Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

विद्यालय नर्सरी कार्यक्रम

सोमबार, ३० पुस २०७५

काठमाडौं ३० पुस / लमजुङको दोर्दी गाउँपालिकामा विद्यालय नर्सरी कार्यक्रम सुरु भएको छ । नयाँ पत्रिकामाका अनुसार गाउँपालिकाभित्र रहेका १६ वटा विद्यालयमा कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अध्यक्ष ओमबहादुर गुरुङले विद्यालय नर्सरी कार्यक्रम विद्यालयमा लागू भएको बताए । ‘विद्यालयवरपरको सौन्दर्य बढाउन र विद्यार्थी तथा शिक्षकलाई प्रयोगात्मक रूपमा सिकाउन कार्यक्रम लागू गरिएको हो । उनीहरूले विद्यालयनजिकै आधा रोपनी जग्गामा नर्सरी बनाउनुपर्छ,’ उनले भने । विभिन्न जातिका फूल तथा तरकारीका बिरुवा लगाउन सकिने उनले बताए ।

‘विद्यार्थीले किताबमा पढेका कुरा व्यवहारमा लागू गर्न आवश्यक छ । शिक्षक, विद्यार्थीसँगै राखेर प्रयोेगात्मक गराउँदा दुवैलाई फाइदा पुग्छ,’ दोर्दी गाउँपालिकाका उपाध्यक्ष दिलबहादुर घलेले भने, ‘कार्यक्रमबाट विद्यालयले आम्दानी पनि गर्न सक्छ । कार्यक्रमअन्तर्गत शिक्षकलाई कृषि नर्सरीसम्बन्धी तालिमको आयोजना गर्ने र परामर्श दिनेछ ।’ गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत विजयराज पौडेलका अनुसार विद्यालय नर्सरी कार्यक्रमअन्तर्गत रहेका आठ माध्यमिक र आठ आधारभूत विद्यालयलाई निःशुल्क फूलको बिरुवा तथा तरकारीका बिउ वितरण गरिएको छ ।

नयाँ पत्रिकामा दोर्दीमा विद्यालय नर्सरी कार्यक्रम शिर्षकमा प्रकाशित

प्रतिक्रिया