Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

कति पढ्दा वा अध्ययन गर्दा पुग्ने हो ?

आइतबार, २७ माघ २०७५

मैले विद्यालय तहमा पढेका सबै विषयवस्तुको प्रयोग मेरो जीवन कालमा होला कि नहोला ? खै यस बारेमा अरुले के सोचेका छन् थाहा छैन, तर मलाई भने अहिले आएर सोच्नु पर्छ भन्ने लागेको छ । किनकी त्यति बेला पढेका कतिपय विषयवस्तु त अहिले सम्म पनि प्रयोग भएनन् भने अबका दिनमा के प्रयोग होलान् ? अहिले सम्म प्रयोग नभएकोले पछि पनि प्रयोग नहोलान् । सर तथा मिस/मेडमले भने पछि घरमा बुबा आमासँग रोइकराई गरेर उबेलामा ज्यामितीय बक्स किनियो । तर त्यस भित्र रहेका सबै सामग्रीको प्रयोग कहिले पनि गर्न पाइएन, जानिएन वा गर्न सकिएन । ती सामग्रीहरु के के कामका लागि राखिएका थिए भनेर कसैले पनि बताएनन्, बताउन आवश्यक नठानेका पनि हुन सक्छ । यस बारेमा सर मिससँग सोध्न पनि सकिएन वा आवश्यकनै ठानिएन । ठूला बडाले जे जे भने सो काम गर्दै यहाँसम्म आइपुगियो । 

त्यति बेला र अहिलेको अवस्थामा भने ठूलो फरक छ । उ बेलामा त हामीले थाहा नपाइकन पढ्यौं । अहिले हामीले हाम्रा बाल बच्चालाई जे जति मात्रामा पढाइरहेका छौं,  के ती सबै पढ्नै पर्ने विषय वा सामग्री हुन त ? के हामीले यस बारेमा प्रश्न गर्ने गरेका छौं ? कसैलाई सोधेका छौं ? विगत भन्दा अहिले त झन् बढि विषयवस्तु पढाउन थालिएको छ । तर हामी सबै चुपचाप यसको पालना गरिरहेका छौं, बडा आज्ञाकारी भएर । अहिले हामीले जे पढाएका छौं सो पछिका दिनमा पढ्दा हुने कि नहुने भनेर कसैले प्रश्न सोध्ने गरेका छैनौँ । 

माथिको विषयका बारेमा निष्कर्ष निकाल्नु अघि व्यक्तिले किन र के का लािग पढ्ने भन्ने बारेको सैद्धान्तिक बहसमा प्रवेश गर्नुपर्ने हुन्छ । आखिर व्यक्तिले किन पढ्नु पर्छ ? वा किन अध्ययन गर्नुपर्छ ? स्वभाविक रुपमा भन्न सकिन्छ, अध्ययनले व्यक्तिको ज्ञानको दायरा बढाँउछ, सीप विकास गराँउछ, धारणामा परिवर्तन ल्याउँछ । अध्ययनले नै नयाँ नयाँ ज्ञान र प्रविधिको विकास गर्न सहयोग गर्छ । यी सबै कार्यबाट मानव समाजलाइ अझ उन्नत दिशातर्फ लैजान सहयोग गर्छ । समग्रमा भन्नु पर्दा अध्ययन वा पढाइले मानव भलाइका कार्यमा सहयोग गर्न सक्छ । सुक्ष्म रुपमा भन्ने हो भने पढ्नु वा अध्ययन गर्नु भनेको व्यक्तिको भावी जीवन सहज, सरल र आत्मसम्मान यूक्त बनाउन सहयोग गर्नु हो । अझ साँघुरो अर्थमा पढ्नु वा अध्ययन गर्नु भनेको रोजगारी वा स्वरोजगारीमा संलग्न हुनु पनि हो । के कति विषय वा तह पढ्दा माथि भनिएका यी सबै काम हुन सक्लान् त ? कतिपय ठूला उद्यमीले औपचारिक शिक्षा लिएकै छैनन् भन्ने पनि सुनिन्छ । उनीहरु आफ्ना व्यवसायमा अब्बल देखिएकै छन् । अर्को तिर कतिपय माथिल्लो योग्यता भएका व्यक्ति पनि बेरोजगारका रुपमा रहेका छन् । आखिर पढ्ने वा अध्ययन गर्ने वित्तिकै रोजगारी वा स्वरोजगारी हासिल हुने भएको भए त यस्तो नहुनु पर्ने हो ! कति र के पढ्ने वा अध्ययन गर्ने विषय प्रमाणपत्र मात्र हासिल गर्ने भन्दा अझ बढि व्यक्तिमा  सोच वा चेत विकास गर्ने पक्षसँग पनि सम्बन्धित हुने देखियो । यसले त व्यक्तिले प्रमाणपत्र हासिल गर्नु र भित्रै देखि क्षमता विकास गर्नु फरक विषय हुन् भनेर देखाउन पनि सक्ने जस्तो देखियो ।

