Edukhabar
विहीबार, १५ चैत्र २०८०
अन्तैवाट

एक तिहाइ अस्थायी शिक्षक फेल, असफल भए पनि सुविधासहित अवकाश

बुधबार, २५ पुस २०७५

काठमाडौं २५ पुस / शिक्षक सेवा आयोगको परीक्षामा सहभागीमध्ये झन्डै एक तिहाइ अस्थायी शिक्षक फेल भएका छन् । आन्तरिक प्रतिस्पर्धाको परीक्षा दिएका २२ हजार २ सय शिक्षकमध्ये करिब ८ हजार लिखित परीक्षामा अनुत्तीर्ण भएका हुन् ।

उनीहरूले पास हुन चाहिने न्यूनतम ४० अंक पनि ल्याउन सकेनन् । शिक्षा मन्त्रालयले अस्थायी शिक्षकलाई स्थायी गर्न ऐन संशोधन गरी आन्तरिक परीक्षा लिएको थियो । कतिपय शिक्षक अनुत्तीर्ण हुने डरले प्रतिस्पर्धामै सहभागी भएनन् ।

आयोगले लिने अन्तर्वार्तामा अझै करिब १ हजार शिक्षक छाँटिने निश्चित छ । आयोगले ९ प्रकारको विज्ञापन गरेकामा कुनैमा मागभन्दा बढीले लिखित पास गरेका छन् । ।

आयोगले २२ हजार ७६ पदका लागि आन्तरिकतर्फ विज्ञापन गरेकामा २३ हजार ३ सयले आवेदन दिएका थिए । तीमध्ये २२ हजार २ सयले मात्र परीक्षा दिएका हुन् । परीक्षामा २०४९ पुसभन्दा पहिले, २०४९ पुसपछि २०६१ साउनसम्म र २०६१ साउनयता नियुक्त भएका शिक्षकलाई सहभागी गराइएको थियो ।

२०६१ अघिको हकमा प्रकाशित विज्ञापनमा अधिकांश शिक्षक प्रतिस्पर्धाबिनै (पास अंक ल्याएर) स्थायी हुने भएका हुन् । ती विज्ञापनमा माग संख्याभन्दा आवेदन दिन पाउने शिक्षकको संख्या थोरै थियो । लिखित परीक्षामा उत्तीर्ण शिक्षकहरूको अन्तर्वार्ता माघ मसान्तसम्म सकिने आयोगका प्रशासकीय प्रमुख तुलसीप्रसाद थपलियाले जनाए ।

लिखित परीक्षा वा अन्तर्वार्तामा अनुत्तीर्ण हुने र परीक्षामै सहभागी नहुने गरी ९ हजारभन्दा बढी शिक्षक अब सुविधासहित घर जाने भएका छन् । ऐनले परीक्षामा भाग नलिने र फेल हुने शिक्षकलाई सुविधासहित बिदाई गर्ने व्यवस्था गरेको छ ।
दरबन्दीअनुसार अस्थायी शिक्षकबाट पदपूर्ति नहुने भएपछि आयोगले खुलातर्फ ४ हजार ५ सय पद थपिने जनाएको छ ।

हरेक वर्ष रिक्त ३ हजार दरबन्दीसमेत तत्काल ७ हजार ५ सय शिक्षकका लागि खुला विज्ञापन गरिने थपलियाले बताए । आन्तरिकमा दरखास्त नपरेका २ हजार ५ सय अस्थायी दरबन्दीलाई यसअघि नै खुलामा रूपान्तण गरिसकिएको छ । सुविधा नपाउँदा र अर्का शिक्षकको व्यवस्था पनि नहुँदा परीक्षामा फेल भएका शिक्षकले पढाइरहेका छन् ।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले अन्तिम नतिजा नआउँदासम्म उनीहरूलाई अध्यापन गराइराख्न सर्कुलर गरेको छ । असफल शिक्षकलाई बिदाइ गर्न विवरण संकलन भइरहेको शिक्षा मन्त्रालयका प्रवक्ता बैकुण्ठ अर्यालले जनाए । उनीहरूलाई बिदाइ गरेलगत्तै सट्टामा करारमा शिक्षक नियुक्त गर्नेबारे छलफल भइरहेको उनले जनाए ।

‘असफल हुने शिक्षकलाई सुविधासहित बिदाइ गर्न ६ अर्ब बजेट आवश्यक पर्ने अनुमान गरेका थियौं,’ उनले भने, ‘अनुत्तीर्ण हुनेको संख्या बढेकाले ८ अर्ब चाहिने आकलन गरेका छौं ।’

कान्तिपुरमा सुदीप कैनीले लेखेका छन् ।

प्रतिक्रिया