Edukhabar
शनिबार, ०८ बैशाख २०८१
विचार / विमर्श

सिकाइको संसारमा बहुबौद्धिकताको चर्चा

आइतबार, ०५ फागुन २०७५

बोल्नेको पिठो बिक्छ । नबोल्नेको त चामल पनि बिक्दैन । त्यसो त पिठोलाई पनि  मीठो चाहिँ भान्छेले बनाउँछ । आजको त्यो भान्छे हो गुरु । सिकाइ स्वादिलो खाना हो । त्यो खाना पकाएर अनि पस्केर गुरुले दिन्छन् । सङ्गत गुनाको बुद्धि । रुख गुनाको फल । सुन्तला रोपे सुन्तला फल्छ । कागती रोपे कागती । 

अँध्यारोबाट उज्यालोतर्फ लैजाने मान्छे हो गुरु । गुरुले धेरै बोल्ने दिन गए । पेल्ने दिन पनि गए । खेल्ने दिन आए । मिल्ने र मिलाउने दिन आए । बच्चाहरूको कच्चा दिमागमा सच्चा हातले छुन सके मात्र त्यो गुरु ठहर्छ । नत्र गुरु आफैँ गोरु बन्न बेर लगाउँदैनौँ । डाक्टरले बिगारे एउटा बिरामी मर्ला । तर गुरुले बिगारे सैयौँ बालबालिकाहरू मर्छन् । एउटा युग मर्छ । मरेर जानुभन्दा जिउँदै मर्नु कठिन छ  । हो, त्यसैले त गुरुले सिक्ने र सिकाउने शैलीमा नयाँपन दिनुपर्छ । यही नयाँपन नै कला हो । सिर्जना हो । विज्ञान र कलाको जब मेल हुन्छ तब सिकाइ रमाइलो खेल हुन्छ । खेलमा खेल्न त जो पनि चाहन्छन् । सिकाइलाई यही खेल बनाउने हो । 

सिकाउनु भनेको निष्प्राणमा प्राण भर्नु हो । यो त सुन्दर कला हो । हातमा राम्रा प्रमाणपत्र भएर मात्र पुग्दैन । झेली नगरी खेलीखेली सिकाउने पो सिकाउने । अरू त होइनन् सिकाउने । हुन् सकाउने । अनि हुन् छकाउने । र हुन्, राजाको काम कहिले जाला घाम भनी जागिर पकाउने । तब त सिकाउने शैलीमा सुन्दरता भर्नुपर्यो । सिकाइको बगैँचामा बासना छर्नुपर्यो । युद्धमा होमिएको वीर सिपाही जस्तो बनेर नयाँनयाँ सिकाइका उपाय गर्नुपर्यो । हुवार्ड गार्डनरले भने झैँ बहुबौद्विकताको गाँठो फुकाउनुपर्यो । 

हुवार्ड गार्डनरको बहुबौद्धिक सिकाइ गार्डेनमा सबै बालबालिका नवरङ्ग फूल ठानिन्छन् । ती फूल सिर्जनाका मूल हुन् । सौन्दर्यका मुहान हुन् । शिक्षकले तिनलाई फुलाउन मलजल गर्ने हो । बाटो देखाउने हो । माटो जोखाउने हो । बाठो बनाउने हो ।

गार्डनरको सिकाइ संसार अनेकतामा एकता हो । वैयक्तिक भिन्नताको कथा हो । जसरी मान्छेको औँठा छापमा भिन्नता छ त्यसरी नै सिकाइ क्षमतामा भिन्नता छ । प्रतिभामा भिन्नता छ । हेराइमा भिन्नता छ । हाम्रा अङ्गअङ्गले खेल्ने भूमिकाबाट हाम्रो प्रतिभा बाहिर आउँछ । मान्छेभित्र सिर्जनाका हजारौँ नदीहरू बग्छन् । वैयक्तिक भिन्नताको सागर छचल्किन्छ । त्यो सागर सतहमा ल्याउने वातावरण विद्यालयले बनाउनुपर्छ । बालकको खुसीलाई मनाउनुपर्छ ।  विविधताका अनेक फूलहरू फुल्छन् । त्यही फुलबारीमा टेकेर शिक्षकले  प्रत्येक विद्यार्थीको फरक क्षमतालाई माथि उठाउनुपर्छ । 

