Edukhabar
शुक्रबार, १६ चैत्र २०८०
गतिविधि

शिक्षा सचिवको 'सिकाउने शैली' मन्त्रीद्वारा सार्वजनिक

शुक्रबार, २७ पुस २०७५

काठमाडौं - शिक्षा सचिव खगराज बरालद्वारा लिखित 'सिकाउने शैली' को शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले सार्वजनिक गरेका छन् । देशको विद्यालयीय शिक्षाको अवस्था र सिकाइमा देखिएका चुनौतीलाई अनुभवजन्य भोगाइका आधारमा बरालले उक्त पुस्तक लेखेका छन् । पुस्तकको विधालाई संस्मरण भनिएको छ । पुस्तकमा कक्षा कोठामा हुँदै आएका सिकाइ विधि, नीतिगत तथा प्रचलनमा रहेका शिक्षणका तरिका र यसका सकारात्मक नकारात्मक अवस्थालाई अनभुव गरेका आधारमा चित्रण गरिएको छ ।

बालबालिकाको सृजनात्मकता उजागर गर्न आवश्यक रहेको तर्फ पुस्तक केन्द्रित रहेको बताउँदै मन्त्री पोखरेलले यस दिशामा नीतिगत कार्य गर्न सचिव बरालले ध्यान दिने अपेक्षा गरेको बताए ।

'कवि लेखक मान्छे भ्रष्टाचार मुक्त हुन्छ, अनियमितता गर्ने तर्फ सोच्नै सक्दैन' मन्त्री पोखरेलले भने, 'साहित्यकार, कवि समेत रहनु भएका सचिवले शैक्षिक कार्यक्रम कसरी अघि लैजाने भन्ने बारेमा पक्कै ध्यान दिनु हुनेछ ।'

प्रा.डा. जयराज आचार्यले पुस्तकले देशको शिक्षाको अवस्थाको सचित्र वर्णन गरेको उल्लेख गर्दै राजनीतिले शिक्षा क्षेत्र तहस नहस भएको तर्फ चिन्ता व्यक्त गरे । शिक्षाको महत्वबारे नेतृत्वलाई बुझाउन नसक्दा यो अवस्था आएको भन्दै उनले पुस्तकमा समेटिएका अनुभवजन्य आलेखले सुधारका लागि सकारात्मक शन्देश प्रवाह गर्न सक्ने अपेक्षा गरेको बताए ।

यस्तै राष्ट्रिय योजना आयोगकी सदस्य डा. उषा झाले पुस्तक शिक्षाका सवालमा उपर्युक्त सन्दर्भ सामग्रीका रुपमा प्रयोग गर्न सकिने बताईन् ।

कवि मोमिला जोशीले पुस्तकलाई शैक्षिक अनुभवको संगालोको संज्ञा दिईन् । ठूला ठूला कुरा भन्दा साना साना सम्वेदना समेटिएकाले पुस्तकले आर्कर्षित गर्ने उनले बताईन् ।  

शिक्षा मन्त्रालय अन्र्तगतका विभिन्न निकायमा कार्यरत रहँदा कामका शिलशिलामा गरिएका अनुभवलाई पुस्तकमा समेटेको लेखक बरालले बताए ।

'यो यथार्थ भोगाइ हो कथानाक हैन, विद्यार्थीको सिकाइ कसरी भईरहेको छ र यसमा के गर्दा सुधार होला भन्ने सोचले आफूले देखे भोगेका कुरा टिपोट गर्दै गरिएको संकलनका आधारमा पुस्तक लेखेको हुँ' उनले भने, 'अधिकाँश मान्छेहरु रिटायर्ड भए पछि लेख्छन्, मैले पदमै हुँदा लेखेँ, पदमा हुँदा केही गरेन भन्ने अपजस मेटाउन लेखेको हुँ, यसले त पहिले पनि लेख्ने, भन्ने गर्दै आएको थियो भन्लान् नी पछि !'

साङ्ग्रिला बुक्सले प्रकाशन गरेको पुस्तकमा ३१ शिर्षकमा सामग्री समेटिएको छ । बरालका ४ वटा साहित्यिक कृति प्रकाशित भईसकेका छन् । साहित्यमा उनी श्रमिक बरालका नामबाट लेख्छन् । शिक्षासँग सम्बन्धित भने उनको यो आठौं पुस्तक हो ।

प्रतिक्रिया