Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

म कसरी पढाऊँ ?

शनिबार, २६ माघ २०७५

विद्यालयको दैलो छिरेको
पहिलो दिनमा परिचय हुनुपर्ने,
तर यहाँ आफ्नो नाम र ठेगाना
बताएर पुग्दैन
मेरो नाम भन्दा पहिले
यहाँ सोधिन्छ
तपाईं कुन पार्टीको ?
मेरो योग्यता,
मेरो क्षमता,
मेरो दक्षता
सबै ओझेलमा पर्छन्,
मैले कुन दल समर्थन गर्छु
कसको रसिद काट्छु
भन्ने कुराको अगाडि !
अनि म कसरी पढाऊँ ?

म हिड्दा पाइला लामो,
पढाउँदा आवाज ठूलो,
आवाज बचाएर राख्नुपर्छ रे !
उर्जा जोगाएर राख्नुपर्छ रे !
बर्षौ बिताउनु छ रे !
आफुलाई नै रित्याउनु छ रे !
मैले वकम्फुसे गफमा भाग नलिएकाले
म बकवास लाग्न सक्छु ।
म त कागको बथानमा बकुल्लो हु रे !
मैले आफ्नो कर्तव्य निर्वाह गर्दा पनि
कुनै अपराध गरे जस्तो !
मलाई डर लाग्छ
केही गल्ती पो गरे कि !
नाइटमेयर मात्रै चलिरहन्छ,
अग्नि मात्रै जलिरहन्छ,
अनि म कसरी पढाऊँ ?

राज्यको मर्यादाक्रममा
अटाउँदैन शिक्षक ।
आफ्नो आकाल झुकल
काम पर्ने हाम्रै विद्यार्थीको अभिभावक
कर्मचारीको जयजयकार गर्छन् ।
उनैका बच्चालाई
नियमित पढाउने,
ज्ञान बाँढ्ने
पथ प्रदर्शन गराउने
शिक्षकलाई
फर्केर हेर्दैनन् !
समाजमा तुलना हुन्छ
योगदानको हैन, कमाइको
आँफू भन्दा पछि नियुक्ति लिएको
खरिदारले शहरमा घर खरिद गर्छ ।
यता महङ्गीले
पसीना झर्छ ।
कलम उहीँ बर्षौ पुरानो
फेरिन्छ मसी मात्रै !
कोही महिनै पिच्छे फेर्छन
सपना, मोबाइल, गाडी अनि के के !
सबै उनीहरूकै पछि लाग्छन् ,
विद्यार्थी समेत भन्छ
सर तपाईं बाहिर किन जानुहुन्न ?
म त ठूलो भएर जान्छु
पैसा कमाउछ ु!
अनि म कसरी पढाऊँ ?

मेरो कामको मूल्यांकन गर्नेले,
खै कस्तो चस्मा लगाएका छन् ?
खै के देख्छन् ?
न त नतिजा हेर्छन्
न त पृष्ठपोषण नै दिन्छन
लाग्थ्यो कोही पनि पूर्ण हुदैनन्,
(म पनि)
यहाँ त सबैले आफ्नो पूर्णताको,
भ्रम छर्न मात्रै खोज्छन्
पुत्ला जलाएर आफ्नो
वास्तविकताको!
लाग्थ्यो र लाग्छ पनि शिक्षण त
सिक्ने सिकाउने प्रक्रिया हो ।
बरु विद्यार्थीबाटै सिकिएला,
अहँ अन्यत्रबाट हैन !
सच्चा मित्र त अबोध
विद्यार्थी छन् !
राज्यले जस्तो विभेद गर्दैनन्न्
आफ्नै अभिभावक जस्तो
मुन्टो बटार्दैनन्,
समाजले जस्तो तुलना गर्दैनन्
यथार्थताको धरातलमा छन्
सहानुभूति राख्छन्
र त सोध्छन्
“सर, तपाईंलाई के भयो ?
तपार्इँलाई आज सञ्चो छैन ?
कति दुख गरि रहनुहुन्छ ?
यिनै छन् र त
पढाइरहेको छु,
यिनै सँग रमाइरहेको छु ।
यिनैलाई सिकाइरहेको छु ।
यिनैबाट सिकिरहेको छु ।

(एम. सी. गौमुखी माध्यमिक विद्यालय प्युठानका माध्यमिक तहका  शिक्षक हुन् ।)

प्रतिक्रिया