माथि जे भनिए पनि विज्ञहरु पढ्नु वा अध्ययन गर्नु र रोजगारी वा स्वरोजगारी हुनुको बीचमा सम्बन्ध रहेको हुन्छ भन्ने गर्छन् । तर यसको लागि शिक्षा गुणस्तरीय हुनुपर्छ भनिन्छ । गुणस्तरीयताको परिभाषा पनि विगत र अहिले फरक हुन थालेको छ । यहाँ शिक्षा गुणस्तरीय हुनुपर्छ भन्नुको मतलब व्यक्तिमा बजारले खोजेको ज्ञान, सीप र क्षमता हुनुपर्छ भन्ने नै हो । अब त शिक्षा भनेको बजारलाई चाहिने क्षमता भएको व्यक्ति उत्पादन गर्ने विषयको रुपमा दरिन पुग्यो भने शिक्षा प्रणाली एक कारखानामा सिमित हुन पुग्यो । शिक्षाका विषयवस्तुु र शिक्षा प्रणालीलाई बजारले नियन्त्रणमा राख्न थाल्यो । बजारमा जे बिक्छ, शिक्षा प्रणालीले त्यहि विषय विद्यार्थीलाई पढाउनु पर्ने भयो । यसले त शिक्षाको अर्थ र परिभाषा नै बदल्यो । यहाँनेर शिक्षाको अर्थ केबल व्यक्तिलाई चाहिएको ज्ञान र सीप (जुन बजारले खोजेको छ) विकास गर्नेसँग मात्र सम्बन्धित रहेको देखिन्छ । विगतमा बजार बलियो थिएन, विद्धानले पढ्नुपर्छ भनेका विषयहरु विद्यालयमा पढाउने गरिन्थ्यो । अहिले आएर विद्धान भन्दा पनि बजार बलियो भएर आयो । विद्धानले भन्ने ठाँउमा बजारले हस्तक्षेप गर्न थाल्यो । अब त के पढ्नु पर्छ भन्दा पनि बजारले जे माग्छ त्यहि पढ्नु पर्छ वा पढाउनु पर्छ भन्ने अवधारणा बनाउन थालियो । यदि त्यसो हो भने बजारको आवश्यकता अनुसार पढाउनका लागि अहिलेका विषयमा थप परिमार्जन आवश्यक देखिन्छ ।

यस्तै यस्तै सन्दर्भलाई समावेश गरेर ‘द इकोनोमिस्ट’ पत्रिकाले सन् २०१७ मा लर्निङ् एण्ड केयरिङ् ( Learning and Caring) नामक प्रतिवेदन सार्वजनिक गरेको थियो । यस प्रतिवेदनका अनुसार प्रत्येक अतिरिक्त वर्षको अध्ययनले व्यक्तिको प्रति घण्टा ९ देखि १३ प्रतिशत सम्म कमाइमा वृद्धि हुने देखाएको छ । भन्नुको मतलब अध्ययन गरे पछि रोजगारी पाइन्छ, कमाइ हुन्छ भन्ने नै हो । यहि प्रतिवेदनले अमेरिकामा अध्ययनको तह बढ्दै जाँदा बेरोजगार हुनेको संख्या घट्दै गएको उल्लेख गरेको छ । तर यस्तो पढाइ बजारले खोजे अनुसार हुनुपर्छ भन्ने हो । शैक्षिक प्रमाणपत्र भएर पनि बजारले खोजे अनुसार सीप भएन भने त्यसले काम नगर्ने निश्चित जस्तै भइसक्यो । जता सुकै सीप चाहिन्छ भन्न थाल्नुको पछाडिको कारण पनि यहि नै हो । यस दृष्टिकोणबाट पनि हामीले अहिले पढाएका विषयहरुका बारेमा एक पटक सोच्नुपर्ने देखिन्छ । किनकी विद्यार्थीमा शुरुमा सफ्ट स्कील हासिल गराउन सकियो भने सैद्धान्तिक ज्ञान त पछि पनि हासिल गर्न गराउन सकिन्छ भन्ने मत प्रबल बन्दै गएको छ ।

