Edukhabar
शुक्रबार, ०७ बैशाख २०८१
विचार / विमर्श

अस्तित्ववाद, शिक्षक र विद्यार्थी

बुधबार, ०८ फागुन २०७५

अस्तित्ववाद – जगत् र जीवनको विसङ्गतीको बोध गर्दै व्यक्तिको स्वतन्त्र निर्णय र वरण तथा उत्तरदायित्वलाई सकार्ने अनि मनुष्य जीवनको अस्तित्व माथि चिन्तन गर्ने र उसको जन्म, मृत्यु, कुण्ठा, सन्त्रास आदिमा सहि अर्थ खोज्ने दार्शनिक वा साहित्यक मान्यता, मानिसलाइ स्वतन्त्र प्राणीका रुपमा हेर्दै अस्तित्वलाइ तत्वको पूर्वागामीका रुपममा सकार्ने, द्वितीय विश्वयुद्घ पछि बढि प्रचलित एक साहित्यिकवाद वा सिद्धान्त ।

नेपाली शब्दकोषमा अस्तित्ववादको अर्थ यसरी लगाईएको छ । 

डेनमार्कका विद्वान सोरेन किर्केगार्डद्वारा प्रतिपादित तथा विकास गरिएको अस्तित्ववाद बिसौं शताव्दीमा पश्चिमेली दर्शनका रुपमा परिचित छ । मानवबाटै सिर्जित हरेक आधुनिक प्रविधि र मानिसले नै पत्ता लगाएका वैज्ञानिक तथ्यहरुका कारण मानवहरुको अस्तित्वमाथि प्रश्नचिन्ह खडा भएबाटै र मानवको अस्तित्व धरापमा पर्दै गएको अवस्था सिर्जित भएको अनुभूति भएसँगै यस दर्शनको शुरुवात भएको पाइन्छ । आज मानिसले बनाएका आधुनिक प्रविधिले नै मानिसलाइ दास बनाएको अवस्था देख्न सकिन्छ । खासमा मानिसले म को हुँ ? मेरो अर्थ के हो ? समाजमा मेरो कस्तो भूमिका छ ? भन्ने कुराको जुन अस्तित्ववोध हुनु पर्ने हो सो पाएको छैन । 

अस्तित्ववादले कुनै पनि व्यक्तिको अस्तित्व कायम हुनु पर्दछ, जब व्यक्तिको अस्तित्व कायम हुन्छ तब मात्र उसका विचार , सिद्घान्त र भक्तिको महत्व हुन्छ । मानिसको जीवनकालमै उसको अस्तित्व रहनु पर्दछ, मृत्युपछि उसलाइ दिइने मान, सम्मान र उसको गुणगानले उसको अस्तित्व कायम हुन सक्दैन व्यक्तिको मृत्युपछि केही बाँकी रहँदैन, मृत्युपछि माटो हुनु शिवाय केही छैन, उसको अस्तित्व हराउँछ र मृत्युपछिको अस्तित्वमा विश्वास पनि गर्नु हुँदैन भन्ने मान्यता यसको रहेको छ । समाजमा हरेक व्यक्तिको अस्तित्व हुनु पर्दछ जुन अस्तित्वमाथि अरु कोही वाधक बन्नु हँुदैन यदि व्यक्तिको अस्तित्व रक्षा भयो भने मात्र उसबाट स्वतः स्फूर्त रुपमा उसका विचार, भावना र प्रेमको विकास हुन्छ जसले समाजलाइ कुनै न कुनै रुपबाट मार्गदर्शन गरिरहेको हुन्छ । 

हरेक व्यक्तिसँग कुनै न कुनै क्षमता, प्रतिभा र चाहाना हुन्छन् जुन कुरालाइ निर्धक्क प्रस्तुत गर्ने वातावरणको सिर्जना हुनुपर्दछ जसका लागि कहिँ कतैबाट अवरोध हुनु हुँदैन । मानिससँग चेतना हुन्छ, जुन चेतनाका माध्यमबाट उसले काम नलाग्ने अर्थहीन परिवेशलाई पनि आफूयोग्य बनाउन सक्छ । कुनै पनि व्यक्तिलाइ अमानवीय व्यवहार गर्नुहुँदैन र यदि त्यस्तो अवस्थाको सिर्जना भएको छ भने सामाजिक न्याय दिलाउँदै व्यक्तिगत स्वतन्त्रताको स्थानमा पुर्याउनु पर्दछ । हरेक मानवलाइ सामाजिक न्यायको अवस्थामा पुर्याउन सक्नुपर्छ भन्ने धारणा नै मानवीय अस्तित्व हो ।   

अस्तित्ववादी दर्शनले विशेषगरि मानिस स्वतन्त्र हुनु पर्दछ, आफ्नो विचारमा प्रतिवद्घ हुनुपर्दछ र आफ्नो दृष्टिकोण, भावना र क्षमतालाई निखार बनाउन कर्मशिल हुनुपर्दछ भन्ने मान्यता राख्दछ । अस्तित्ववाद आत्माको अनुभूतिमा विश्वास राख्दछ, कुनै पनि मानिसले आफ्नो भित्री जीवनबाट आत्माको अनुभूतिको विकास गर्ने मौका पाउनु पर्दछ । मानिससँग आत्मानुभूति र स्वज्ञान भएन भने उसले कसैगरि वास्तविक ज्ञान प्राप्त गर्न सक्दैन व्यक्तिलाई भित्री रुपबाट उर्जाशिल बनाउन, साहस तथा उत्साह जागृत गराउनका लागि आत्मानुभूतिको आवश्यकता पर्दछ जसले मानिसका चिन्ता, डर, त्रासबाट टाढा रहि म स्वतन्त्र छु, खुल्ला छु र म मेरो स्वतन्त्र जीवन बिताइरहेको छु भन्ने बोध हुन्छ तब बल्ल उसलाइ जीवन ज्यूनुको खास अर्थ बोध हुन्छ । तब मात्र समाजमा उसले आफ्नो क्षमता र योग्यता अनुसारको व्यवहार गर्न सक्छ ।

