शिक्षा क्षेत्रको रोग, हचुवामा औषधि !


भनाई नै छ– जग बलियो भए मात्र घर मजबुत हुन्छ । सत्य यहि हो । सबै कुरामा लागू हुन्छ । प्रसंग निर्माणको मात्र हैन । शिक्षा लिनेदिने प्रक्रियासँग यो जोड्न सकिन्छ । शिक्षाको जग प्राथमिक शिक्षा हो । अझ विद्यालय उमेर भन्दा कम उमेरका बालबालिकाको मस्तिष्कको विकाससँग शिक्षा बुझ्न सकिन्छ । पूर्व प्राथमिक तह अर्थात् मन्टेसरी  कक्षा देखि नर्सरी तथा किण्डर गार्डेन (केजी) नामाकरण गरिएका कक्षाहरुको शिक्षा बुझ्न सकिन्छ । कहिलेकाँही विद्यमान अवस्था र हाम्रो सोचाई भिन्न हुन सक्छ । तैपनि तथ्यलाई कतै तोडमरोड गर्न भने मिल्दैन । हामी भन्न लेख्नमा प्राथमिक तहको शिक्षा मजबुत गर्नुपर्छ भनेर कहिल्यै थाकेनौं । नीति निर्माण तहमा समेत यो तहमा व्यापक सुधार र विभिन्न शिर्षकमा आर्थिक अनुदानको विषय समावेश भएको छ । तैपनि जग बलियो नभएर नै होला, शिक्षामा प्राथमिक तह ज्यादा आलोचित छ । उपल्लो स्तरको शिक्षा अपेक्षित बन्न सकेको छैन ।

यस आलेखमा सोही सन्दर्भमा संक्षिप्त विषय उठानको प्रयत्न गरिएको छ ।

१. पूर्व प्राथमिक तथा प्राथमिक तहलाई व्यापक विषय बनाएर जोडतोडका साथ यो तहको शिक्षा सवलीकरण, सुदृढीकरणमा नीति निर्माण भएका स्तरीय शिक्षाको लागि मन्त्रालय, विभाग, निर्देशनालय हुदै जिल्ला स्तरसम्म व्यापक चर्चा भएको तर सम्बन्धित विद्यालयसम्म व्यवहारमा पुग्न नसकेको तथ्य छ ।

२. सरकारी तहबाट निःशुल्क भनिएको, पाठ्यपुस्तक निःशुल्क उपलब्ध गराइएको, दलित तथा विपन्न र जेहेन्दार छात्रवृत्ति रकम उपलब्ध गराएको, कतिपयमा दिवा खाजा व्यवस्था गरेको, विद्यालय भवन बनाएको, शौचालय, खानेपानी, घेराबार, खैलमैदान, खेल सामग्री यस्ता आवश्यक कुराको लागि अनुदान उपलब्ध गराएकोले प्राथमिक तहको शिक्षामा ठूलो रकम लगानी भएको पाइन्छ । व्यवस्थित खर्च हुन नसक्नुले यो खर्च बालुवामा पानी भन्दै आलोचना र टिप्पणी भएकै हुन् ।

३. इसीडी शिक्षक हाल लगभग पैंतीस हजार छन् भनेर चर्चा गरिएको छ । प्राथमिक तहका शिक्षक संख्या नै अत्यधिक छ । मिडियामा कतै तीन विद्यार्थी चार शिक्षक भनेर समेत टिप्पणी गरेको सबैले सुनेकै छ । फेरि सबाल उठ्छ– हाम्रो सरकारी स्तरमा प्राथमिक शिक्षामा अपेक्षित सुधार भएन । रोगको पहिचान नै नगरी हचुवामा औषधि प्रयोग गर्दै हेर्दै जाने विधिले हामी कुहिरोभित्र हराएको काग बनेका छौं । आवश्यक जनशक्ति व्यवस्थापन गर्नेतर्फ भन्दा पनि अन्यत्र ध्यान मोडिएको तथ्य स्वीकार्नै पर्छ ।

शिक्षक पढाउन जाने कि सिकाउन जाने भन्ने चर्चा पनि यो क्षेत्रमा नउठेको हैन । पढाएकोले जान्दैन, सिकाएको भए विद्यार्थीले सिक्थ्यो र गथ्र्यो भन्नेहरु धेरै छन् । यथार्थ स्पष्ट छ । एउटा सत्य के हो भने तल्ला कक्षाहरुमा प्रायः शिक्षकको बढी लापरबाही देखिन्छ नै । स्नातक तह तथा स्नातकोत्तर उत्तीर्ण धेरै शिक्षकहरु प्राथमिक तहमा कार्यरत भएकाले पनि यो समस्या आएको हुनसक्छ । माध्यमिक तथा कलेजस्तरका शिक्षकहरुलाई प्राथमिक वा आधारभूत तहमा व्यवस्थापन नमिलेर हो कि ?  