नेपाल पनि ‘द इकोनोमिस्ट’ पत्रिकाले भनेको भन्दा अलग अवस्थामा रहन नसक्ला । पत्रिकामा उल्लेख गरिएको अवधारणा ढिलो छिटो नेपालमा पनि अवश्य आउने नै छ । अहिले हामीकहाँ विद्यार्थीले अध्ययन गर्नुपर्ने वर्षमा अत्यधिक मात्रामा वृद्धि भएको छ । द इकोनोमिस्टको उक्त लेखमा स्नातक तहको सैद्धान्तिक ज्ञानले ठूला ठूला कम्पनी सञ्चालन गर्ने योग्यता हासिल गर्न सकिन्छ । स्नातक पछि सीप विकासका विविध कम्पोनेण्ट यस योग्यतामा जोड्न सकेमा मात्र व्यक्ति बजारमा बिक्न सक्छ भनिएको छ । नेपालको सन्दर्भमा विगतका दिनमा २ वर्ष अध्ययन गरेर पुग्ने स्नातक तहको अवधि अहिले आएर न्यूनतम रुपमा पनि चार वर्ष पु¥याइएको छ । पहिला कक्षा १ भन्दा अघि एक वर्षको शिशु कक्षा वा पूर्व प्राथमिक कक्षा थियो, अहिले आएर सो अवधि बढाइ न्यूनतम पनि ३ वर्ष पु¥याइएको छ । यस्तै अवस्था स्नातकोत्तर तह र सो भन्दा माथीका तहमा पनि रहेको छ । अध्ययन अवधिका साथमा अध्ययन गर्ने विषय पनि बढाइएको छ । के यो सबै आवश्यक छ त ? नेपालमा विद्यार्थीले के कति विषय के कति अवधिका लागि पढ्नु वा अध्ययन गर्नुपर्छ भन्ने बारेमा बृहत अध्ययन अनुसन्धान भएकै छैन । धेरै समय लगाएर धेरै विषय पढाए पछि अब्बल बन्न र बनाउन सकिन्छ भन्ने मानसिकतामा हामी सबै दगुरिरहेका छौं । यसमा गम्भीर भएर सोच्नु आवश्यक छ । थोरै विषय र अविधि पढाउँदा पनि पुग्छ भन्ने बारेमा विदेशी पाठ्यक्रमले देखाइसकेका छन् । 

प्रविधिले मानिसको जीवनशैलीमा परिवर्तन ल्याएको छ । बजारको संरचनामा फेरबदल ल्याएको छ । उपभोगको संरचना बदलिएको छ । शिक्षाले व्यक्तिलाई यस्ता नयाँ परिवेशमा काम गर्न सक्ने र अनुकुलन हुन सक्ने बनाउनु पर्छ । आज हामी जे पढाइरहेका छौं भोलिका दिनमा त्यसले नपुग्ने निश्चित छ । हिजोका दिनमा जस्तै आज शिक्षा लिएर बसेपछि बाँकी जीवनलाई पुग्छ भन्ने दिन अब गए । प्रविधिको कारण समाजमा परिवर्तनको गति तिब्र छ । यहि परिवर्तनले मानवीय स्वभावमा परिवर्तन ल्याइदिएको छ र यो निरन्तर रुपमा चल्ने देखिन्छ । आज डिग्री लिएको व्यक्तिले आफुलाई निरन्तर मात्रामा अध्यावधिक गर्न सकेन भने केहि वर्षमा फेज आउट हुने देखिन्छ । 

