Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

शिक्षक आयोगद्धारा खुल्ला विज्ञापनको कापी परीक्षण शुरु

सोमबार, २३ पुस २०७५

भक्तपुर - परीक्षा लिएको तीन महिना पछि बल्ल शिक्षक सेवा आयोगले सोमबारबाट खुल्ला विज्ञापनको कापी परीक्षणको काम शुरु गरेको छ । काठमाडौं उपत्यकाका छुट्टा छुट्टै तीन स्थानमा कापी परीक्षण शुरु गरेको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

काठमाडौंको विश्व निकेतन र रत्नराज्य विद्यालय तथा भक्तपुर स्थित आयोगकै कार्यालयमा सोमबारबाट कापी परीक्षणको काम शुरु भएको उनले बताए । नतिजा प्रकाशनको काम चाँडै सक्ने गरी आवश्यक परेमा अन्य स्थानमा पनि परीक्षणको ब्यवस्था गर्न सकिने उनको भनाई छ । यस अघि ताहाचल स्थित जनप्रभात माविमा परीक्षण गरिएको थियो ।   

गत असारमा भएको खुल्ला विज्ञापनको परीक्षा असोजमा भएको थियो । माविको असोज ११ गते, निमाविको १२ र प्राविको १३ गते  परीक्षा भएको थियो । यही बीचमा अस्थायी शिक्षकको परीक्षाको प्रकृयागत काम सक्नु पर्दा खुल्लाको काममा केही प्रभाव परेको आयोगका पदाधिकारीले बताउँदै आएका छन् ।

आईतबार काठमाडौं उपत्यकाको लिखित नतिजा प्रकाशन गरे सँगै अस्थायीको लिखितको नतिजा सार्वजनिक गर्ने काम सकिएको छ । त्यस पछि आयोगले खुल्लाको कापी परीक्षण शुरु गरेको हो ।

कूल १२ हजार ७ सय ३९ पदका लागि भएको विज्ञापनमा २ लाख ८२ हजारले आवेदन गरेका आयोगले जनाएको छ । प्राथमिक तहमा ९ हजार ९ सय ९६, निमावि तहमा १६ सय ३५ र मावि तहमा ११ सय ८ पदमा आयोगले  विज्ञापन  गरेको हो ।

प्रतिक्रिया