Edukhabar
शनिबार, ०८ बैशाख २०८१
गतिविधि

निर्वाचनलाई लिएर संसदमा आरोप प्रत्यारोप

शुक्रबार, १० फागुन २०७५

काठमाडौं - त्रिभुवन विश्वविद्यालय अन्र्तगतका क्याम्पसहरुमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनका विषयमा सत्तारुढ र प्रमुख प्रतिपक्षि दलका साँसदहरु बीच आरोप प्रत्यारोप भएको छ । शुक्रबार बसेको संसद बैठकको शून्य समयमा बोल्दै दुबै दलका सांसदहरुले तत्काल निर्वाचन माग गरे । 

सत्तारुढ दलका सांसद पदम गिरीले प्रतिपक्षी दलका नेताले आफ्नो भातृसँगठनले निर्वाचनमा पराजय हासिल गर्ने सम्भावना देखेकै कारणले निर्वाचन भाँड्न खोजेको आरोप लगाए ।  

'म सुन्दै छु प्रतिपक्षी दलका नेताले आफ्नो भातृसँगठनले यो निर्वाचनमा पराजय हासिल गर्ने सम्भावना देखेकै कारणले निर्वाचन भाँड्न वहाँले निर्वाचनको वातावरण छैन भनेर भन्नु भएको कुरा सञ्चार माध्यममा आएको छ' उनले भने, 
'लोकतन्त्रमा निर्वाचन जित्नकै लागि हुने हो की हार्दा पनि निर्वाचनमा जानका लागि तयार हुने हो ?'

उनी पछि बेलेकी प्रतिपक्षी दल नेपाली काँग्रेसकी सांसद पुष्पा भुसालले आफ्नो पार्टि हारेपनि जनताले जित्नु पर्छ भन्ने मान्यतामा संविधान निर्माण पश्चात तीनै तहको निर्वाचन गरेको दृष्टान्त दिदैं विश्वविद्यालयका कुलपति स्वयं प्रधानमन्त्री भएकाले किन पहल नभएको ? भन्दै प्रश्न गरिन् । 

'काँग्रेसले संविधान कार्यान्वयन गर्न हारे पनि जनताले जित्नु पर्छ भनेर तीनै तहको निर्वाचन गर्न पछि परेन, त्रिभुवन विश्वविद्यालयको स्ववियू निर्वाचन प्रमुख प्रतिपक्षी दलको नेताले अस्विकार गरेको कुरा त्यही बाट खण्डन हुन्छ' उनले भनिन् 
'विश्वविद्यालयका कुलपति स्वयं प्रधानमन्त्री हुनुहुन्छ कसको कारणले उहाँले पहल गर्नु भएको छैन, बाहिर प्रमुख प्रतिपक्षी दलले स्विकार गरेन भनेर भ्रम सृजना गरेर निर्वाचन रोक्ने काम भईरहेको छ त्यसको जानकारी संसदले चाहन्छ ।'

त्रिविले सबै आंगिक क्याम्पसहरूलाई फागुन १४ गते स्ववियु निर्वाचनको तयारी गर्न गत पुसमै परीपत्र गरे पनि अहिले सम्म अन्य प्रकृया शुरु गरेको छैन । 

निर्वाचनको सुनिश्चितताका लागि भन्दै सत्ताधारी दलका विद्यार्थीहरुले दवाव दिदैं आईरहेका छन् । आन्दोलनरत विद्यार्थी संगठनले काँग्रेस निकट नेपाल विद्यार्थी संघको आन्तरिक किचलोका कारण स्ववियु निर्वाचन टार्ने चलखेल भएको आरोप लगाउँदै आएको छ । 

त्रिवि मातहतका ६० क्याम्पसमा हरेक २ २ वर्षमा स्ववियु निर्वाचन हुने प्रावधान छ । देशभरी गरेर त्रिविले सम्बन्धन दिएका एक हजार ८५ सामुदायिक र निजी क्याम्पस समेत छन् । ती मध्ये एक सय ५० भन्दा बढी सामुदायिक कलेजहरूले पनि स्ववियु निर्वाचन गराउँदै आएका छन् ।

यसअघि २०७३ फागुन १८ गते चुनाव भएको थियो । त्यतिखेर पनि त्रिविका अधिकांश क्याम्पसहरूमा चुनाव हुन सकेको थिएन । त्यतिखेर चुनाव हुन नसकेका क्याम्पसहरूमा समेत यस वर्ष चुनाव हुने अपेक्षा सहित त्रिविले सबै विद्यार्थी सङ्घ संगठनहरुको सहयोगको अपेक्षा गरेको थियो ।

 

प्रतिक्रिया