Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

घोषित श्रमबजारलाई विद्यार्थीको चुनौती : रेमिट्यान्समा खाडी–मलेसिया पछाडि, अमेरिका अगाडि

शुक्रबार, १० फागुन २०७५

काठमाडौं १० फागुन / उच्च शिक्षाका लागि विदेश जाने नेपाली विद्यार्थीको संख्या बर्सेनी बढिरहेको छ । यससँगै अर्थतन्त्रमा उनीहरूको हिस्सेदारी पनि वृद्धि भइरहेको छ । नेपाली अर्थतन्त्रको प्रमुख आधार रेमिट्यान्सको झन्डै एकतिहाइ त पढ्न भनेर विदेश जाने विद्यार्थीले नै धानिरहेका छन् । 

नेपालीहरूको शैक्षिक गन्तव्यका रूपमा परिचित मुलुकबाट आउने रेमिट्यान्स अन्यभन्दा बढी छ । नेपालमा सबैभन्दा बढी रेमिट्यान्स पठाउने मुलुक अमेरिका हो । नेपाली विद्यार्थीको रोजाइमा पनि यो मुलुक अग्रपंक्तिमै छ । त्यस्तै, जापान, अस्ट्रेलिया, क्यानडा, बेलायत पनि नेपाली विद्यार्थीका लागि आकर्षक गन्तव्य हुन् । केन्द्रीय बैंकको तथ्यांकअनुसार तिनै मुलुकबाट सबैभन्दा बढी रेमिट्यान्स आएको छ ।

गत आर्थिक वर्षमा अमेरिका, जापान, अस्ट्रेलिया, क्यानडा र बेलायतबाट मात्रै २ अर्ब १३ करोड २ लाख २५ हजार डलर रेमिट्यान्स नेपाल भित्रिएको छ । यो कुल रेमिट्यान्सको झन्डै ३३.४ प्रतिशत हुन आउँछ । पछिल्लो ६ महिनामा नेपालमा कुल ४ खर्ब ४३ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । यसमा करिब ३० प्रतिशत योगदान शैक्षिक भिसामा गएकाहरूको नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाको अनुमान छ । 

एकै वर्षमा ६० हजार विदेश अध्ययनमा, साढे पाँच वर्षमा डेढ खर्ब बिदेसियो / भिसा आवेदनमा मात्रै डेढ अर्ब खर्च, अस्ट्रेलियाका लागि मात्रै करिब एक अर्ब

हरेक वर्ष अध्ययनका लागि विदेश जान चाहनेको नेपालीको रेकर्ड तोडिने गरेको छ । ०७४/७५ मा ५८ हजार ७ सय ५८ विद्यार्थीले शिक्षा मन्त्रालयबाट नो अब्जेक्सन सर्टिफिकेट लिएका थिए । ०७५/७६ को मंसिरसम्म २७ हजार ५७६ ले यस्तो पत्र लगेका छन् ।  

यस वर्षको साउनमा ४ हजार ८ सय १६, भदौमा ६ हजार ६ सय ६४, असोजमा ५ हजार ७ सय ८८, कात्तिकमा ३ हजार ६ सय ८१ जना र मंसिरमा ६ हजार ६ सय २७ जनाले एनओसी लिएका थिए । अस्ट्रेलियाका लागि आवेदन गर्दा ५६० अस्ट्रेलियन डलर अर्थात् ४५ हजार रुपैयाँजति भिसा आवेदन शुल्क लाग्छ । गत वर्ष विदेश गएका ५८ हजारमध्ये आधाभन्दा बढीले अस्ट्रेलियाका लागि एनओसी लिएका छन् । यो आधारमा पनि करिब एक अर्ब रुपैयाँ अस्ट्रेलियाको भिसामा खर्च भएको छ ।

वर्ष ०७०/७१ मा विदेशमा अध्ययनका लागि नेपाली विद्यार्थीमार्फत शुल्कसहितको खर्चमा १५ अर्ब १२ करोड रुपैयाँ बाहिरिएको थियो । वर्ष ०७४/७५ मा आइपुग्दा यो रकम ३८ अर्ब ८ करोड रुपैयाँ पुगिसकेको छ । पछिल्ला साढे पाँच वर्षमा विदेश अध्ययनका लागि नेपालले १ खर्ब ५० अर्ब ९९ करोड रुपैयाँ खर्च गरिसकेको छ ।

नयाँ पत्रिकामा कृष्ण रिजाल र भवानीश्वर गौतमले लेखेका छन् । 

प्रतिक्रिया