Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
अन्तैवाट

सहायक रजिष्ट्रार र डिन नियुक्ती बदर गर्न माग

मंगलबार, ०१ माघ २०७५

काठमाडौं १ माघ / पूर्वाञ्चल विश्वविद्यालयमा गैर कानुनी रुपमा सह रजिष्ट्रार र सह डिनको नियुक्ती गरिएको भन्दै बदर गर्न माग गरिएको छ।

पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाज केन्द्रीय समिति र नेपाल प्रगतिशील प्रध्यापक संगठनको प्रदेश समितिले सोमवार विज्ञप्ति जारी गरी अपूर्ण अवस्थामा रहेको कार्यकारी परिषदले एकपक्षीय र गैरकानुनी रुपमा गरिएको नियुक्तीप्रति आपत्ति जनाउँदै बदर गर्न माग गरेको हो। ‘गैरकानुनी र एकपक्षीय रुपमा गरिएको नियुक्ती बदर गरी कानुनसम्मत रुपमा कार्यकारी परिषदको पूर्णता पश्चात मात्र नियुक्त गर्न माग गर्दछौं’, प्रदेश संयोजक पीतकुमार श्रेष्ठद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

उपकुलपति घनश्याम लाल दास र रजिष्ट्रार प्रमिला थापा मात्र सदस्य रहेको कार्यकारी परिषदले राजेश झालाई सहायक रजिष्ट्रार नियुक्त गरेको थियो। जसको विरोधमा विश्वविद्यालयका प्राध्यापकहरु तालाबन्दी गर्दै आन्दोलनमा उत्रिएका छन्।

यसैक्रममा प्रगतिशील प्रध्यापक संगठन विज्ञप्ति जारी गरी नियुक्ती बदरको माग गरेको हो। साथै यसअघि संगठन र उपकुलपतिबीच भएको सहमति पूर्ण रुपमा कार्यान्वयन गर्न पनि माग गरिएको छ। नियुक्तीविरुद्ध विश्वाविद्यालयमा अन्य संगठन तथा प्राध्यापकले सुरु गरेको आन्दोलनमा समेत ऐक्यबद्धता जनाउँदै माग वेवास्ता गरिए थप आन्दोलनमा जान बाध्य हुने चेतावनी संगठनले दिएको छ।

यस्तै, पूर्वाञ्चल विश्वविद्यालय हित तथा सरोकार समाजले एकलौटी र गैरकानुनी तरिकाबाट नियुक्ती गरिएको आरोप लगाउँदै उपकुलपति दास र रजिष्ट्रार थापालाई निलम्बन गरी कारवाही गर्न माग गरेको छ। समाजका अध्यक्ष सञ्जिव रोकाहाद्वारा सोमवार जारी विज्ञप्तिमा भनिएको छ, ‘विश्वविद्यालय सभाको म्यान्डेट विपरित कर्मचारी बढुवा गर्दा न्युनतम शैक्षिक योग्यता नै निर्धारण नगरी अयोग्यहरुलाई आन्तरिक प्रतियोगिता मार्फत उपप्राध्यापक पदमा बढुवा गरेको हुँदा उक्त निर्णय विश्वविद्यालयको सर्वाेच्च निकायको निर्णयको बर्खिलाप गरिएको हुँदा तत्काल निर्णयकर्ता उपकुलपति र रजिष्ट्रारलाई निलम्बन गरी कारवाही प्रक्रिया अगाडि बढाउन विश्वविद्यालयका कुलपति प्रधानमन्त्री र सह कुलपति शिक्षामन्त्रीलाई अुनरोग गर्दछौं।’

समाजले विभिन्न ठाउँमा कार्यरत कर्मचारीको एकलौटी सरुवा गरिएको एवं विश्वविद्यालयको गोठगाउँमा भवन निर्माण गरिँदा चरम भ्रष्टाचार गरिएको साथै विश्विद्यालयको केन्द्रीय कार्यालय गोठगाउँमा सार्न कुनै पहलकदमी नदिएको हुँदा सह रजिष्ट्रार झा, रजिष्ट्रार थापा र उपकुलपति दासलाई बर्खास्त गरी पूर्वाञ्चल विश्वविद्यालयलाई विगठनको बाटोबाट जोगाउन पनि आग्रह गरेको छ।

समाजले सह रजिष्ट्रार नियुक्ती र अनियमितताविरुद्ध प्राध्यापकहरुका तर्फबाट भएको तालाबन्दी तथा आन्दोलनमा ऐक्यबद्धता समेत जनाएको छ।

नागरिकबाट

प्रतिक्रिया