Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
अन्तैवाट

विद्यालयमा सांसद पुगेपछि

विहीबार, २६ पुस २०७५

काठमाडौं २६ पुस / दिउँसोको दुई बज्नै लाग्दा प्रदेश सांसद दीपेन्द्र पुन कक्षा दशको कोठामा प्रवेश गरे । खाजापछिको घन्टी प्रधानाध्यापक कृष्ण पुन मगरको थियो । सबैभन्दा अन्तिमको बेन्चमा बसेका सांसद पुन अन्य विद्यार्थीसँगै थिए । प्रअ पुनले शिक्षा विषयको ‘शैक्षिक सामग्री निर्माण र प्रयोग’सम्बन्धी पाठ आधा घन्टा पढाउँदा पनि सांसद पुनले एक शब्द बोलेनन् । आश्चर्य मानिरहेका विद्यार्थीले शिक्षकको प्रश्नको हौसिँदै उत्तर दिए । नयाँ पत्रिकाका अनुसार बुधबार रोल्पा नगरपालिकाको कोटगाउँस्थित नेपाल माध्यमिक विद्यालयमा देखिएको दृश्य हो यो ।

प्रदेश ५ को मन्त्रिपरिषद्ले सबै प्रदेश सांसद एक दिन अनिवार्य विद्यालयमा जान निर्देशन गरेको छ । सोहीअनुरूप प्रदेश सांसद पुन कोटगाउँ मावि पुगेका हुन् । उनले शिक्षक र विद्यार्थीको समेत कक्षाकोठामै बसेर अनुगमन गरेका छन् । अनुगमनपछि सांसद पुनले शिक्षक विद्यार्थीलाई आफ्ना अनुभव सुनाएका थिए । ‘हामी जुन माटोमा जन्मियौँ, त्यही माटोका लागि काम गर्नुपर्छ,’ सांसद पुनले भने ‘गाउँ जाँदा हरेकले आफ्नो सीपबारे बालबालिकालाई  बताउने गरौँ, यसले उनीहरुमा हौसला मिल्छ ।’

शिक्षकसमक्ष समस्या  राख्न सजिलो

जिल्लाकै राम्रो विद्यालयका रूपमा चिनिएको नेपाल मावि कोटगाउँका विद्यार्थीहरूले आफ्नो आमाबुबाभन्दा शिक्षकसँग समस्या राख्न सजिलो हुने गरेको बताएका छन् । ‘आमाबुबा सधैँ काममै  हुनुहुन्छ, उहाँहरूलाई आफ्ना कुरा राम्रोसँग सुनाउने वातावरण नै हुँदैन’ कक्षा ९ की छात्रा रूपकला विश्वकर्माले भनिन् ‘विद्यालयमा सबै समस्या राख्न पाउने वातावरण भएकाले हामीलाई पढाइमा कुनै समस्या छैन ।’  भौतिक पूर्वाधार अभाव भए पनि भएका सामग्रीलाई भरपुर उपयोग गरेर पठनपाठन राम्रो बनाउने प्रयासमा आफूहरू लागिपरेको प्रअ पुनले बताए । ‘हामीले गर्न सक्ने भनेको यति नै हो’, उनले भने, ‘राज्यले भौतिक पूर्वाधार पूर्ण बनाइदिए शैक्षिक गुणस्तर अझ माथि उठ्ने थियो ।’

नयाँ पत्रिकामा नवीन लोचनमगरले लेखेका छन् ।

प्रतिक्रिया