शिक्षकको भूमिका 

शिक्षक पनि एक मानिस हो । जसले आफ्नो अस्तित्वको खोजी गरिरहेको हुन्छ तथापी विद्यार्थी भन्दा अलि बढी ज्ञान, अनुभव र विश्वासिलो हुन्छ । तसर्थ आफूसँग भएको ज्ञान, अनुभव र विचारलाई विद्यार्थीको रुची अनुसार अगाडि बढाउनका लागि भूमिका निर्वाह गर्नुपर्दछ । शिक्षकले आफुले जे सिक्यो अथवा आफ्नो आत्माले जुन कुरामा विश्वास जित्यो त्यही नै सबैथोक हो भनेर विद्यार्थीलाई बुझाउनु भन्दा पनि विद्यार्थीलाइ स्वमूल्याङ्कन गर्न दिनु सान्दर्भिक हुन्छ । 

एउटा असल शिक्षकले विद्यार्थीको अन्तरनिहित प्रतिभाको विकास एउटा राम्रो सहजकर्ताको भूमिका निर्वाह गर्नुपर्दछ । साझेदारी कायम गर्दै डर, त्रास र भयको वातावरणबाट टाढा रहि सहयोगी र उदार रुपमा प्रस्तुत भइ सोहि अनुसार लाग्नको लागि प्रेरणादायी भूमिका खेल्नुपर्दछ । 

शिक्षकले आफूले सिकाएका विषयवस्तुमा कति सिक्यो भन्ने भन्नु भन्दा पनि कति प्रयोगमा ल्यायो र त्यसले विद्यार्थीको व्यवहारिक पक्षमा कत्तीको सहयोग पुर्याएको छ भन्ने कुरामा ध्यान दिनु जरुरी हुन्छ ।  

विद्यार्थीको भूमिका

विद्यार्थी समाज परिवर्तनको एउटा बलियो खम्बा हो । हरेक विद्यार्थीसँग केही न केही रचनात्ममक कार्य गर्न सक्ने सामथ्र्य हुन्छ । सबैभन्दा पहिले त म के सिक्न चाहान्छु ? मेरो चासो र महत्वको विषय के हो ? भन्ने कुराको छनौट स्वयम  विद्यार्थीले गर्नुपर्दछ । त्यसपछि  आफ्ना प्रतिभाहरुलाइ प्रष्फुटनका लागि उपयुक्त माध्यम  खोज्नु पर्दछ यस अवस्थामा सम्बन्धित क्षेत्रमा विज्ञता हासिल गरेका अग्रज व्यक्तिहरु, आफ्ना गुरुहरु र समाजका आबश्यक पक्षसँग अत्यन्तै विनम्र रुपमा प्रस्तुत भइ सम्मान व्यक्त गर्दै आदारपूर्वक व्यवहार गरि आफ्नो सिक्ने प्रकृयालाइ अगाडि बढाउनु पर्दछ । 

विद्यार्थी आफूले चाहेको शिक्षा प्राप्त गरिसकेपछि सहयोगी, मिलनसारर समाजका प्रति कर्तव्यनिष्ठ बन्नुपर्दछ जसरी आफ्नो अस्तित्वको लागि आफंै अग्रसर भएर लागियो त्यसैगरि हरेक व्यक्तिको अस्तित्व छ भन्ने कुराको बोध गरी हरेक व्यक्तिको अस्तित्वको सम्मान र कदर गर्नुपर्दछ ।

अन्त्यमा, हरेक क्षेत्रमा एउटै व्यक्ति ठूलो छैन र एउटै व्यक्ति हरेक क्षेत्रमा कमजोर छैन भन्ने भनाईलाइ आत्मसात गर्दै हरेकका प्रतिभा र क्षमतालाइ सम्मान गर्न सक्यौं भने मात्र मानव जीवन सार्थक हुन्छ । कुनै पनि व्यक्तिलाइ तुलना गरेर उसमा नैराश्यता बढाउनुभन्दा उसको प्रतिभाको कदर गर्दै हार्दिकता व्यक्त गर्नुपर्दछ । यसो गर्न सक्यौ भने व्यक्तिमा आत्मविश्वास र समाजमा एकता, समझदारी, विश्वसनीयता र मेलमिलापको भावनाको विकास हुन्छ । न कोही ठूलो न कोही सानो सबै आआफ्नो क्षेत्रमा अब्बल भन्ने मान्यताको विकास हुनु समाज निर्माणको लागि महत्वपूर्ण पक्ष हो । 

र , जाँदाजाँदै –

हरेक व्यक्तिको क्षमता पहिचान गर्न सक्यौं भने ,
क्षमता अनुसार उसलाइ सम्मान गर्न सक्यौ भने ,
यो राष्ट्र त्यसै उज्यालो दिशातर्फ उन्मुख हुन्छ –
सकारात्मक परिवर्तनका लागि बलिदान गर्न सक्यौ भने ।

लेखक शिव माध्यमिक विद्यालय गलकोट नगरपालिका काँडेवास, बागलुङका प्रधानाध्यापक हुन् । 

प्रतिक्रिया