Edukhabar
विहीबार, ०६ बैशाख २०८१
विचार / विमर्श

शिक्षण कला नै रहेछ

शनिबार, २८ पुस २०७५

स्नातकोत्तरमा पाश्चात्य समालोचना विषयमा टी.एस. इलियटको ‘निर्वैयक्तिकता’ बारे प्राध्यापक प्रवचन दिइरहेका थिए । यस सिद्धान्तमा ‘लेखकले रचनामा लेखकीय उपस्थिति देखाउनु हुँदैन’ भन्ने मुख्य सन्देश छ ।

कविता कविको अभिव्यञ्जना होइन, कवि कविताको माध्यम मात्र हो । कविता सिर्जन प्रक्रियामा कविको व्यक्तित्व विलय हुन्छ । कवितामा विषयवस्तु र विधाबीच प्रस्तुतीकरणको माध्यम बन्छ कवि । विषयवस्तुलाई कवितामार्फत प्रस्तुत गरिदिने काम लेखकको हो । लेखकका आफ्नो अनुभूति, आग्रह, पूर्वाग्रह, आस्था, विचार सिर्जित रचनामा हुनु हुँदैन भन्ने वास्तविक मर्म हो निर्वैयक्तिकताको ।

यो सिद्धान्तलाई ती प्राध्यापकले साह्रै कठिन तरिकाले प्रस्तुत गरे । भन्दै थिए— “कविता सिर्जनप्रक्रियामा कविको व्यक्तित्वको विलय हुन्छ । कविता कवि व्यक्तित्वको अभिव्यञ्जना होइन । आवेग, संवेग र उत्प्रेरक कविहृदयसमक्ष उपस्थित हुन्छन् । कला कृतिमा सहृदय पाठकले प्राप्त गर्ने अनुभव कुनै शब्द बिम्बमय संवेग वा संवेगहरुको संयोजनबाट प्राप्त हुन्छ अथवा खास शब्द, शब्दावली र बिम्बका रुपमा कलाकारसँग रहेका धेरै आवेगहरुको संयोजनबाट प्रकट हुन्छ ।”

अनेक शब्दमा जेलिएका उनका भावना बुझ्नै गाह्रो भयो । जटिल र दुरुह शब्द एवं तिनै शब्दलाई ओल्टाइपल्टाइ शिक्षण गर्दा विद्यार्थीहरु अलमलिएका थिए । गरुको क्लिष्ट शैलीले विद्यार्थीलाई झर्को लागेको थियो । उनको प्रवचन सुनेर बुँदा टिपिरहेका विद्यार्थीहरु केही समयपछि अलमल पर्थे, जब सोही कुरा पुनः दोहोरिएर आउँथ्यो । गरु एउटै कुरालाई कहिलेकाहीँ त चार पटक पनि दोहोर्याउँथे । उदाहरणभन्दा सिद्धान्तका कुरा बढी हुन्थे । निर्वैयक्तिकताको कुरा गर्न कविहृदय, कवित्व, कविता, उत्प्रेरक, आवेग, संवेग, सिर्जना, रचना जस्ता शब्द दोहोरिइरहन्थे ।

सोही विषय वा सन्दर्भलाई अर्का शिक्षकले फरक ढङ्गले शिक्षण गरे । उनले पनि टी.एस. इलियटले उल्लेख गरेको मार्मिक रुपक प्रयोग गर्दै निर्वैयक्तिकतालाई प्रस्ट्याए । अनि मात्र निर्वैयक्तिकता सिद्धान्तको सैद्धान्तिक व्याख्या गरे । टी.एस. इलियटले आफ्नो सिद्धान्त पुष्टि गर्न रसायन विज्ञानको सूत्रलाई रुपकको सहायता लिएर व्याख्या गरेका छन् - अक्सिजन र सल्फर डाइक्साइड नामका दुइटा ग्याँसले भरिएको कोठामा परिष्कृत प्लेटिनम धातुको टुक्रा राखिदिएमा यी दुवै ग्याँस सल्फ्युरिक एसिडमा बदलिन्छन् । प्लेटिनमले सल्फ्युरिक एसिडको निर्माणमा महङ्खवपूर्ण योगदान दिन्छ तर प्लेटिनम न आफू बदलिन्छ, न त नवनिर्मित सल्फ्युरिक एसिडमा आफ्नो उपस्थिति देखाउँछ । सल्फ्युरिक एसिड बन्नका लागि प्लेटिनमको उपस्थिति अनिवार्य छ तर सल्फ्युरिक एसिडमा यसको कुनै मात्रा भेटिँदैन । प्लेटिनम उत्प्रेरक मात्र हो ।

यस रुपकमा कविहृदय प्लेटिनमको टुक्रा हो, कविता सल्फ्युरिक एसिड । अनुभूति अक्सिजन र संवेग सल्फर डाइअक्साड हुन् । रुपक र उदाहरणका माध्यमबाट इलियटको निर्वैयक्तिकता प्रस्तुत गर्दा मनोरञ्जक मात्र भएन, विद्यार्थीमा उत्साह थपिएको थियो । बीचबीचमा छलफल गर्दै यस सिद्धान्तलाई आगमन विधिबाट प्रस्तुत गर्दा विषयवस्तु सरल, सहज र बोधगम्य भयो । रुपकमा आएको सूत्रबारे रसायनशास्त्रका विद्यार्थीलाई सोध्दा O2 + So4 Platinum = O2So4 नै मिलेन । सल्फ्युरिक एसिड बन्न हाइड्रोजन आवश्यक हुन्छ, त्यसैले अक्सिजनको स्थानमा हाइड्रोजन हुनुपर्ने निष्कर्ष निकालेका थिए - H2 + So4 Platinum = H2So4 । तर अक्सिजन वा हाइड्रोजन जे भए पनि रुपकको आशय कविहृदय एउटा माध्यम हो प्लेटिनम टुक्रा जस्तै - सिर्जनप्रक्रियामा महङ्खवपूर्ण भूमिका निर्वाह गर्ने तर सिर्जनामा आफ्नो उपस्थिति नदेखाउने । उल्लिखित एकै विषयवस्तुको शिक्षण गर्ने तरिका दुई शिक्षकमा भिन्नाभिन्नै थियो । एक जनाले निगमन विधिबाट विषयवस्तु पस्किएका थिए, अर्काले आगमन विधिबाट । उदाहरण वा रुपकबाट शिक्षण गर्दा विषयवस्तु सरल र बोधगम्य भएको थियो । भाषिक शब्दजाल वा शब्दको ओहोरदोहोर र एउटै विषयवस्तुलाई पटकपटक दोहो¥याउँदा सिकाइ हुन सक्तो रहेनछ । बरm उदाहरण वा रुपकबाट विषयवस्तुको धारणालाई सरल तरिकाबाट सिकाउन सकिँदो रहेछ भन्ने सिकाइ दुई जना शिक्षकको कक्षा शिक्षणको तरिकाबाट प्राप्त भयो ।

शिक्षा सचिव बरालद्वारा लिखित 'सिकाउने शैली' पुस्तकको एक आलेख । देशको विद्यालयीय शिक्षाको अवस्था र सिकाइमा देखिएका चुनौतीलाई अनुभवजन्य भोगाइका आधारमा बरालले उक्त पुस्तक लेखेका छन् । उक्त पुस्तक शुक्रबार शिक्षा मन्त्री गिरिराजमणि पोखरेल मार्फत् सार्वजनिक गरिएको थियो

पुस्तकको यो अँश लेखक बरालको स्विकृतिमा प्रकाशन गरिएको हो – सम्पादक

प्रतिक्रिया