सिकाइमा एउटा उक्ति छ । रामलाई पढाउनु अघि उसलाई पढ्नु पर्छ । नत्र राम हराम बन्न सक्छ । यही उक्तिलाई कक्षाकोठामा जुक्ति लगाएर हाल्नुपर्छ । ऊ भित्रको प्रतिभा बाल्नुपर्छ । पूर्वीय दर्शनमा पनि प्रतिभा, व्युत्पत्ति र अभ्यासलाई सिर्जनाको शक्ति मानेको छ । यो उत्तरआधुनिक परिवेशमा पूर्वीय र पश्चिमा दर्शन फ्युजन हुन्छ । यो ज्याक्स डेरिडाको विनिर्माणवाद जस्तो हो । सग्लो रचना हुँदैन । रचनामा रचना गर्ने हो । मौलिकता आफ्नो छर्ने हो । आयामेली होस् या लीला लेखन। प्रयोगवाद हुन् या प्रतीकवाद । अस्तित्ववाद होस् या विसङ्गतिवाद । विविध आयाममा पनि सिकाइको याम सुरु हुन्छ ।

गार्डनरको नै कुरा गरौँ न । उनले बजाएको बहुबौद्धिकताको बाँसुरी भगवान श्रीकृष्णले संसार लट्ठ्याउन बजाएको जस्तो पो छ । सुन्दा नै लट्ठिने । हामीले पनि यस्तै बाँसुरी बजाउने हो । त्यो पनि बहुबौद्धिकताको बाँसुरी । कक्षाकोठालाई ज्ञानको, ध्यानको अनि ज्यानको कोठा बनाउने हो । प्राण भर्ने हो । बासना छर्ने हो । 

गार्डनरले भने झैँ भाषामा रम्छ भने भाषामा रमाउन दिनुपर्छ । भाषा आफैँमा शक्ति हो । पूर्वीय दर्शनमा ऋषिमुनिहरुले भाषाको शक्ति प्रयोग गरेर आफूलाई ब्रम्हर्षि  पनि बनाएका थिए । जप र ध्यान मिलाएर भाषालाई पवित्र साधन बनाएर तिनले अनेक चमत्कार गरे । त्यसो त पश्चिमा संस्कृतिमा पनि भाषाको महिमा ठूलै छ । सपिर र होर्फले भाषा र समाजबीच ठूलो सम्बन्ध खडा गरे । भाषाले नै जीवन र जगतप्रतिको विचार निर्धारण गर्छ भनेर ठोकुवा गरे । रचनावादी  मनोविज्ञानले भाषा सिकाइको मुख्य हतियार माने । संज्ञानवादी नोम चम्स्कीले त बालक जन्मदा नै भाषा प्राप्ति संयन्त्र अर्थात् ल्याड बोकेर आउँछ भने । यसरी भाषा सिकाइको शक्ति ठहरियो । सबैमा यो शक्ति नहुन सक्छ । तसर्थ भाषिक क्षमता हुनेहरूलाई भाषा खेलाउन दिनुपर्छ । मेरो गोरुको बाह्रै टक्का तालले शिक्षकले लाद्न हुँदैन । बालकको भाषिक क्षमतालाई साहित्य र कलाबाट बाहिर निकाल्नुपर्छ । उक्लन खोजे उकाल्नुपर्छ । नाच्न खोजे नचाउनुपर्छ । हाँस्न खोजे हँसाउनुपर्छ । शिक्षक चाहिँ मगमग बसाउनु पर्छ । ’बासना चल्यो सुस्तरी मनै हरर’ हुनुपर्छ ।

