Edukhabar
बुधबार, १२ बैशाख २०८१
अन्तैवाट

हिउँमै खुल्न थाले विद्यालय

शनिबार, ११ फागुन २०७५

काठमाडौं ११ फागुन / मनाङको तल्लो भेगका विद्यालय हिउँमै खुलेका छन् । १ फागुनदेखि नयाँ शैक्षिक सत्र सुरु भएसँगै मनाङका विद्यालय खुल्न थालेका हुन् । चार गाउँपालिका रहेको मनाङको तल्लो क्षेत्रमा पर्नेे नासोँ गाउँपालिका र बीचको चामे गाउँपालिकाका विद्यालयले यसै साताबाट पठनपाठन थालेका हुन् ।

नयाँ पत्रिकाका अनुसार माथिल्लो भेगको मनाङ ङिस्याङ र नार्पाभूमि गाउँपालिकाका विद्यालय भने १६ फागुनपछि खुल्नेछन् । चामे र नासोँमा भने हिउँमाथि नै पढाइ सुरु भएको छ । विद्यालय खुलेसँगै जाडो छल्न काठमाडौं र पोखरालगायत सहर पुगेका अधिकांश विद्यार्थी फर्किएका छन् । विद्यालय खुलेसँगै भर्ना अभियान पनि सञ्चालन भएको शिक्षकहरूले बताए । वार्षिक परीक्षा सकेर पुस पहिलो साता विद्यार्थी जाडो र हिमपात छल्न तल्लो भेग झरेका थिए ।

चामे गाउँपालिका–१ तिमाङस्थित गौरीशंकर आधारभूत विद्यालयका प्रधानाध्यापक कमलजंग गुरुङले हिमपातका बीच पठनपाठन सुरु गरिएको बताए । उनले भने, ‘हिउँ भए पनि पढाइ प्रभावित भएको छैन ।’ नासोँ गाउँपालिका–१ तालस्थित भानु माविका शिक्षक सिंहबहादुर गुरुङका अनुसार विद्यालय खुलेसँगै विद्यार्थीको उपस्थिति पनि रामै्र छ । भानु मावि मनाङको सबैभन्दा तल्लो क्षेत्रको विद्यालय हो ।

मनाङको तल्लो क्षेत्रको चामे, नासोँ गाउँपालिकाका १५ वटा विद्यालय खुलेको शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख खुलानाथ गौतमले बताए । उनका अनुसार मनाङ ङिस्याङ गाउँपालिका र नार्पाभूमिका ११ वटा विद्यालयमा भने पठनपाठन सुरु भएको छैन । विद्यालयमा १६ फागुनबाट पठनपाठन सुरु हुनेछ ।

चामेस्थित लोकप्रिय माविमा भने २० माघदेखि नै पठनपाठन सुरु गरिएको प्रधानाध्यापक सुरेश थापाले बताए । आवासीय विद्यालयका रूपमा सञ्चालन गरिएको सो विद्यालयमा २ सय ६१ विद्यार्थी छन् । मनाङमा २६ वटा सामुदायिक विद्यालय छन् । यसमा कक्षा १२ सम्म पढाइ हुने २ वटा मावि र कक्षा १० सम्म पढाइ हुने २ वटा मावि छन् । बाँकी आधारभूत विद्यालय छन् ।

हिउँमै खुल्न थाले मनाङका विद्यालय शिर्षकमा नयाँ पत्रिकामा शान्ता कमलीले लेखेको खबर ।

प्रतिक्रिया