Edukhabar
शनिबार, ०८ बैशाख २०८१
खबर/फिचर

भिडियोबाट कक्षा

विहीबार, २६ पुस २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालय जल तथा मौसम विज्ञान केन्द्रीय विभागले भिडियो प्रविधिको माध्यामबाट पठन पाठन शुरु गरेको छ । अमेरिकाको वहाइयो स्टेट युनिभर्सिटीका प्राध्यापक लोनी जी थोम्सनसँग जलवायु परिवर्तनका विषयमा त्रिविले कक्षा सञ्चालनको व्यवस्था गरेको हो । गएको मंगलबारबाट शुरु उक्त कक्षा माघ नौ गते सम्म चल्ने छ । त्रिविका विभिन्न केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थी एवं अनुसन्धानकर्तालाई विश्वकै विख्यात प्राध्यापकसँग साक्षात्कार हुने अवसरले मौसम र जलवायु परिवर्तनको बारेमा अन्तराष्ट्रिय शैक्षिक अनुभव प्राप्त हुने त्रिविले अपेक्षा गरेको छ । 

भिडियो कक्षाको पहिलो दिनमा उपस्थित त्रिविका रजिष्ट्रार डिल्लीराम उप्रेतीले त्रिविले आगामी दिनमा प्रविधियुक्त कक्षाकोठा निर्माण गरेर सम्पूर्ण विभागले यस प्रकारका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाउने बताए ।  
जल तथा मौसम विज्ञान केन्द्रीय विभागका विभागीय प्रमुख डा. दीपक अर्यालले  केन्द्रीय विभागमा अध्ययनरत विद्यार्थीको अन्तराष्ट्रिय एक्पोजर बढाई जल तथा मौसम विषयमा ज्ञानको दायरा फराकिलो बनाउन महत्वपूर्ण अवसर प्राप्त भएको दावी गरे ।  

जल तथा मौसम विज्ञान केन्द्रीय विभागका सहप्राध्यापक एव काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन(केसिआई) का उपनिर्देशक डा. विनोद दवाडी काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन  का निर्देशक एवं चाइनिज एकेडेमी आफ साइन्सेसका प्राज्ञिक सदस्य प्रा.यावो थेल्दोङको विशेष पहलमा अमेरिकी प्राध्यापकसँग कक्षा सञ्चालन गरिएको जानकारी गराए । 

यस अवधिमा जम्मा २९ वटा कक्षा सञ्चालन हुने र विद्यार्थीलाई अध्ययनको निमित्त प्रोजेक्ट पेपर समेतको व्यवस्था र प्राविधिक एवं व्यवस्थापकीय सहयोग काठमाडौं सेन्टर फर रिसर्च एण्ड एजुकेसन (चाइनिज एकेडेमी आफ साइन्सेस )ले गरेको त्रिविले जनाएको छ । 

प्रतिक्रिया