Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

तीन महिनामै नतिजा सार्वजनिक, उत्तीर्ण दरमा पनि उल्लेख्य सुधार

आइतबार, २९ पुस २०७५

काठमाडौं - समयमै नतिजा सार्वजनिक नगरेर विद्यार्थीको भविष्य माथि खेलवाड गर्दै आएको त्रिभुवन विश्वविद्यालयले परीक्षाको तीन महिनामै नतिजा सार्वजनिक गरेको छ । व्यवस्थापन संकाय अन्तरगत स्नातकोत्तर तहको प्रथम सेमेष्टरको नतिजा त्रिविले तीन महिनामै सार्वजनिक गरेको हो । गत भदौ / असोज महिनामा लिएको परीक्षाको नतिजा अनुसार विद्यार्थीको औषत उत्तीर्ण दरमा पनि उल्लेख्य सुधार भएको छ । 

नतिजा अनुसार ८२ प्रतिशत भन्दा माथि विद्यार्थी उत्तीर्ण हुन सफल भएका छन् । उपत्यका बाहिरका क्याम्पस÷कलेजहरुबाट ८७.८९ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका र उपत्यका भित्रका क्याम्पस/कलेजहरुबाट ९१.७४ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका डीन प्रा.डा. डिल्लीराज शर्माले जानकारी दिएका छन् । 

विगत वर्षहरुमा वार्षिक प्रणालीको नतिजा हेर्दा सात देखि १७ प्रतिशतसम्म मात्र विद्यार्थी उत्तिर्ण हुने गरेकोमा सेमेष्टर प्रणालीले नतिजामा उल्लेख्य सुधार ल्याएको शर्माको दावी छ । वार्षिक प्रणालीमा २० प्रतिशत माथि नतिजा नआएको बताउँदै शर्माले प्रथम सेमेष्टरको नतिजाले संकायलाई उत्साहित गरेको बताए ।

गत बर्षसम्म कीर्तिपुर स्थित केन्द्रिय विभाग र उपत्यका भित्रका क्याम्पसहरुमा मात्र सेमेष्टर प्रणालीमा पठनपाठन भए पनि यसै बर्ष देखि उपत्यका बाहिरका क्याम्पसहरुमा समेत सेमेष्टर प्रणाली अनिवार्य गरिएको थियो । यस 
यो सन् २०१९ को लागि भर्ना भएका विद्यार्थीको पहिलो सेमेष्टरको नतिजा हो । यो नतिजा देशभरको औषतमा ८२.२१ प्रतिशत उत्तीर्ण हो । यस नतिजाले विगत वर्षहरुको वार्षिक प्रणालीमा भएका कमी कमजोरीहरु सुधार गरी सेमेस्टर प्रणालीमा गएपछि व्यवस्थापन संकायमा गुणस्तरीय पठनपाठन भइरहेको र नतिजा राम्रो आएको देखाएको शर्माको तर्क छ ।

यस वर्ष उपत्यका भित्र र उपत्यका बाहिरका क्याम्पसहरुमा व्यवस्थापन संकायको स्नातकोत्तर तह पहिलो सेमेष्टरमा ६ हजार तीन सय साठीभन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । त्रिविका उपकुलपति प्रा.डा. तीर्थराज खनियाले तोकिएको समयमा परीक्षा सम्पन्न भई निर्धारित समयमै नतिजा प्रकाशन हुनु र ८० प्रतिशतभन्दा बढी उत्तीर्ण भएको नतिजा आउनुले सकारात्मक सन्देश दिएको प्रतिकृया दिए । 

 

प्रतिक्रिया