Edukhabar
बुधबार, १२ बैशाख २०८१
विचार / विमर्श

अबको पुस्तक

शनिबार, ०४ फागुन २०७५

शिक्षा साहित्य अन्तरगत यो साता शिक्षक पाण्डेको कविता :

अक्षरहरु नभएका
पेज र पेज नम्बर बिहीन
अबको पुस्तकमा
प्रयोगशाला बनाएर
धारा विद्युत बगाएर
यन्त्रहरु चलाएर
फसल र पसलको कारोबार गर्दै
गन्तब्यसँग साक्षात्कार होस ।

अबको पुस्तकमा
आफ्नै पैतालाले भूगोल नाप्दै
सञ्जीवनी पत्ता लगाउने
बालकको खजना प्राप्त गर्न
कार्यहरुको स्वमानसिक चित्र अनुसार
निरन्तर अभ्यासहरु होस् ।

अबको पुस्तक
गेट र पर्खालहरु भत्काएर
जेललाई तोडेर
स्वनियम र विधि अनुसार
विशाल क्षेत्रफलमा
आमाको न्यानो काख जस्तै
स्वर्ग बनोस् ।

अबको पुस्तक
बिपश्यनाको प्रयोग गर्दै
शरीर, हृदय र मस्तिष्क एकीकृत गरी
स्वनिर्देशित अभ्यास गराउने
मौलिकताको खानी प्रकृति जस्तै
सुन्दर र शाश्वत बनोस् ।

अबको पुस्तकमा
जिज्ञासाहरुको समाधान खोज्न
सृजनाहरु उमार्न
रुचि अनुसार औजार समाएर
लक्ष्य चुमोस्
र सन्तुष्टि प्राप्त गरी
स्वअनुभव र अनुभूतिहरु रमाओस् ।

पुस्तकले बालकलाई पढेर
आफ्नो बाटो आँफै खन्दै
ब्रह्माण्ड जस्तै फैलिएर
जीवनको गहिराईमा पुगी
एक एक रहस्य खोलोस् ।

अबको पुस्तकमा
रित्तो गोजी
र भोको पेटले दिने भन्दा
गतिलो पाठ होस् ।

अबको पुस्तकमा
विज्ञान र गणितका
सुत्रहरु मात्र होइन
गिता र ऋचाका मन्त्रहरु
परा र अपरा विद्या
शरीर र आत्मा
जगत र ब्रह्मको
अनुभुति होस् ।

अबको पुस्तक
देशको सीमालाई नाघेर
ज्ञानको अनन्तलाइ छुनेगरी
संसारको हितमा
हृदयको बिशालतामा
प्रेमलापको अनुभूति जस्तै
आनन्दमय होस् ।

अबको पुस्तकले
सुनको कसलाई घोटेर
दियोमा तेल भरेर
ब्रह्माण्ड उज्यालो पारोस्
खेतमा किसानका खुशी फूले सरी
बालकको रहर फूलोस् ।

पाण्डे सुनपकुवा माध्यमिक विद्यालय, उर्लाबारी, मंगलबारे मोरङका शिक्षक हुन् ।

प्रतिक्रिया