान गाह्रो मानेर पढाइ छाड्ने प्रशस्तै छन्,’ उनले भने ।

इच्छाकामना गाउँपालिकाका शिक्षा शाखा प्रमुख दीपक सिग्देलका अनुसार दुर्गमका अभिभावकले माथिल्लो कक्षा पढाउन मुस्किल परेको गुनासो गर्छन् ।

मावि भएकै ठाउँमा पनि विद्यार्थी टिकाउन सजिलो भने छैन । कक्षा ४ र ५ मा विद्यार्थी आकर्षित गर्न दिवा खाजा कार्यक्रमले केही सघाएको जनप्रिय माविका प्रधानाध्यापक अधिकारीले बताए । त्यसभन्दा माथिल्लो कक्षामा टिकाउन गाह्रो परेको उनको भनाइ छ ।

‘५ पढ्यो भने कुल्ली काम गर्न हिँड्नेहरू छन्,’ उनले भने, ‘कक्षा ९ पढदै गर्दा बिहे हुने र बिहेपछि स्कुल नआउने चलन पनि छ ।’ यिनै कारणले पहाडी गाउँमा मावि तहका विद्यार्थी कम हुने गरेको उनको अनुभव छ । बालबालिकालाई विद्यालय लैजान कतैबाट पहल नभएको चेपाङ अगुवा खिरबहादुर बताउँछन् ।

‘हिँडेर २/अढाई घण्टासम्म लाग्ने भएपछि साना विद्यार्थी कसरी पढ्न जाउन् ? समस्या समाधान गर्न गाउँसभामा पनि छलफल नहुने होइन तर ठोस निर्णय भएको छैन,’ इच्छाकामना–२ का वडासदस्य समेत रहेका उनले भने । शिक्षक संगठनका अध्यक्ष गुरुङ इच्छाकामनाभित्र ३ ठाउँमा छात्रावास बनाउन उपयुक्त ठान्छन् ।

‘रत्ननगरतिर छात्रावासमा राखिएका चेपाङ बालबालिकाले राम्रोसँग पढेका छन् । गाउँमा पनि छात्रावास भए त्यसै गरी पढ्थे,’ उनले भने, ‘विद्यार्थीलाई पढाइ छोड्नबाट रोक्ने एउटै उपाय छात्रावास चलाउनु नै हो ।’

उनका अनुसार इच्छाकामनामा १ देखि ३ सम्म पढाइ हुने २० र १ देखि ५ सम्म पढाइ हुने १९ विद्यालय छन् । ५ देखिमाथि ८ कक्षासम्म पढाइ हुने ११ विद्यालय छन् । ९ र १० पढाइ हुने ५ वटा छन् ।

कान्तिपुरमा रमेशकुमार पौडेलले लेखेका छन् ।

प्रतिक्रिया