Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
खबर/फिचर

प्रदर्शन र घेराउ गर्ने घोषणा

आइतबार, ०५ फागुन २०७५

काठमाडौं - स्वतन्त्र विद्यार्थी यूनियन चुनावको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै आएको सत्तारुढ दल निकट विद्यार्थी संगठनले अब प्रदर्शन र घेराउ गर्ने घोषणा गरेको छ । विरोध अन्र्तगत सोमबार उपकुलपतिको कार्यकक्षमा प्रदर्शन सहित घेराउ र मंगलबार देशभरका क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शन सहित घेराउ गर्ने कार्यक्रम तय गरेको संगठनद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । 

यस अघि गत माघ २८ गतेको बैठकले फागुन २  गते सम्म कार्यतालिका सार्वजनिक गर्न अल्टिमेटम दिएको थियो । तर, आफ्ना मागमा त्रिभुवन विश्वविद्यालयले कुनै वास्ता नगरे पछि उक्त निर्णय गरेको अध्यक्षद्वय नविना लामा र रंजित तामाङद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

'निर्वाचन गर्ने सहज वातावरण हुँदा हुँदै पनि अहिलेसम्म कार्यतालिका प्रकाशित नगर्नुले राजनीतिक भागवण्डामा आएको त्रिविको नेतृत्व नै कतै अमुक दल वा कुनै अमुक संगठनको दवावमा परेर चुनाव नगराउन उद्दत त छैन भन्ने गम्भिर प्रश्न खडा भएको' विज्ञप्तिमा उल्लेख छ । 

तत्कालिन एमाले र माओवादीको एकिकरण भए पनि विद्यार्थी संगठनको एकता हुन बाँकी नै रहेकाले दुवै दलका तत्कालिन विद्यार्थी संगठनका दुवै अध्यक्षहरुले संयुक्त रुपमा विज्ञप्ति जारी गर्दै आएका छन् । 

दुबै अध्यक्षद्वारा आईतबार जारी संयुक्त विज्ञप्तिमा 'त्रिवि आफैंले तोकेको स्ववियू निर्वाचनको मिति नजिकिईसक्दा पनि कार्यतालिक सार्वजनिक नगरिएको घटनाप्रति गम्भिर भएको' उल्लेख छ । 

त्रिविका सबै आंगिक क्याम्पसहरूलाई फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न त्रिविले गत पुसमै परीपत्र गरेको थियो । तर, उक्त निर्देशन पछि कुनै पनि प्रकृया शुरु गरिएको छैन । 

त्रिवि मातहतका ६० क्याम्पसमा हरेक २/२ वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । देशभरी गरेर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पस समेत छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।

यसअघि २०७३ फागुन १८ गते चुनाव भएको थियो । त्यतिखेर पनि त्रिविका अधिकांश क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन । त्यतिखेर चुनाव हुन नसकेका क्याम्पसहरूमा समेत यस वर्ष चुनाव हुने अपेक्षा सहित त्रिविले सबै विद्यार्थी सङ्घ संगठनहरुको सहयोगको अपेक्षा गरेको थियो । 

प्रतिक्रिया