गार्डनरले तर्कलाई अर्को क्षमता माने । भाषा म्याजिक हो । तर्क चाहिँ लजिक हो । यसले गणितलाई बोक्छ । प्रत्येक वस्तुलाई जोख्छ । तर्कमा तर्न खोजे गणित समाउन दिनुपर्छ । तर्क विज्ञानको छडी हो । सत्य परख गर्ने कडी हो । यही कडीले घडी बनाउँछ । जन्मदा नै कोही पाइथागोरस या आइनस्टाइन हुँदैनन् । तिनलाई हुने बनाउन शिक्षकले वातावरण निर्माण गर्नुपर्छ । बालकलाई सिङ्गो पढ्नुपर्छ ।

शरीरलाई चालमा चलाउने क्षमता पनि अर्को बौद्धिकता हो । यसलाई प्रयोग गर्ने कोही खेलाडी बन्छन् । कोही नृत्यकार बन्छन् । कोही मूर्तिकार बन्छन् । फुर्ती ननिकाली त केही पनि हुँदैन । त्यसो त सिकाइ रमाइलो खेल हो । गार्डनरले त झन् मानिससँग खेल र शारीरिक चालको क्षमता पनि हुने कुरा गरेका  छन् । त्यसैले हाम्रो पाठ्यक्रम यस्तो हुनुपर्छ कि पढ्नेलाई पढ्न दिनुपर्छ । गर्नेलाई गर्न दिनुपर्छ । खेल्नेलाई खेल्न दिनुपर्छ । तर हामी किन खेलिस् तैँले भन्ने पाठ्यक्रम सिकाउँछौँ। तसर्थ हामी खेलाडी या सर्जन डाक्टर उत्पादन गर्न असमर्थ छौँ । नृत्य त हाम्रा लागि नाच्न नजान्ने आँगन टेढो हुन्छ ।

गार्डनरले चित्र बनाउनुलाई पनि अर्को क्षमता मानेका छन् । हाम्रा बालबालिकाहरुले पनि मोनालिसा बनाउन सक्छन् । भिञ्ची हुन सक्छन् । पिकासोलाई छुन सक्छन् । एउटा चिनियाँ उखान छ, ’हजारौँ शब्दले व्यक्त नगरिने काम एउटा चित्रले गर्छ । चित्र सिर्जनाको अर्को सुन्दर आकाश हो जहाँ हजारौँ सिर्जनशील चराहरू उड्न सक्छन् । बालकहरू त झन् चित्रमा विचित्र जीवन देख्छन् । बाँदललाई हेरेर मनमा मादल बजाउँछन् । रुख विरुवा देखेर केके सोच्दै लजाउँछन् । तब त चित्रमा प्राण छ । हामी यही चित्र पुजेर भगवानलाई भेटेको अनुभूति गर्छौँ । मनको तरङ्गमा उमङ्ग भर्छौँ । त्यसैले त चित्र प्राण हो । जीवन हो । र दर्शन हो । सिकाइमा ठोस वस्तु र चित्रको कत्रो मूल्य छ । त्यसैले त चित्र अमूल्य छ ।

गार्डनरले बालकमा पाइने अर्को क्षमता सङ्गीतमा देखे । सङ्गीत मन नपराउने को पो होला र ? चरा मुसालाई पनि सङ्गीत मन पर्छ रे । बोटविरुवालाई सङ्गीत बजाउँदा ती चाँडै हुर्कन्छन् रे । विज्ञानले यसलाई मानिसक्यो । ज्ञानको अर्को क्षेत्र ठानिसक्यो । कक्षाकोठामा सङ्गीत मिलाएर अनि गीत गाएर पढाउने हो भने कुन बालक स्कुल नजाला र ! कक्षाकोठामा किन नरमाउला र ? ऊसँग माइकल ज्याक्सन बन्ने क्षमता हुन्छ । बिथोभिन बनेर संसार मन्त्रमुग्ध बनाउन सक्छ । त्यसैले त सङ्गीतमा झुम्नेलाई सङ्गीत चुम्न दिनुपर्छ । बरु बेलैमा विषयवस्तुलाई सङ्गीतले पवित्र बनाएर बुन्ने कि ? हाम्रै कक्षाकोठामा उभिएका सङ्गीतकारहरू चिन्ने कि ?

