शिक्षक पोशाकबारे


शिक्षकको पोशाक तोकिएको छ । सामुदायिक विद्यालयका शिक्षकलाई पोशाक वापत राज्यले विगतमा वार्षिक सात हजार पाँच सय रुपैंया उपलब्ध गराउँदै आएकोमा चालु आर्थिक वर्षबाट दश हजार रुपैंया उपलब्ध गराउने निर्णय बाहिर आएको छ । धेरैजसो शिक्षकले विद्यालयमा पोशाक लगाए पनि कतिपय विद्यालयका केहि शिक्षक तोकिएको पोशाकमा नदेखिने क्रम जारी नै छ । तोकिएको पोशाक नलगाउने शिक्षकहरुका बारेमा बैठक, भेला, गोष्ठी आदिमा मात्र नभई बजार, चोक, होटल लगायत सार्वजनिक स्थानमा समेत नकारात्मक टिप्पणी भएको पाइन्छ । 

यस अघि स्थायी शिक्षकलाई मात्र उपलब्ध गराइएको पोशाक भत्ता अस्थायी, राहत, स्थायी सबैलाई यसैवर्ष उपलब्ध भइसकेको छ । हुन त शिक्षक पोशाक प्रारम्भबाटै आलोच्य बनेकै हो । कपडाको रंग, बनौट र स्तरबारे पटक्कै ध्यान नदिई हचुवामा पोशाक तोक्ने काम भएको स्वीकार्नै पर्छ । महिला शिक्षकको हकमा तोकिएको कपडाको रंग र स्तर भने कमै आलोचना भयो, तर पुरुष शिक्षकको पोशाक खासगरी पाईण्टको बारेमा ज्यादा टिप्पणी भएकै हो । सर्ट पनि नौरंगी देखियो, डोराको आकारमा समस्या पाइयो । विद्यालयमा बहुरंगी कपडामा शिक्षक देखिए । यो समस्या नै बन्यो । निजामति सेवाका कर्मचारीमा कपडाको रंग सेतो र निलो हुँदा एकरुपतामा समस्या भएन । तर, शिक्षकका सवालमा एकरुपतामै समस्या भयो । 

स्थायी शिक्षकलाई मात्र पोशाक भत्ता दिएर व्यापक संख्यामा रहेका अस्थायी, राहत, करार तथा लियन शिक्षकलाई कुनै सम्बोधन भएको थिएन । यसरी भेदभावपूर्ण व्यवहार भएको भन्दै शिक्षक महासंघले शिक्षक पोशाकको अनिवार्यता नरहने घोषण गरी आन्दोलनको एउटा माग बनाएको थियो । हाल यो अवस्थामा सम्बोधन भएको कारणले केहि सकारात्मक बनेको स्थिति छ । अहिले धेरै शिक्षकले पोशाक बदल्न प¥यो भनेर दुईचार प्रसंग नउठेको होइन । शिक्षकका पेसागत संस्थाले पोशाक फेर्नको लागि पहल बढाउन जरुरी छ भन्ने आवाज शिक्षक बीचमा चर्चा चलेको छ ।

विद्यालयमा कर्मचारी हुन्छन्, उनीहरुलाई पोशाक आवश्यक छ भन्ने महसुस आजसम्म हाम्रो शिक्षा मन्त्रालयले गरेन । पोशाकको अर्थ एकरुपतासँग जोडिएको छ । विद्यार्थी, कर्मचारी, प्रहरी, सेना सबैको तोकिएको पोशाकले भिन्न परिचय दिएको हुन्छ । पेशागत रुपमा पोशाक तोक्नु थप पहिचान पनि हो । तर पोशाक तोक्दा ध्यान दिनुपर्ने पक्ष अत्यन्त महत्वपूर्ण बन्छ नै । कपडाको स्तर, बनौट, रंग, मूल्य, उपलब्धता आदिले हेराइमा फरक पार्न सक्छ । प्रत्येक व्यक्ति पिच्छे केहि न केहि अन्तर भएमा पोशाक तोक्नुको अर्थ रहँदैन । शिक्षकको पोशाक निर्धारण अत्यन्तै सतही र लापरबाही ढंगले भएको छ । 

पोशाक भत्ता प्रदान गर्नु एउटा पक्ष हो, तर पोशाक निर्धारणमा प्लेन कलरलाई प्राथमिकता दिइनु उपयुक्त देखिन्छ । डोरा भएको कपडामा एकरुपता प्रायः पाइदैन । अहिले कतिपय स्थानीय तहमा शिक्षक स्वयम्ले पोशाक निर्धारण गरी प्रयोग गरेको समाचार बाहिर आएको छ । पछिल्लो उदाहरण धादिङ जिल्लामा कतिपय स्थानीय तहले छुट्टै पोशाक व्यवस्था गरेको समाचार छ । यस्तै स्थानीय तह, जिल्ला, प्रदेश र संघमा समेत गरी भिन्न– भिन्न हुने क्रम बढेको अवस्थामा शिक्षक पोशाक झनै विवादास्पद बन्न सक्छ । 

सर्ट, पाईण्टको मात्र कुरा हैन, महिला शिक्षकलाई उपयुक्त हुनेगरी शिक्षक पोशाक निर्धारण हुनुपर्दछ । हालको शिक्षक पोशाक बदल्नै पर्छ । लगाएकाले बाध्यकारी भएर प्रयोग गरेका छन् भने लगाउन बाँकिहरु फेर्नै पर्ने अन्यथा लगाउन नसकिने भन्दै आएका छन् । शिक्षक पोशाक चर्चामा बारम्बार आएकै छ । यसतर्फ सम्बन्धित पक्षको ध्यान नपुगेको वा बेवास्ता गरिएको यथार्थताले पोशाक भत्ता निरर्थक बनेको तथ्य स्वीकार्नु पर्छ । खुसी भएर एकरुपता देखाउन, शिक्षकको परिचय पोशाकबाटै प्रदर्शन गर्न पनि शिक्षक पोाशकमै कक्षा जान आतुर छन् । वस्तुगत अवस्था र शिक्षकको भावनाको सम्मान गर्दै अविलम्ब शिक्षक पोशाक बदल्न पहल होस् भन्ने अपेक्षा गरिएको छ ।

बहुरंगी पोशाक, बहुरंगी लवाईले शिक्षक सिकाइ क्रियाकलापमा बाधा पुग्ने भएर नै विद्यार्थी पोशाकको व्यवस्था धेरै पहिलेबाट प्रचलनमा आएको हो । पछि यो समस्या शिक्षकमा पनि हुने र शिक्षकका पोशाकका कारणले पढाइ सिकाइमा समस्या रहने देखिएकाले शिक्षक पोशाक निर्धारणको काम भयो, तर पोशाकको छनौट भने कमजोर र शिक्षकको पहिचानलाई नै कलंकित बनाउने जस्तो कपडा तोकियो । जबकि निजामतिमा कार्यालय सहायक देखि मन्त्रालयका सचिवसम्मको एकै पोशाक देखिन्छ । शिक्षामा पनि विश्वविद्यालय तहसम्मका सबै शिक्षकलाई एकै रंगको पोशाक निर्धारण गर्न नसकिने त पक्कै हैन । यसतर्फ जानुपर्ने ध्यान अझै ओझेलमा छ । शिक्षण पेशामा रहने सबैको परिचय दिने गरी पोशाक तोक्न कठिनाई छैन । मात्र चासो र प्राथमिकतामा राखेर निर्णय लिन बाँकी छ । 

सबै शिक्षकले पोाशाकै लगाएर विद्यालय गए पनि विविधता देखिनुको कारण कपडाको बनावट र रंग नै हो । विद्यार्थी पोशाक निर्धारण गर्दा पनि विद्यालय पिच्छे छुट्टै गर्ने भन्दा कम्तीमा एउटा स्थानीय तह वा प्रदेश भर एकै पोशाक निर्धारण गर्नु उपयुक्त हुन्छ । पोशाकले सम्बन्धित पेशा र वर्गको परिचय दिने हुनाले यसलाई ठट्टा सोच्नु हुँदैन । 

निजी विद्यालयले ट्रयाकसुटलाई पोशाक तोकेर पछिल्लो चरणमा थप नाटक प्रदर्शन गरेका छन् । त्यो त खेल खेल्न फिल्डमा जाँदा लगाउने पोशाक हो । कक्षा कोठामा उपयुक्त हुँदैन । विद्यार्थीको औपचारिक पोशाकलाई आफ्नो सहजतामा ट्रयाकसुटमा बदल्नु कति राम्रो हो ? यसमा सरोकारवर्ग मौन रहनु थप विकृति प्रतिको सहमति बन्न सक्छ । 

तसर्थ शिक्षक विद्यार्थीको पोशाकबारे हाम्रा स्थानीय तह, प्रदेशको सम्बन्धित मन्त्रालयको ध्यानाकर्षण हुनु जरुरी छ । जथाभावी पोशाक पहिरनले व्यक्ति र संस्थाको सन्देश राम्रो जाँदैन । यसतर्फ जिम्मेवार व्यक्ति र संस्थाले गम्भीरताका साथ निर्णय गर्नु आवश्यक छ । 

लामिछाने वंशगोपाल मावि हेटौंडा, मकवानपुरका प्रधानाध्यापक हुन् ।