Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

योग्यता र तालिममा शिक्षक अब्बल, सिकाइ छैन सन्तोषप्रद !

बुधबार, ०१ फागुन २०७५

नेपालका सामुदायिक विद्यालय हाल सङ्गीन मोडमा उभिएका छन् । सामुदायिक विद्यालयमा घट्दो विद्यार्थीको चाप झट्ट हेर्दैमा देखिने प्रभाव हो भने विद्यार्थीको सिकाइ उपलब्धिको स्तरले सार्वजनिक शिक्षा सुधारमा धेरै काम गर्नु पर्ने खाँचो औँल्याईरहेको छ । तर विडम्वना, जति धैर्यता, विज्ञता र दक्षताका साथ सार्वजनिक शिक्षा सुधारका बारेमा छलफल र विचार बिमर्श हुनुपर्ने हो त्यसमा अभाव खड्केको छ । 

शिक्षाको गुणस्तरको पहिलो मापन कक्षा कोठाबाटै हुन्छ । कक्षा कोठाको मुख्य व्यक्ति शिक्षक नै हो । सरकारी निकायले नै सार्वजनिक गरेका तथ्याङ्कहरुले  सामुदायिक विद्यालयमा कार्यरत शिक्षकहरु तालिम प्राप्त रहेको देखाउँछ । यति मात्रै हैन शिक्षक सेवा आयोगद्वारा विभिन्न समयमा खुलाईएका विज्ञापनमा आवेदन दिने अधिकांश उम्मेद्वारको योग्यता स्नातकोत्तर उतीर्ण भएको पाइएको छ । योग्यता र तालिम  दुबैमा अव्बल शिक्षकहरुद्वारा हुने पठन पाठन किन सन्तोषप्रद छैन ? मुख्य प्रश्न यो हो । अर्थात् सामुदायिक विद्यालयको शिक्षक परिचालन एवम् व्यवस्थापनमा ठूलो प्रश्न चिन्ह खडा भएको छ । 

मानवीय साधनको परिचालनमा अङ्ग्रेजीको चारवटा E's लाई ध्यान दिनुपर्ने हुन्छ । पहिलो Economy (मितव्ययिता), दोस्रो Efficiency (दक्षता), तेस्रो  Effectiveness (प्रभावकारिता) र चौथो Equity (समानता) । तर हाम्रो सामुदायिक विद्यालयहरुमा यसको खासै ख्याल गरेको पाईदैन । कतै दरबन्दी अभाव त कतै फालाफाल दरबन्दी ! कतै विषयगत शिक्षकको अभाव त कतै एउटै विषयको शिक्षकहरुको बाहुल्यता ! कोही शिक्षकले अध्यापन गरेका विषयमा हरेक वर्ष उच्च सिकाइ उपलव्धी हासिल हुने त कोही शिक्षकको विषयमा हरेक वर्ष न्यून सिकाइ उपलव्धी ! कोही धेरै वर्ष स्रोत साधन र सुविधा सम्पन्न विद्यालयमा कार्यरत त कोही दूरदराजको अभावै अभावले ग्रस्त विद्यालयमा मात्र बस्नुपर्ने वाध्यता ! व्यवहारमा भईरहेको यस्ता कुराहरुले पनि माथिको सिद्धान्तलाई  गिज्याईरहेको देखिन्छ । 

एक त शिक्षकको बढुवा नै हुन मुस्किल, बढुवा नै भई हाले पनि विद्यालयमा दिलोज्यानले शिक्षण गर्ने भन्दा पनि सम्बन्धित व्यक्ति वा निकायको वरिपरि घुमिरहनेहरु मात्र हुने, नेतृत्व वा अन्य कुनै अवसर आएमा योग्यता, क्षमता, पेशागत दक्षता एवम् दूरदर्शिता भन्दा पनि जेष्ठता, निकटता, भौगोलिकता,  भागबण्डा, सिफारिस, मोलाहिजा आदिले निर्णायक स्थान प्राप्त हुने अवस्थामा समानताको खिल्ली उडाइरहेको भान हुन्छ । 