गार्डनरको अर्को सिकाइ क्षमतामा प्रकृति पर्छ । यो प्रकृति त झन् रहस्यमय छ । यो हाम्रो बलबुतामा चल्दैन । त्यसैले प्रकृति ईश्वर हो । यही रहस्यलाई मानेर रुसो जस्ता प्रकृतिवादीहरूले प्रकृतिमा फर्क नारा लगाए । तर हामी प्रकृतिलाई नर्क बनाउँदै छौँ । हाम्रा स्वार्थ रोपेर अनि भिरपहरा खोपेर । माटोमाटो जोखेर । प्रकृतिलाई भागबन्डा लगाएर खाँदै छौँ । तसर्थ बालकको प्रकृतिप्रतिको रुचिलाई कक्षाकोठामा सम्बोधन गर्नुपर्छ । प्रकृति नै सिकाइको थलो हो । प्रकृतिमा  सयपत्री फुलाउने हो । बालकलाई संसार डुलाउने हो । रहस्यको पर्दा खुलाउने हो । घुम्नेलाई घुम्न दिनुपर्छ । कृषि होस् या वन । हिमाल हुन् या ताल । प्रकृतिको तालमा तिनलाई नाच्न दिनुपर्छ । स्वतन्त्र बाँच्न दिनुपर्छ । एक्लै हाँस्न पनि दिनुपर्छ ।

त्यसो त बालक समाजको हिस्सा हो । यही हिस्सामा उसले सिकाइ किस्सा जोड्छ । समाजसँग अन्तरक्रिया गर्ने क्षमता पनि त प्रतिभा हो । यसले बोल्नेको पिठो बिकाउँछ । समाजमा दह्रोसँग टिकाउँछ । गरेर खान पनि त सिकाउँछ । बोल्ने नै संसारमा ठूला नेता बनेका छन् । नेपोलियन हुन् या विस्मार्क । मार्टिन लुथर किङ हुन् या अब्राहम लिङ्कन। तिनले बोलेर आफूलाई अब्बल देखाए । इतिहासमा नाम लेखाए । नेपालमा पनि बोल्ने नेताहरूले नै राज्यमा शान, मान र गान पाएका छन् । बोलीले समाजमा घुल्न सिकाउँछ । समुदायमा फुल्न सिकाउँछ । गाउँघरमा डुल्न सिकाउँछ । त्यसैले त यो अर्को बौद्धिकता हो । मान्छे त झन सामाजिक प्राणी हो । जसले समाज बुझ्छ उही समाजको हिरो हुन्छ । एक्लै बाँच्न खोजे जिरो हुन्छ ।

गार्डनरले  यही बौद्धिकताको पहाडमा अर्को झण्डा गाडेका छन् । अन्तर्मुखी क्षमता छाडेका छन् । अन्तर्मुखी चिन्तन नै दर्शनको ढोका हो । यही ढोकाबाट प्लेटो निस्के । अरस्तु निस्के । होमर हुन् या रवीन्द्रनाथ ठाकुर । कालिदास हुन् या नित्से । टालस्टाय हुन् या लुसुन । शङ्कर लामिछाने हुन् या भैरव अर्याल । तिनले यही अन्तर्मुखी प्रतिभालाई चिन्तनको चौतारी बनाए । साहित्य र दर्शन खन्याए । मार्क्सदेखि देवकोटासम्मले संसारलाई मज्जाले पिए । आफ्नै तालले जिए । तिनको जिन्दगी पो जिन्दगी । हाम्रो जिन्दगी त दामको पछि लाग्ने जिन्दगी । हामको जिन्दगी । बाँच्ने जोहो गर्दागर्दै बाँच्न सक्दैनौँ । मौका आउँदा पनि नाच्न सक्दैनौँ । अनि भन्छौँ, 'थुइक्क जिन्दगी' ।

