शिक्षक, विद्यार्थीमा मोवाईलको अंकुश र शिक्षा सुधारका कुरा


मोवाईललाई विद्यालय क्षेत्रमा निषेध गर्ने होडवाजी चलिरहेका समाचार निरन्तर रुपमा सञ्चार माध्यममा सुन्न र पढ्न पाइन्छ । माध्यमिक तह सम्मको शिक्षाको स्थानीय सरकार मातहत हुने संवैधानिक ब्यवस्था सँगै उनीहरुले तय गरेका योजना तथा कार्यक्रममा पनि मोवाईल नियोजनका विषय समावेश भएको पाइन्छ । विद्यार्थीलाई मोवाइल विमुख गराउने होस् या शिक्षकहरुलाई विद्यालयमा मोवाईल वञ्चित गराउने कुरा होस् स्थानीय सरकारहरुले यो विषयमा केही हद सम्म तरंग सिर्जना गरेका छन् । उक्त कार्यले शैक्षिक प्रकृयामा सकारात्मक प्रभाव नै पार्छ त ? प्रश्न पेचिलो छ ।  

स्मार्ट फोन प्रविधि

प्रविधिको क्षेत्रमा समकालिन अवस्थामा एकाधिकार जमाईरहेको प्रविधी नै स्मार्ट फोन रहेको कुरा छर्लंगै छ । स्मार्टफोन अब कुराकानीका लागि प्रयोग हुने बस्तु मात्रै रहेन । बरु यो आधुनिक प्रविधिहरु जस्तो कि मल्टिमेडिया, ईमेजिङ, म्यासेजिङ लगायत प्रविधिहरुको सरलिकृत र छरितो रुप बनेको छ । अध्ययन र अध्यापनका लागि स्मार्ट फोनमा जति एपहरु उपलब्ध छन् त्यति सफ्टवेयर र प्रोग्रामहरु कम्प्युटरको हकमा उपलव्ध छैनन् । स्मार्ट फोनमा जति सजिलै ईण्टरनेटमा पहुँच हुन्छ कम्प्युटर प्रविधिमा त्यति सजिलोरुपमा ईण्टरनेटको पहुँच हुन सक्दैन ।

जति सहजरुपमा स्मार्ट फोनमा ई पुस्तकमा पहुँच पुग्छ त्यो रुपमा कम्प्युटर प्रविधिवाट पहुँच संभव छैन । अझ ग्रामिण भेग जहाँ ब्रोडव्यान्ड ईण्टरनेटको पहँुच छैन त्यस ईलाकामा संसार जोड्ने एकमात्र माध्यम मोवाईल फोन नै बन्दै गएको छ । आधुनिक सिकाइ प्रविधिको रुपमा केही समय अगाडि प्रचलित रहेको कम्प्युटर सहायताको अध्ययन अब पुरानो हुँदैछ र अव मोवाइल सहायताको अध्ययन प्रचलित हुँदैछ । डिजिटलाईजेसनको वर्तमान युगमा अब कितावका ठेली वा टेवल ओगट्ने कम्प्युटर हैन खल्तिमा अट्ने मोवाइल सूचनाको स्रोत बन्दैछ । यस परिप्रेक्ष्यमा मोवाइल प्रविधि कसैले रोक्दैमा रोकिने अवस्थामा पुगेको छैन ।

नेपालको शिक्षा क्षेत्र र प्रविधि

ज्ञानको विष्फोटनको यस युगमा नेपालको शिक्षा प्रणालीले प्रविधिलाई उचित ढंगले चिन्न नसक्नु दुखद् कुरा हो । अपवाद बाहेक शिक्षा क्षेत्रमा रहेको वर्तमान व्यवस्थापकहरु र स्वम शिक्षकहरु समेत प्रविधिका मामलामा निरक्षर नै रहेको कुरा जग जाहेर छ । शिक्षाका प्रशासक र शिक्षक छनौट क्रममा कम्प्युटरजन्य सीप परिक्षण नहुनु निकै हास्यास्पद छ जबकि निजामती सेवा कै अप्राविधिक पदहरुमा झण्डै दशक अघिवाट कम्प्युटर जन्य सीप परिक्षण हुने गरेको छ । यसबाटै सामान्यिकरण गर्न सकिन्छ कि नेपालको शिक्षा क्षेत्र प्रविधिवाट विमुख छ ।