दरबन्दी मिलान, विषय मिलान, तह मिलान, सरुवा जस्ता कुराहरुको चर्चा र कतै कतै व्यवहारमा नै फाट्टफुट्ट  रुपमा देखिएता पनि ठोस मानक र नीतिको अभावमा फितलो नै भइरहेको छ । सामुदायिक विद्यालयको सुधार र विकासको लागि प्रारम्भिक चरणमा शहरी वा तुलनात्मक रुपमा सुविधा सम्पन्न विद्यालयको वैज्ञानिक रुपमा छनौट र वर्गीकरण गरी शिक्षकहरुको व्यवस्थापन निम्नानुसार गर्न सकिन्छ  :

शिक्षकहरुको टीम व्यवस्थापन मोडेल

क) शिक्षक सेवा आयोगद्वारा सैद्धान्तिक, व्यावहारिक, नेतृत्व क्षमता आदि जस्ता विषयको परीक्षणमा सफल हुने शिक्षकलाई प्रधानाध्यापक छनोट गर्ने । 

ख) प्रधानाध्यापकहरुलाई मेरिट बेसिसमा विद्यालय छनौट गर्न लगाई विद्यालय व्यवस्थापन समितिको समन्वयमा अधिकार सम्पन प्रधानाध्यापकको रुपमा जिम्मेवारी दिने ।

ग) तोकिएको विद्यालयमा नियुक्त प्रधानाध्यापकले तोकिएको समय सीमा निर्धारण गरेर सार्वजनिक सूचना प्रकाशित गरी तहगत र विषयगत, समावेशी (महिला र पुरुष) ढङ्गले खुला प्रतिस्पर्धात्मक वा स्वेच्छिक रुपमा शिक्षकहरुको टीम छनौट गर्ने ।

घ) छनोट भएका शिक्षकहरुको टीमलाई सम्बन्धित निकायले तोकिएको विद्यालयमा सेवा गर्न अनिवार्य रुपमा सरुवा गर्ने  ।

ङ) प्रधानाध्यापकलाई विद्यालय विकास प्रस्ताव सहित सम्वन्धित निकायले र शिक्षकहरुलाई प्रधानाध्यापकले तोकिएको ढाँचामा करार गराउने ।

च) करार बमोजिम कार्य नगरेमा जुनसुकै समयमा सरुवा तथा अन्य कार्वाही गर्ने अधिकार शिक्षकको प्रधानाध्यापकलाई र  प्रधानाध्यापकको सम्बन्धित निकायलाई हुने ।

छ) शिक्षकको कार्य सम्पादन मूल्याङ्कनमा विद्यार्थीको सिकाइ उपलव्धी र प्रधानाध्यापकको कार्य सम्पादन मूल्याङ्कनमा शिक्षकहरुको औसत उपलब्धिको महत्वपूर्ण स्थान हुने । 

ज) शिक्षकहरुको टीमले विद्यालयको सेवा क्षेत्रको अध्ययन अनुसन्धान गरी उपयुक्त शैक्षिक प्रणाली लागू गर्ने । प्राविधिक तथा व्यावसायिक शिक्षामा जोड दिने ।

चुनौति र समस्याहरु 

यस मोडेल अनुसार सामुदायिक विद्यालयहरुमा शिक्षकहरुको व्यवस्थापन गर्दा निम्नानुसारको समस्या र चुनौतिहरु हुन सक्नेछन् :

क)  शिक्षकहरुको छनौटको लागि श्रम, समय र बजेट व्यवस्थापन ।

ख) खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्दा आपसी सामञ्जस्यता मिलाउन समय लाग्ने वा व्यक्तिगत विविधतालाई व्यवस्थापन गर्न समय लाग्ने ।

ग) संविधान, ऐन, कानुन र नियमावलीहरुमा भएका व्यवस्थाहरुसँग तालमेलको समस्या ।

घ) विद्यालयको सेवा क्षेत्र, अभिभावकको अपेक्षा, विद्यार्थीको अवस्थाको बारेमा अध्ययन एवम् अनुसन्धान गर्न ।

ङ) उक्त तोकिएको विद्यालयमा उत्कृष्ट सिकाइ उपलव्धी हासिल भयो वा भएन भन्ने कुराको मूल्याङ्कन गर्ने वैज्ञानिक आधार तय गर्न ।  