४. अभिभावकवर्ग बालबालिकाले बोल्न, हिड्न थालेपछि विद्यालय भर्ना गर्नैपर्ने चिन्तनबाट ग्रसित छन् । यो अभिभावकको घर बसेर बच्चाको स्याहार सुसारदेखि हेरचाह गर्ने समय नभएर होला । कतिपय केटाकेटी आफ्नो आमाबुवासग रमाएर बस्न, बोल्न बिदाकै दिन पर्खिनुपर्ने संस्कार हाम्रा शहरहरुमा आइसकेको छ । उता निजी विद्यालयलाई बच्चाको उमेर अवस्थासँग भन्दा पनि आफ्नो व्यवसायसँग बढी चिन्ता छ ।

विद्यार्थीको कपी वा डायरीमा व्यापक होमवर्क दिएर पठाउन सकिए अभिभावक प्रसन्न हुने र घरमा केटाकेटीसग उक्त होमवर्क गर्ने, गराउनेमा सन्तुष्ट भई स्तरीयता प्रदर्शन भएको विश्वास गर्दैछन् । कुन उमेरका बालबालिका स्कूल भर्ना हुनुपर्ने, होमवर्क के हो र कसले गर्ने, यस्ता कुराभन्दा परम्परागत रुपमा स–साना बालबालिकालाई हाम्रा धेरै अभिभावक आफ्नै लागि होमवर्क लिन विद्यालय पढाउने गरेको स्थिति अहिले बढी निजी विद्यालयको सन्दर्भ जोडिएको छ ।

५. विद्यालयमा अतिरिक्त क्रियाकलापहरु नहुने होइन । खेलकूद, सांस्कृतिक कार्यक्रम, हाजिरीजवाफ, निबन्ध लेखन प्रतियोगिता, बादविवाद तथा वक्तृत्वकला प्रतियोगिता, प्रोजेक्ट वर्क प्रतिस्पर्धा यस्ता व्यापक क्रियाकलापहरु हुने गरेका छन् । तर, यी कार्यक्रमहरु शिक्षण सिकाईसग, सीप विकाससँग भने बिरलै जोडिएको पाइन्छ । कार्यक्रमहरु औपचारिकतासँग र मात्र वर्षमा एक– दुई पटक अभिभावक रिझाउन मात्र गर्ने भन्दा निश्चित योजना बनाएर शिक्षण सिकाईसग र सीप विकाससँग जोडेर सञ्चालन गर्नेतर्फ ध्यान नगएकै कारणले यो शीर्षक पनि बढी आलोच्य रहेको स्पष्ट छ ।

अतिरिक्त क्रियाकलापहरुलाई हेर्ने, बुझ्ने दृष्टिकोणमा नै निखार आउन सकेको छैन । केटाकेटीको शारीरिक तथा बौद्धिक विकासमा सहयोग गर्ने महत्वपूर्ण शैक्षिक अंगको रुपमा अतिरिक्त क्रियाकलाप स्वीकार गरी सो सीप भएका शिक्षक प्रत्येक क्रियाकलापहरुमा पठाउने योजना राम्रो हुन्छ ।

६. प्रचार र चर्चा उपल्लो कक्षाको नतिजाको गर्ने प्रचलन पुरानै हो । पहिले एसएलसीलाई फलामे ढोका भनेर यसको परीक्षाफल बाहिर आउनेवित्तिकै शिक्षक तथा विद्यालयको चर्चा र पुरस्कृत समेत गरिन्थ्यो । अहिले यो एसईई भए पछि पनि लगभग टिप्पणी उस्तै छ । प्राथमिक तहको परीक्षा अर्थात् विद्यार्थी मूल्यांकन अनि नतिजाको विश्लेषण मात्र औपचारिकता भएको छ । कक्षा तीन र पाँचको विद्यार्थी स्तर अर्कै गैरसरकारी संस्थाले जाच्ने र नतिजा बाहिर ल्याउने वा प्रतिवेदन दिने गरेको छ । एक वर्ष पूरा गरेपछि स्वतः उपल्लो कक्षामा जाने उदार कक्षोन्नतिको दुरुपयोगलाई विश्लेषण अझै गरिएन ।