माथि उल्लेख गरिएको ‘द इकोनोमिस्ट’ ले आफ्नो प्रतिवेदनमा विभिन्न अध्ययन अनुसन्धानको सहयोगमा आधारित भइ भनेको छ, ‘हाल अमेरिकामा सन् २०१३ मा रहेका पेशा र काम (जब) मध्ये ४७ प्रतिशतले भविष्यमा निरन्तरता पाउने सम्भावना अत्यन्त न्यून छ’ । यहि प्रतिवेदनका अनुसार अबका दिनमा कुनै एक विधामा मात्र सीप हासिल गरेर नपुग्ने देखिन्छ । व्यक्तिमा एक भन्दा बढी सीप चाहिने देखिन्छ, जसलाई प्रतिवेदनले ‘हाइव्रिड जब’ भनेको छ । तर यस्ता सीपहरु निरन्तर रुपमा परिवर्तन हुने हुनाले व्यक्तिले आफुलाई निरन्तर रुपमा अध्यावधिक गरिरहनु पर्छ । यसले पनि के देखाउँछ भने अहिले हामीले पढाइरहेका विषय र विषयवस्तुहरुमा एक पटक पुर्नविचार गर्नै पर्छ ।

विगत केहि वर्षमा व्यक्तिको शिक्षा लिन दिनमा औपचारिक पद्धति बढि र अनौपचारिक पद्धति कम प्रचलनमा थियो । अहिले व्यक्ति औपचारिक पद्धतिबाट जत्तिकै अनौपचारिक पद्धतिबाट पनि प्रभावित भइ रहेको छ, लाभ लिइरहेको छ । सञ्चार र प्रविधिमा आएको परिवर्तनले अनौपचारिक पद्धतिको सिकाइ अझ बढि शक्तिशाली बन्दै गइरहेको छ । व्यक्ति भिन्न भिन्न मोडबाट सिक्न सक्छ भन्ने अवधारणा बलियो बन्दै गएको देखिन्छ । त्यहि भएर अबका दिनमा शिक्षा र तालिमलाई सँगसँगै लैजानु पर्ने जस्तो देखिएको छ । तालिमलाई पनि शिक्षालाई जत्तिकै महत्व दिनुपर्ने देखिएको छ । समयसँगै शिक्षा र तालिमका विषयवस्तु र लिने दिने प्रकृयामा पनि बदलाव चाहिएको छ । तसर्थ अहिलेको मुल प्रश्न शिक्षालाई के कसरी सान्दर्भिक र समयानुकल बनाउने भन्ने हो । शिक्षालाई सान्दर्भिक बनाउनका लागि यसलाई निरन्तर अध्यावधिक र बजारसँग मिल्ने बनाउनु परेको छ । यसका लागि धेरै विषयवस्तु पढाउने भन्दा पनि समय अनुसारका विषयवस्तु पढाउनु पर्ने देखिन्छ । यसका लागि केहि विषयहरु मुख्य आधारभूत विषय मानेर अनिवार्य गर्ने र बाँकी विषयहरु बजारको माग अनुसार थप गर्दै वा परिमार्जन गर्दै जानु पर्ने अवस्था अहिले देखिएको छ । शिक्षालाई उपभोगमूखी मात्र बन्न नदिनका लागि यस्तो प्रणाली अवलम्बन गर्नु आवश्यक देखिन्छ । 

शिक्षाले व्यक्तिमा न्यूनतम ज्ञान, सीप र समालोचनात्मक चेत विकास गरिरहनु पर्छ अनि मात्र अन्य पक्ष विकास गर्नुपर्छ भन्ने सिद्धान्तमा आधारित हुनुपर्ने देखिन्छ । शिक्षालाई बजारले मात्र निर्देशित गर्नु भनेको मुलुक विशेषमा रहेका मुल्य मान्यता र संस्कारहरु प्रभावशाली संस्कृतिको मारमा पर्ने हो । किनकी प्रविधिको विस्तार बलियाले छिटो गर्न सक्छन् । यसको असरबाट बच्नका लागि पनि केहि मुख्य विषय अनिवार्य गर्दै बाँकी विषय बजारले निर्देशित गरे अनुसार गर्न उपयुक्त हुन्छ ।   

लम्साल, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका सहसचिव हुन् । 

प्रतिक्रिया