च) स्थानीय व्यक्तिहरुको सक्रिय सहयोग, विश्वास र सकारात्मक भूमिका आर्जन गर्न ।

सम्भाव्यता र उपलव्धी 

क) शहरी तथा सुविधा सम्पन्न विद्यालयमा शिक्षकहरुको आकर्षण बढ्दो रुपमा रहेको हुनाले सापेक्षिक रुपमा उर्जावान र क्षमतावान शिक्षकहरु उक्त टीममा स्वत ः स्पूmर्त रुपमा समावेश हुनेछन् ।

ख) यस प्रकार उक्त विद्यालयको विकासको लागि नै भनेर बनेको शिक्षकहरुको टीमले आफुलाई केही गरेर देखाउने कुरालाई प्रमाणित गर्नको लागि हरसम्भव प्रयास गर्नेछ ।

ग) शिक्षकहरुको कार्य सम्पादन मूल्याङ्कनमा विद्यार्थीको सिकाइ उपलब्धि र प्रधानाध्यापकको कार्य सम्पादन मूल्याङ्कनमा शिक्षकको औसत उपलब्धिको महत्वपूर्ण स्थान हुने व्यवस्थाले सबै पक्ष आ–आफ्नो क्षेत्रमा पूर्ण रुपमा क्रियाशील रहनेछन् ।

घ) उक्त शिक्षकहरुको टीमले सम्बन्धित विद्यालयको सेवा क्षेत्रको अध्ययन र अनुसन्धान गरी उपयुक्त शैक्षिक व्यवस्था सहित नीति अवलम्वन गर्नाले विद्यार्थीको आकर्षण बढ्नेछ ।

ङ) विद्यालय, विद्यार्थी, अभिभावक तथा सम्बन्धित निकायहरुको पारस्परिक समन्वय र सहयोग आदानप्रदानले विद्यालयमा उपयुक्त शैक्षिक तथा भौतिक वातावरण निर्माण गर्न सकिनेछ ।

च) विद्यार्थीले हासिल गरेको सिकाइ उपलव्धी र अभिभावकहरुको सन्तुष्टी नै मूल्याङ्कनको मुख्य आधार भएको हुनाले त्यस तर्फ विद्यालय परिवार सदैव लगनशील र चिन्तनशील रहने हुँदा विद्यालयको शैक्षिक गुणस्तर वृद्धि हुनेछ ।

छ) स्थानीय तथा राष्ट्रिय आवश्यकता, अभिभावकको चाहना र विश्व परिवेशलाई मध्य नजर गरी उपयुक्त शिक्षा प्रणाली लागू गर्ने हुँदा दक्ष जनशक्ति उत्पादनमा टेवा पुग्नेछ ।

सामुदायिक विद्यालयको विकास विना समग्र राष्ट्रको विकास र समृद्धिको परिकल्पना मात्र पनि गर्नु युक्तिसङ्गत हुन सक्दैन । त्यसैले सामुदायिक विद्यालयको विकासको लागि केही गर्ने र गराउने जोश, जाँगर तथा क्षमता भएका शिक्षकहरुलाई अवसर दिलाउन र यथास्थितिमा रमाउने अनि परिवर्तनलाई आत्मासाथ गर्न नरुचाउने शिक्षकहरुले विस्तारै मैदान खाली गराउने वातावरण निर्माण गर्न पनि शिक्षक व्यवस्थापनको वैज्ञानिक एवम् नतिजामुखी मोडेल निर्माण गर्न अति आवश्यक छ । देशमा हाल विद्यमान सैद्धान्तिक शिक्षालाई पूर्ण रुपमा पेशा, व्यवसाय र प्रविधिमा आधारित शिक्षामा रुपान्तरण गर्न कति पनि ढिला गर्नु हुन्न । शिक्षा नै विकासको मूल आधार भएको हुनाले राष्ट्रको मुख्य लगानी शिक्षामा केन्द्रीत हुनु पर्दछ ।

लामा पाटन माध्यमिक विद्यालय, पाटनढोका,  ललितपुरका शिक्षक हुन् । 

प्रतिक्रिया