Edukhabar
विहीबार, १५ चैत्र २०८०
विदेशमा शिक्षा

दर्ता खारेजीको ९ दिन पछि बल्ल धारणा सार्वजनिक, सञ्चार माध्यम माथि कटाक्ष

बुधबार, १५ फागुन २०७५

काठमाडौं - अष्ट्रेलियन ईन्स्टिच्युट अफ विजनेश एण्ड टेक्नोलोजी (एआईवीटि) को दर्ता खारेज भएको ९ दिन पछि बल्ल नेपाल स्थित परामर्शदाता कम्पनीहरु आवद्ध छाता संगठनहरुले घटनाबारे संयुक्त रुपमा धारणा सार्वजनिक गरेका छन् । बुधबार गरिएको पत्रकार सम्मेलनमा सत्य तथ्य नबुझि समाचार सम्प्रेषण गरिएको भन्दै इक्यान, फेकन, आइरिन र नायरका पदाधिकारीहरुले सञ्चार माध्यम माथि कटाक्ष गरेका छन् ।

समस्यामा परेका नेपाली विद्यार्थीको विवरण समेत उपलब्ध नगराई गरिएको उक्त पत्रकार सम्मेलनमा ती संगठनका पदाधिकारीले उक्त घटना र विद्यार्थीलाई परेको संकट प्रति भन्दा पनि सञ्चार माध्यम प्रति आलोचनामा समय खर्च गरे । आफूले पठाएका विद्यार्थीले भोग्नु परेको समस्या, त्यसको समाधान र आफूहरुको गल्ती स्विकार गर्नुमा भन्दा उनीहरु विभिन्न प्राविधिक प्रकृयाका बारेमा बताउनै व्यस्त रहेका थिए ।

दर्ता नै नभएको कलेजमा नर्सिङ् कोर्ष अध्यापन गराउन भन्दै परामर्शदाता कम्पनीहरुले संयौं नेपाली विद्यार्थी पठाएका थिए । ९ दिन अघि अर्थात् गत फेबु्रअरी १९ मा अष्ट्रेलियन सरकारले दर्ता खारेज गरे पछि नेपाली विद्यार्थी अलपत्र परेको घटना सञ्चार माध्यम मार्फत् सार्वजनिक भएको थियो । त्यस पछि शिक्षा मन्त्रालयले समिति गठन गरेर अध्ययन शुरु गरेको छ ।

ईक्यानका पूर्व अध्यक्ष प्रकाश पाण्डेले 'करीब करीब संख्या सार्वजनिक गर्नु भन्दा यकिन भएपछि मात्रै गर्ने योजना बनाएको' भन्दै बचाउको प्रयास गरेका छन् । तर उक्त यकिन संख्या कहिले सम्म आउँछ भन्नेमा उनले स्पष्ट पार्न चाहेनन् । 

'धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सिङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न नसकिएता पनि केहि अध्ययन पश्चात सो पनि प्राप्त हुन सक्दछ' बुधबार गरिएको पत्रकार सम्मेलनमा वितरित प्रेस विज्ञप्तिमा भनिएको छ , 'नो अब्जेक्सन लेटर लिएका सबै विद्यार्थीले भिषा पाउने निश्चित नभएको हुँदा सोको आधारमा पनि संख्या निश्चित हुन सम्भव देखिदैन ।'

'दर्ता खारेजीको निर्णय भएको २८ दिन भित्र उक्त कलेजले अपिल गर्न पाउने वैधानिक व्यवस्था अनुसार कलेजले अपिल गरि सकेको बुभिएको' विज्ञप्तिमा उल्लेख छ ।

दुई देशका सरकार सरकार बीच मै छलफल गरेर समस्या समाधान गर्न ईक्यानका अध्यक्ष विष्णुहरि पाण्डेले अनुरोध गरेका छन् । पत्रकार सम्मेलनमा सहभागी फेकनका अध्यक्ष युवराज कटवाल, आइरिनका अध्यक्ष कुमार कार्की, नायरका कोषाध्यक्ष मनोज पराजुली लगायतले पनि सञ्चार माध्यम प्रति नै कटाक्षमा धेरै समय खर्च गरेका थिए ।

