Edukhabar
शनिबार, ०८ बैशाख २०८१
अन्तैवाट

त्रिवि विद्यार्थी भर्नामा अनियमितता, मेरिटकै विद्यार्थीले पढ्न पाएनन्

मंगलबार, ०१ माघ २०७५

काठमाडौं १ माघ / त्रिभुवन विश्वविद्यालयअन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानको बीएससी इन एग्रिकल्चर (बीएससी एजी) भर्ना प्रक्रियामा व्यापक अनियमितता भएको छ । त्रिविले मेरिट लिस्टको रोलक्रम मिच्दै पछाडि रोलक्रम रहेका विद्यार्थीलाई भर्ना लिएपछि अनियमितता देखिएको हो ।

५५७ नम्बर रोलक्रमका विद्यार्थीले भर्ना पाउँदा १९९ मेरिट लिस्टमा नाम निस्किएका विद्यार्थी भरत अधिकारी भर्ना हुन पाएनन् । अधिकारीले भने, ‘न्यायसंगत आधारमा भर्ना गरिएको छैन । अब मेरो भविष्य के हुने ? यसको जवाफ कसले दिन्छ ?’

अधिकारीको नाम दुर्गमबाट एक नम्बरमा निस्किएको छ । महोत्तरीका अजितप्रसाद यादवले मधेसी कोटामा आफू दुई नम्बरमा पर्दा पनि भर्ना हुन नपाएको गुनासो गरे । उनले भने, ‘आइतबार म शैक्षिक प्रमाणपत्र लगेर कार्यालय पुगेको थिएँ । तर, मलाई त्यत्तिकै फिर्ता गरियो ।’

मेरिट लिस्टमा यादवको नाम १६२ नम्बरमा भए पनि ३० पुसमा ५५८ नम्बरपछिका आरक्षण कोटाका लागि रोलक्रमका आधारमा भर्ना प्रक्रिया अघि बढाएको थियो । मेरिट लिस्टका आधारमा १०६ देखि ५५५ रोलक्रममा परेका विद्यार्थी भर्ना हुनबाट प्रभावित भएको देखिएको छ ।

मुस्लिम कोटामा एक नम्बरमा नाम निस्केका बाराका खुर्सिद अहमदले पनि त्रिविले खेल रचेर आफूलाई भर्ना हुन वञ्चित गराएको बताए । २९ पुससम्म मेरिट लिस्टमा परेका विद्याथी भर्ना भइसक्नुपर्ने समयावधि तोकिएको थियो । अपारदर्शी तवरले मेरिट लिस्टमा ५५७ नम्बरसम्ममा रहेकालाई भर्ना गरिएको विद्यार्थीको आरोप छ ।

मेरिट लिस्टमा रोलक्रमका आधारमा अगाडि रहेका विद्यार्थीलाई पन्छाएर पछाडि रहेकालाई ‘लेनदेनका आधारमा’ भर्ना गरिएको पीडित विद्यार्थीले बताएका छन् । बीएससी एजीका लागि गत २१ पुसमा प्रवेश परीक्षा लिइएको थियो । त्यसमा २३ सय परीक्षार्थीले भाग लिएका थिए । २४ गते नतिजा प्रकाशन हुँदा १ हजार ३ सय ८५ जना विद्यार्थी उत्तीर्ण भए । उत्तीर्णमध्ये मेरिट लिस्टका आधारमा रोलक्रममा अगाडि रहेका १०६ विद्यार्थीको भर्ना गरिनुपर्ने थियो ।

त्रिविअन्तर्गत लमजुङ, पक्लिहवा, चितवन र झापाका कलेजले पूर्ण छात्रवृत्ति दिँदै आएका छन् । लमजुङ र रूपन्देहीमा २७÷२७ र चितवन र झापामा २६÷२६ विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराइन्छ ।
छात्रवृत्ति नपाउनेले बीएससी एजी पूरा गर्न सात लाखभन्दा बढी शुल्क तिर्नुपर्ने हुन्छ ।

विद्यार्थीहरूले त्रिभुवन विश्वविद्यालयले सूचना सहज तरिकाले प्रवाह नगर्दा समस्या आएको बताएका छन् । डिन कार्यालयले मेरिट लिस्टको लग नगर्दा समस्या आएको विद्यार्थी नेता सन्दीप अधिकारीले बताए । उनले भने, ‘मेरिट लिस्टमा कुनै विद्यार्थीको नाम छ । मेरिट कलका लागि नाम बोलाइएको छ । तर, ऊ आएन भने पैसा तिरेर पनि पढ्न नपाउने व्यवस्था गरिनुपर्छ । पैसा तिरेर पनि अन्य कोटाबाट पढ्न नपाउने सिस्टम हुनुप¥यो ।’

अखिल क्रान्तिकारीका महासचिव प्रकाश शाहीले त्रिविको हेलचेक्र्याइँले विद्यार्र्थी मारमा परेको आरोप लगाए । उनले भने, ‘विद्यार्थीमाथि त्रिविले व्यापक खेलबाड गरेको छ । नाम निस्किएका विद्यार्थीसमेत भर्ना हुन नपाउनु गैरजिम्मेवारपूर्ण व्यवहार हो ।’ त्रिभुवन विश्वविद्यालय कृषि तथा पशु विज्ञान संस्थानका डिन डा. केशवराज अधिकारीले आफूहरूले प्रक्रिया पु¥याएर भर्ना गरिएको बताए । उनले भने, ‘हामीले सार्वजनिक सूचनासमेत आह्वान गरेका हौं । विद्यार्थी समयमा नआउनु उनीहरूको गल्ती हो ।’

राजधानीमा प्रशान्त वलीले लेखेका छन् ।

प्रतिक्रिया