गार्डनरले पहिल्याएको अर्को क्षमता हो अस्तित्वबोध । यसले व्यक्तिको सर्वोच्चता मान्छ । जन्मदा नै मानिसले मृत्युपत्रमा सही गरेर आएको ठान्छ । जे गर्छौँ त्यसको फल पाउँछौँ । जीवन र मृत्युप्रतिको अध्ययन यसको क्षेत्र हो । जाँ पाल सार्त्र, किर्केगार्ड, कामु जस्ताले अस्तित्वको खोजी गर्न सिकाए । हाम्रै पारिजात दिदीले शिरीषको फूलमा अस्तित्वको  खोजी गरिन् । कक्षाकोठामा बालकलाई केन्द्रमा राख्न यसले सिकायो । अस्तित्व  स्वको खोजी हो । फाटेकै भए पनि आफ्नै कोटको गोजी हो । प्रत्येक व्यक्तिले प्रत्येक विषयलाई आफ्नो आँखाले हेर्छ । अस्तित्वको खोजीमा बालकले कक्षाकोठामा विद्रोह गर्न खोज्छ । घरमा विद्रोह गर्न खोज्छ । यो अस्तित्वको लडाइँ हो। बौद्धिकताको पारो हो । कसैलाई जति चढ्यो उति चढ्ने चाहना हुन्छ । कसैलाई जति पढ्यो उति पढ्ने चाहना हुन्छ । जो जेमा रमाउँछ त्यो उसको अस्तित्वको बोध हो । तर समाज,मूल्य र कर्तव्यबाट कोही उम्कन हुँदैन । सिकाइले गुण र दोष छुट्याउने अन्तर्दृष्टि प्रदान गर्छ । अनि गहन प्रश्न गर्ने साहस यही अस्तित्वमा टिकेको हुन्छ ।

गार्डनरको बहुबौद्धिकतालाई कक्षाकोठामा खोज्नुपर्छ । विविध सिकाइ सामग्रीहरू रोज्नुपर्छ । प्रत्येक विद्यार्थीले किन गल्ती गर्यो भनी सोच्नुपर्छ । अनि मात्र व्यवहारमा परिवर्तन आउँछ । आफूले चाहेको कुरो उसले पाउँछ । कक्षाकोठा बालकको सर्वोच्चतामा बुन्नुपर्छ । उसका इच्छा र आकांक्षाहरू त्यहाँ उन्नुपर्छ । शिक्षकले ज्ञानमा पनि ध्यान पुर्याउनुपर्छ । विद्यार्थी जब फेल हुन्छ, शिक्षक तब फेल हुन्छ । त्यसैले फेलको खेल बन्द गर्न बालकलाई पढ्नुपर्छ । क्रियात्मक अनुसन्धानमा बढ्नुपर्छ । कक्षाकोठाको समस्या कक्षाकोठामै हल गर्नुपर्छ । पाठ्यक्रमको मर्मलाई धर्म नछाडी सिकाइ कर्म गर्नुपर्छ । अनि त शिक्षकले सरम मान्नुपर्दैन । गर्व गरेर ऊ हिँड्न सक्छ ।

बिगु – ८, खोपाचागु, दोलखाका केसी, जालुपा माध्यमिक विद्यालय गोँगबु, टोखा – ८, बानियाँटार, काठमाडौँका नेपाली शिक्षक हुन् । 

प्रतिक्रिया