पत्रकार सम्मेलनमा वितरित विज्ञप्तिमा कलेजको दर्ता खारेजीबाट त्यहाँ अध्ययनरत नेपाली विद्यार्थीले पठनपाठन गर्न नपाउने भए पछि समस्यामा परेको उल्लेख गर्दै समाधानका उपाय, संगठनले चलाएका  प्रयासहरु, नेपाल सरकारको तर्फबाट हुन आवश्यक कुटनितिक प्रयास एवम् भविष्यमा अपनाउनु पर्ने सावधानीका विषयमा वुँदागत रुपमा उल्लेख गरिएको छ । 

विज्ञप्तिको मुख्य अँश पढ्नुहोस्

समस्याको वास्तविकता

१. AIBT भन्ने कलेज त्यहाँ स्थित आधिकारीक निकाय ब्ग Australian Skills Quality Authority (ASQA) मा Registered Training Organization (RTO) को रुपमा दर्ता भएर विदेशी विद्यार्थीहरुलाई पढाउन लिनुपर्ने Commonwealth Register of Institutions & Courses for Overseas Students (CRICOS) को स्विकृति लिई RTO No. 41138 CRICOS Provider No. 03430J प्राप्त गरि वैधानिक रुपमा नै भोकेशनल एजुकेशन सम्बन्धि कार्यक्रम सञ्चालन गर्ने कलेज हो । सो कलेजको पछिल्लो समयमा विद्यार्थीहरुबाट उक्त कलेजमा पढाई हुने नर्सिङ्ग विषयको डिप्लोमाको मान्यता सम्बन्धि विषयलाई लिएर उब्जेको विवादका कारण ASQA द्वारा उक्त कलेजको दर्ता खारेज गर्ने निर्णय भयो । सो कलेजको न्यु साउथ वेल्स राज्यमा दुईवटा क्याम्पस, क्विनसल्याण्ड राज्यमा एउटा क्याम्पस र टास्मानिया राज्यमा एउटा क्याम्पस सञ्चालनमा रहेका छन् ।

२. उक्त कलेजले नर्सीङ्गको अध्ययन अध्यापनका लागि Australian Nursing & Midwifery Accreditation Council (ANMAC) मा सम्बन्धनको प्रक्रियामा रहेको जनाई सो विषयकोे डिप्लोमा र एडभान्स डिप्लोमाको लागि विद्यार्थी भर्ना लिएको थियो । सो कोर्स Non Accredited Course भएकोले हाल आएर ANMAC Approval नहुने भएपछि विद्यार्थीहरुले यसलाई मुख्य समस्याका रुपमा अघि सारेका छन् ।

३. ANMAC ले Enrolled Nurse Accreditation Standard 2017 बनाएर लागु गर्ने निर्णय गरेपछि जुलाई १, २०१८ भन्दा अगाडी Diploma of Nursing (Accredited Course) पढनेहरुलाई शिक्षण संस्थाको IELTS वा भाषाको मापदण्ड पुरा गरे हुने र जुलाई १, २०१८ देखि Diploma of Nursing (Accredited Course) पढन शुरु गर्दा नै विद्यार्थीहरुले IELTS मा प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनुपर्ने प्रावधान लागु भयो । हाल AIBT मा पढिरहेको अधिकाँस विद्यार्थीहरु IELTS मा प्रत्येक ब्याण्डमा ७ अंक हाँसिल नगरेका र हाँसिल गर्न नसकेकाहरु भएकोले Diploma of Nursing पढ्न अन्य ANMAC Accredited शिक्षण संस्थाले पनि सहजरुपमा भर्ना नलिने भएपछि अहिले समस्या भएको हो ।

