Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

कृषि विश्वविद्यालयकाे राजधानीमा ‘भूमिगत कार्यालय’

शनिबार, २९ मंसिर २०७५

काठमाडौं २९ मंसिर / चितवनको रामपुरमा केन्द्रीय कार्यालय रहेको कृषि तथा वन विज्ञान विश्वविद्यालयले सरकारी निर्देशनविपरीत सम्पर्क कार्यालय चलाइरहेको छ ।

शिक्षा मन्त्रालयले उपत्यकाबाहिर केन्द्रीय कार्यालय रहेका कलेजको सम्पर्क कार्यालय हटाउने निर्णय गरेकोमा कृषिले अझै बन्द गरेको छैन ।

राजधानीको नयाँ बानेश्वर, थापागाउँस्थित ३ तले घरमा ‘भूमिगत शैली’ को सम्पर्क कार्यालय छ । मासिक ३५ हजारभन्दा बढी भाडा तिरिँदै आएको उक्त घरको दोस्रो तलामा उपकुलपति ईश्वरीप्रसाद ढकाल र रजिस्ट्रार मनराज कोलाक्षपतीको कार्यालय छ ।

मन्त्रालयले निर्णय गर्नुअघि विश्वविद्यालयले बानेश्वरचोक नजिकै सम्पर्क कार्यालय राखेको थियो । जेठ १० मा शिक्षामन्त्री गिरिराजमणि पोखरेलले सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गरेका थिए । त्यसलगत्तै विश्वविद्यालयले गेस्ट हाउस सञ्चालनमा रहेको एक घरमा कार्यालय सारेको हो । शुक्रबार मध्याहन उक्त घरबाहिर विश्वविद्यालयको बा१७च ६४८५ नम्बरको गाडीपार्किङमा थियो ।

उक्त घरको पहिलो तला गेस्ट हाउससहित उपकुलपति र रजिस्ट्रारका चालक बस्न प्रयोग गरिँदै आएको छ भने दोस्रो तलामा सम्पर्क कार्यालय छ । बोर्ड राखिएको छैन । ‘शिक्षा मन्त्रालयले सम्पर्क कार्यालय खारेज गर्ने निर्णय गरेपछि मीनभवनको कार्यालय बानेश्वर सारिएको हो,’ कृषि विश्वविद्यालय सेवा आयोगका एक सदस्यले भने, ‘उपकुलपति र रजिस्ट्रारले त्यहीँ बसेर काम गर्नुहुन्छ, जो पायो त्यसलाई घरभित्र प्रवेश दिइँदैन, गोप्य रूपमा राखिएको छ ।’

कार्यालय विश्वविद्यालयकै कर्मचारी शकुन्तला थापाको जिम्मामा छ । त्यहाँ आउने व्यक्तिलाई उनी सोधपुछपछि मात्रै भित्र जान दिन्छिन् । अन्य समय गेट बन्द रहन्छ । विश्वविद्यालय सम्बद्ध पाहुनाका लागि बास बस्न गेस्ट हाउस चलाइएको उनले बताइन् ।

प्राध्यापकहरूले भने गेस्ट हाउसका नाममा सम्पर्क कार्यालय चलाएको भन्दै असन्तुष्टि जनाएका छन् । ‘पदाधिकारी र प्राध्यापकलाई भनेर गेस्ट हाउस खोलिएको हो, जम्मा ३ वटा बेड छ,’ एक सहप्राध्यापकले भने, ‘कुलपति र रजिस्ट्रारले गेस्ट हाउसको नाममा सम्पर्क कार्यालय चलाएर बसेका छन् ।’ उपकुलपति ढकाललाई रामपुरमै क्वार्टर सुविधा दिइएकामा उनी भरतपुरमा अर्को सम्पर्क कार्यालय खोलेर सुत्ने–बस्ने गरेको प्राध्यापकहरूले जानकारी दिए ।

उपकुलपति र रजिस्ट्रार विश्वविद्यालयभन्दा बढी सम्पर्क कार्यालयमा भेटिने उनीहरूको भनाइ छ । रजिस्ट्रार कोलाक्षपती काठमाडौंमै सञ्चालित हिमालयन कलेज अफ एग्रिकल्चर साइन्स एन्ड टेक्नोलजी (हिकास्ट) नामक निजी कलेजका सञ्चालक हुन् ।

उपकुलपति र रजिस्ट्रारले विश्वविद्यालयका अधिकांश कामकारबाही र निर्णय काठमाडौंकै कार्यालयबाट गर्ने गरेको जानकारहरू बताउँछन् । निजी कलेजलाई सम्बन्धन दिने विवादले विश्वविद्यालयको पठनपाठन विगत ६ महिनादेखि प्रभावित छ । पदाधिकारी समस्या समाधानभन्दा विलासितामा रमाउने गरेको विद्यार्थी र प्राध्यापकहरूले आरोप लगाए ।

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया