Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

विश्वविद्यालयको किचलो उस्तै : आर्थिक र प्रशासनिक काम प्रभावित

मंगलबार, २९ माघ २०७५

काठमाडौं २९ माघ / आफू पदाधिकारी हुँदा ठीक, अरू भए बेठीक भन्ने मानसिकताले पूर्वाञ्चल विश्वविद्यालयमा सधैं किचलो छ । पदाधिकारी र कर्मचारी नियुक्ति गरिँदा अवसर नपाउनेले हरेक पटक ताला लगाउँदै आएका छन्
त्यसैको निरन्तरता यसपटक सहरजिस्ट्रार र २ डिनको नियुक्तिमा माघ पहिलो साता विश्वविद्यालयका प्राध्यापकले लगाएको ताला अझै खुलेको छैन । कर्मचारीले लगाएको ताला भने दुई सातापछि खुलेको थियो ।

विश्वविद्यालयले समन्वय महाशाखा प्रमुख राजेश झालाई सहरजिस्ट्रार तथा डिनमा गोपाल शर्मा र कोमल दुलाललाई नियुक्त गरेको थियो । प्राध्यापकले उपकुलपति घनश्यामलाल दास, रजिस्ट्रार प्रमिला थापा, सहरजिस्ट्रार झाको कार्यकक्ष, प्रशासन र लेखामा ताला लगाएका थिए ।

यसले विश्वविद्यालयको सबै काम प्रभावित भएको छ । उपकुलपति दासको कार्यकाल अब ७ महिनाबाँकी छ । प्राध्यापकहरूको तालाबन्दी उनकोउत्तराधिकारीमा बार्गेनिङका रूपमा हेरिएको छ ।

उनीहरूले उपकुलपतिसहित पदाधिकारी विश्वविद्यालय भित्रबाटै हुनुपर्ने माग गर्दै आएका छन् । अघिल्ला उपकुलपतिको नियुक्तिमा पनि कार्यालयमा लामो समय ताला लागेको थियो । उक्त समस्या सुल्झाउन व्यवस्थापन क्याम्पस प्रमुख बिजु थपलिया संयोजकत्वमा वार्ता टोली गठन गरेको थियो ।

उक्त समितिसँग प्राध्यापकहरूको वार्ता नगर्ने अडानका कारण केही भएको छैन । थपलिया संयोजक रहेको समितिले भने कर्मचारीका पक्षबाट लगाइएको ताला खुलाएको थियो । विश्वविद्यालयले दर्जन बढी कर्मचारी सरुवा गरेको थियो । उक्त सरुवा स्थगित गरेपछि कर्मचारीले ताला खोलेका थिए ।

थपलिया टोलीसँग प्राध्यापकहरूले वार्ता गर्न नमानेपछि चिकित्साशास्त्रका डिन शैलमणि पोखरेल संयोजकत्व टोलीले वार्ता पहल भइरहेको उपकुलपति दासले बताए । तर, वार्ता भने हुन सकेको छैन ।

तालाबन्दीसँगै प्राध्यापक संघ पनि विभाजित भएको छ । बहुमत प्राध्यापकले संघ अध्यक्ष नरेश साहलाई अल्पमतमा पारेर सन्देशदास श्रेष्ठको संयोजकत्वमा तदर्थ समिति गठन गरेका छन् ।

कान्तिपुरमा प्रकाशित 

प्रतिक्रिया