सुनाई, बोलाई, पढाई, लेखाई चारै सीपलाई संयोजित र समानुपातिक कोणबाट मूल्यांकनको कसीमा राखिएन । हाम्रो शिक्षा प्रणाली यहा चुकेको तथ्य स्पष्ट छ । बोल्न जाने हुदैमा कक्षा ३ उत्तीर्ण हुने र राम्रोसँग पढ्न तथा नाम मात्र पनि लेख्न नसक्ने बालबालिका कक्षा ४ मा पुगिहाल्ने हालको अवस्था साच्चै सोचनीय छ ।

यो यथार्थतालाई बुझेर पनि बुझ पचाएको सरोकारवर्ग कक्षा १० वा १२ को नतिजाको चर्चा गर्नमै व्यस्त छ । अहिले कक्षा १ वा २ तथा ३ मा पढ्नेको चर्चा कसैले गर्दैन । के सिक्यो, कति सिक्यो, सिक्नुपर्ने हो ? त्यो कतै विषय बन्दैन । विद्यार्थीको मूल्यांकन नै छैन भन्दा हुन्छ । शिक्षा प्रशासन पनि ठूला कक्षा र ठूलैको नतिजा विश्लेषण गर्दछन् । कक्षा ५ को परीक्षालाई जिल्लास्तरमा गरौं भनेर आवाज उठेको छैन । तोकिएको सीप उपलब्धि हासिल नभई कक्षा अपग्रेड नगरौं कोही भन्दैन । अभिभावक त सधैं कक्षा अपग्रेडमा रमाउछन् । विद्यार्थीको क्षमता र सिकाई उपलब्धिसग सरोकार छैन ।

अत्यमा, यो विषय स्वयम्मा गहिरो र व्यापक छ । उल्लेखित सन्दर्भले मात्र विषयवस्तुको चर्चा, विश्लेषण पर्याप्त पटक्कै छैन । यो त मात्र यात्राको प्रारम्भ हो । हामी शिक्षामा धेरै योजना बनाउँछौं, तर धेरैचाहिँ माध्यमिक तहकै हुन्छन् । कागजमा आधारभूत तह वा प्राथमिक तहको प्रसंग छोड्दैनौं । तर, व्यवहारमा कहिल्यै यो तह सम्बोधन हुदैन । केहि दिन पहिले भारत सरकारले कक्षा १ र २ मा होमवर्क दिन नहुने भनेर घोषणा ग¥यो । हामीले यो विषय गम्भीरता पूर्वक लिएका छैनौं । अमेरिका, जापान, कोरिया, चीन आदि मुलुकमा ५ वर्ष पूरा भएर ६ वर्षमा प्रवेश नगरी कुनै पनि बालबालिका विद्यालय भर्ना गरिदैन । मानव मस्तिष्कको पूर्ण विकास नभई बच्चालाई अनावश्यक भार दिनु हुदैन भन्ने वैज्ञानिक मान्यता पनि छ ।

यो तहको शिक्षालाई व्यवस्थित नगरेसम्म माथिल्लो तह व्यवस्थित हुन नसक्ने र स्तरीय शिक्षा सधैं नारामा सिमित हुने तथ्यमा शंका छैन । राम्रो र असल कुरा अन्य मुलुकबाट सिक्नुपर्छ । हाम्रो परिवेश र सन्दर्भलाई हेरेर सूक्ष्म विश्लेषण गरी योजना बनाइनु पर्दछ । व्यवस्थापन अत्यन्त प्राथमिकताको सबाल हो । शिक्षक, सामग्री, भौतिक पक्ष, आर्थिक पक्षलाई प्रधान मान्नुपर्छ । कक्षा कोठा र विद्यार्थी नै पहिलो शिर्षक हुनुपर्छ । तबमात्र हामीले अपेक्षित नतिजा हासिल गर्न सक्छौं । फेद सुकेको वृक्षमा पानी हालेर फलफूलको पर्खाइजस्तो हाम्रो आधारभूत शिक्षा बनेको छ । यो विद्यमान परिवेश र सन्दर्भलाई संशोधन गर्न ढिलाई नगरौं ।