Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

नयाँ विद्यालय भवन बनेपछि विद्यार्थी खुसी

विहीबार, ०३ माघ २०७५

काठमाडौं ३ माघ / रामेछाप - जिल्लाको दुर्गम गाउँ दोरम्बा गाउँपालिका वडा नम्बर ६ र ७ मा रहेका दुई विद्यालयका लागि सुविधासम्पन्न भवन बनेका छन्। नवनिर्मित उक्त दुई भवन बुधबार शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पाखरेलले उद्घाटन गर्दै सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेका छन्।

दोरम्बा गाउँपालिका वडा नम्बर ६ स्थित कालिका माध्यमिक विद्यालय र वडा नम्बर ७ मा रहेको भीमेश्वर माध्यमिक विद्यालयका लागि सुविधासम्पन्न भवन बनाइएका हुन्। भूकम्पपछि नयाँ भवन पाएपछि उक्त विद्यालयका विद्यार्थी तथा अभिभावक खुसी भएका छन्।

अब यस क्षेत्रका बालिबालिकालाई अध्ययन गर्न सहज हुने र शैक्षिक स्तर उकास्नसमेत टेवा पुग्ने कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक विष्णु गौतमले बताए।राष्ट्रिय पुनर्निर्माण प्राधिकरण केन्द्रीय आयोजना कार्यान्वयन एकाइ(शिक्षा)अन्तर्गत जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा)मार्फत खानी निर्माण सेवाले उक्त भवन निर्माण गरेको हो।

दुवै विद्यालय भवन एयिसाली विकास बैंक (एडिबी) को आर्थिक सहयोगमा निर्माण भएका हुन्। भीमेश्वर माध्यमिक विद्यालयको भवन ६ करोड ५५ लाख ४१ हजार तथा कालिका माध्यमिक विद्यालयको भवन ८ करोड ४२ लाख ४२ हजार रुपैयाँ लागतमा निर्माण गरिएको खानी निर्माण सेवाले जानकारी दिएको छ। शौचालय सुविधासहित भीमेश्वरका लागि दुईतले तीनवटा तथा कालिकाका लागि तीनतले दुईवटा भवन बनेका छन्।

नागरिकबाट

प्रतिक्रिया