Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

संसदले पास गरेको तीन सातामा राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण

शुक्रबार, १० फागुन २०७५

काठमाडौं - संसदले पास गरेको २२ दिनमा बल्ल राष्ट्रपति विद्यादेवी भण्डारीले चिकित्सा शिक्षा विधेयक प्रमाणीकरण गरेकी छन् ।

चिकित्सा शिक्षाका वेथिती विरुद्ध सत्याग्रहमा उत्रिएका प्रा.डा. गोविन्द केसीसँग कुनै सम्वादै नगरी सरकारले पेलेरै दुबै सदनबाट विधेयक पास गरेको थियो । आफूसँग सरकारले यस अघि गरेका सहमती तोडेर विधेयक ल्याएको भन्दै केसी सत्याग्रहमै रहेको बेला गत माघ १० गते बसेको प्रतिनिधि सभा बैठकबाट सरकारले विधेयक पास गराएको थियो । राष्ट्रिय सभाबाट भने उक्त विधेयक माघ १७ गते पास गरिएको थियो ।

दुबै सदनबाट पास भएर राष्ट्रपति कार्यालय पुगेको विधेयक शुक्रबार बल्ल प्रमाणिकरण भएको हो ।  

चिकित्सा शिक्षा सुधारको अपेक्षा गर्ने नागरिकले सडकबाट र प्रमुख प्रतिपक्षि दलका सांसदले सदनबाट विरोध गरिरहँदा पनि शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले पेलेरै विधेयक पास गराएका थिए । 

चिकित्सा शिक्षामा लगानी गर्ने स्वार्थी समूहको प्रभावमा परेर केसीसँग गरेको सहमती विपरित विधयेक पारित गराएको भन्दै शिक्षा मन्त्री पोखरेल सहित सत्ताधारी दलका प्रमुख नेताहरुको आलोचना हुँदै आएको छ । 

यो संगै राष्ट्रपति भण्डारीले शुक्रबार अन्य २ विधेयक पनि प्रमाणीकरण गरेकी छन् । चिकित्सा विधेयक भन्दा पछि गएका सङ्कटापन्न वन्यजन्तु तथा वनस्पतिको अन्तर्राष्ट्रिय व्यापार नियन्त्रण ऐन, २०७३ लाई संशोधन गर्न बनेको विधेयक, २०७५ र कर्मचारी समायोजन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०७५ प्रमाणीकरण भएका छन् ।  

 

प्रतिक्रिया