उदाहरणको रुपमा लिँदा हामीले नेपालका सार्वजनिक विद्यालयमा गएर हेर्ने हो भने सरकारी अनुदानमा खरिद गरिएका कम्प्युटरहरु या त प्रधानाध्यापको दराजमा या अफिसको टेवलमा थन्किएका देख्न सक्छौ । अनि विद्यालयले वार्षिक रुपमा पेस गर्ने विवरण तयार पार्ने काम चाँहि कुनै कम्प्युटर सिकाउने केन्द्रलाई जिम्मा दिएको पनि देख्न सक्छौँ । यस्तो अवस्थामा रहेका विद्यालयहरुमा ईण्टरनेट भनेको सामाजिक सञ्जाल र फोन भनेको संवादको साधन भनेर वुझिनु कुनै अचम्मको कुरा हैन ।

स्मार्ट फोनबाट विद्यार्थीलाई फाईदा

स्मार्टफोन आफैमा खरावी हुन सक्दैन यसको प्रयोग गर्ने विधि र प्रयोजनले विद्यार्थीमा अध्ययनमा हानी वा फाईदा हुने हो । यसको प्रयोगले विद्यालयहरुलाई ज्ञानको ढोका सम्म सहजरुपमा पुर्याउँछ । विद्यार्थीले सहजरुपमा पाठ्यपुस्तक तथा थप अध्ययन सामग्री प्राप्त गर्छन् । विभिन्न अनुप्रयोगको सहायताले विद्यार्थीले खेलको माध्यमवाट पनि सिकाइमा सुधार ल्याउन सक्छन् । मोवाइल फोनमा सहज रुपमा नै श्रब्य दृष्य सामग्री उपलव्ध हुने भएकोले यसको प्रयोगवाट विद्यार्थीको सिकाईमा सहजिकरण हुनसक्छ । स्मार्ट फोनको सहायताबाट यही परिधीमा मात्र विद्यार्थीलाई सहयोग गर्छ भनेर सिमांकन गर्न सकिन्न । समग्रमा भन्नुपर्दा स्मार्टफोनले विद्यार्थीलाई बहुआयामिक फाईदा पुर्याएको हुन्छ । यसर्थ मोवाइल फोनको कारणले विद्यार्थीको शैक्षिक प्राप्तिमा नकारात्मक असर पर्यो भन्नु त मोवाइल फोनको व्यवस्थापन गर्न नसक्नु मात्र हो ।

स्मार्ट फोनको शिक्षकलाई फाईदा

शिक्षकलाई स्मार्ट फोनवाट पुग्ने फाईदा पनि बहुआयामिक नै छ ।  असल अभ्यास र प्रयोगको अनुकरण गर्न यो साधन ज्यादै उपयोगी छ । शिक्षकले आफ्नो ज्ञानको दायरा बढाउन, शिक्षक निर्देशिकाको उपयोग गर्न वा कुनै शिक्षण सामग्री नै तयार गर्न समेत कक्षाकोठा भित्र वा बाहिर यसको प्रयोग गर्न सक्छ जुन सामान्य कुरा हो । शिक्षक स्वयंले आफ्नो ब्लग मार्फत अनुभव बाँढ्न र अरुका अनुभव सिक्न सक्छ । प्रकारान्तरले भन्दा शैक्षिक व्यवस्थापकको दायित्व भनेको शिक्षकलाई कसरी सिर्जनात्मक रुपमा मोवाइललाई शिक्षणमा प्रयोग गर्ने भन्ने हो नकि कसरी यसको वञ्चितिकरणका उपायका बारेमा सोच्ने ।

अन्त्यमा, 

यहाँ मोवाइल फोनलाई शिक्षणमा रामवाण किमार्थ भनिएको हैन । मोवाईल फोनको प्रयोग सँगै यसका चुनौनि समेत पक्कै बढेका छन् । यसको प्रयोगले विद्यार्थी तथा शिक्षकलाई पठन पाठनवाट विमुख गराउन सक्ने संभावना पनि उत्तिकै छ । तथापि यस्ता चुनौति व्यवस्थापन गर्नको सट्टा समयको मागले निम्त्याएको साधनलाई प्रतिवन्ध लगाउन तर्फ लाग्नु भनेको प्रगतिलाई चुनौती दिनु मात्र हो । यसर्थमा विभिन्न तहका सरकार तथा विद्यालयहरुले मोवाइल फोनलाई निषेध गर्ने हैन सिर्जनात्मक प्रयोग गराउने तर्फ उन्मुख हुन आवश्यक छ ।

धनकुटाका पौडेल माध्यमिक तहका शिक्षक हुन् ।