Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

विद्यार्थीको घेराउमै निर्वाचन समिति गठनको जानकारी

सोमबार, ०६ फागुन २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचन प्रयोजनका लागि समिति गठन गरेको सार्वजनिक गरेको छ । तत्काल निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गर्दै विश्वविद्यालयका उपकुलपतिको कार्यालय घेराउमा उत्रिएको सत्तारुढ दलको विद्यार्थी संगठनको प्रदर्शनकै बीचमा रजिष्टार डिल्लि उप्रेतीले समिति गठन भएको जानकारी गराएका हुन् । 

शिक्षाध्यक्ष सुधा त्रिपाठिको संयोजकत्वमा गत माघ २९ गते नै त्रिविले समिति गठन गरेको उनले बताए । शिक्षाध्यक्ष काठमाडौं बाहिर रहेकाले आउनासाथ बैठक बसेर आवश्यक कार्य गर्ने उप्रेतीले बताए । विश्वविद्यालय विद्यार्थी कल्याण तथा खेलकुद महाशाखाका प्रमुख गंगाबहादुर थापाले समिति गठनको निर्णय पढेर सुनाएका थिए । 

यस अघि कोण सभामा बोल्दै अखिल क्रान्त्रिकारीका अध्यक्ष रंजित तामाङले यही विषयमा फेरी विश्वविद्यालयमा आउनु पर्यो भने त्रिवि पदाधिकारीको राजिनामा माग्ने चेतावनी दिएका थिए । 

चुनावको कार्यतालिका तत्काल सार्वजनिक गर्न माग गर्दै आएको सत्तारुढ दल निकट विद्यार्थी संगठनले सोमबार त्रिविमा घेराउ र प्रदर्शन तथा मंगलबार देशभरका क्याम्पसमा प्रमुखको कार्यकक्षमा प्रदर्शन सहित घेराउ गर्ने कार्यक्रम तय गरेको थियो । 

यस अघि गत माघ २८ गतेको बैठकले फागुन २  गते सम्म कार्यतालिका सार्वजनिक गर्न अल्टिमेटम दिएको थियो । 

तत्कालिन एमाले र माओवादीको एकिकरण भए पनि विद्यार्थी संगठनको एकता हुन बाँकी नै रहेकाले दुवै दलका तत्कालिन विद्यार्थी संगठनका दुवै अध्यक्ष नविना लामा र रंजित तामाङले संयुक्त रुपमा कार्य गर्दै आएका छन् । 

त्रिविका सबै आंगिक क्याम्पसहरूलाई फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न त्रिविले गत पुसमै परीपत्र गरेको थियो । तर, उक्त निर्देशन पछि कुनै पनि प्रकृया शुरु गरिएको छैन । 

त्रिवि मातहतका ६० क्याम्पसमा हरेक २र२ वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । देशभरी गरेर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पस समेत छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।

यसअघि २०७३ फागुन १८ गते चुनाव भएको थियो । त्यतिखेर पनि त्रिविका अधिकांश क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन । त्यतिखेर चुनाव हुन नसकेका क्याम्पसहरूमा समेत यस वर्ष चुनाव हुने अपेक्षा सहित त्रिविले सबै विद्यार्थी सङ्घ संगठनहरुको सहयोगको अपेक्षा गरेको थियो ।

आन्दोलनरत विद्यार्थी संगठनले भने नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाएको छ । 

प्रतिक्रिया