४. Diploma of Nursing (Non Accredited Course) पढाउने शिक्षण संस्था जस्तैः AIBT ले Health Practitioner Regulation National Law Act को Section 91 (1) अनुसार विद्यार्थीहरुले Clinical Training गर्नु भन्दा पहिलै Nursing & Midwifery Board of Australia (NMBA) लाई जानकारी तथा विद्यार्थीहरुको विवरण दर्ता गराउनु पर्दछ । अहिले पढिरहेका कतिपय विद्यार्थीहरुलाई कोर्ष पुराहुने समय हुँदापनि AIBT ले Clinical Training मा नपठाएकोले गर्दा हाल समस्या भईरहेको छ ।

५. नर्सिङ्ग विषयको मान्यतालाई लिएर श्रृजित समस्याबाट कलेज बन्द भएकोले कलेजमा अन्य विषय पढ्ने विद्यार्थीहरु पनि समस्यामा परेका छन् । नर्सीङ्ग बाहेक अन्य विषय पढने विद्यार्थीहरुको हकमा भने कलेजले ASQA बाट प्राप्त स्विकृति नै पर्याप्त हुने भएकोले कलेज बन्द भएमा Tuition Protection Service (TPS) ले सहज रुपमा अन्य शिक्षण संस्था सारिदिने भएकोले समस्या समाधान गर्न सहज देखिन्छ ।

६. AIBT ले जारि गरेको Offer Letter मा उसको Accreditation को विषयमा उल्लेख गरेको र सोहि अफर लेटर लाई स्विकार गरेर नै विद्यार्थीहरुले सो कलेजमा भर्ना लिएको देखिन्छ । विद्यार्थीहरुले जुलाई १, २०१८ पछिको नर्सिङ्ग विषयकालागि आवश्यक IELTS स्कोरको प्रावधान बुझेर पनि AIBT कलेजमा IELTS Low Score र शुलभ शिक्षण शुल्क भएका कारणले यो कलेज रोजेको हुनुपर्दछ ।

समस्यामा परेका विद्यार्थीको संख्या

यस सम्वन्धमा धेरै कन्सल्टेन्सीहरुले उक्त कलेजमा विद्यार्थी भर्ना गराएका, अन्य विषयमा शुरुमा त्यहाँ पुगेका विद्यार्थीले पछि विषय परिवर्तन गरि नर्सीङ्ग अध्ययन गर्न थालेका, कतिपयले समस्या उत्पन्न हुनु भन्दा पहिलेनै कलेज स्थानान्तरण गरिसकेको अवस्थामा हाल समस्यामा परेका विद्यार्थी संख्या यकिन रुपमा उल्लेख गर्न नसकिएता पनि केहि अध्ययन पश्चात सो पनि प्राप्त हुन सक्दछ । NOC लिएका सबै विद्यार्थीले भिषा पाउने निश्चित नभएको हुँदा सोको आधारमा पनि संख्या निश्चित हुन सम्भव देखिदैन ।

समाधानका उपायहरु

१. AIBT को दर्ता खारेजीको निर्णय भएको मिति १९ फेब्रुअरी २०१९ बाट २८ दिन भित्र उक्त कलेजले अपिल गर्न पाउने वैधानिक व्यवस्था छ र सो बमोजिम कलेजले अपिल गरि सकेको बुभिएको छ ।

२. यदि अपिल पश्चात कलेजको दर्ता खारेजि नभई दर्ता स्विकृति (पुर्नवहाली) भएमा समस्या स्वतः समाधानको बाटोमा जानेछ । तर नर्सिङ्ग विषयमा Diploma / Advanced Diploma अध्ययन गर्न गएका विद्यार्थीहरुको हकमा समस्या यथावत रहने भएकोले विशेष व्यवस्था गरि ANMAC Accredited कलेजहरुमा विद्यार्थीहरुले AIBT मा पढेको जति विषयको Credit Transfer / RPL सहित स्थानान्तरण गराईदिन नेपाल सरकारको तर्फबाट अष्ट्रेलिया सरकार समक्ष अनुरोध गर्नु जरुरी छ ।

३. दर्ता खारेजीको निर्णय यथावत रहेमा समस्याको बैकल्पिक समाधान खोज्नु पर्ने हुन्छ । दर्ता खारेजीको निर्णय नै सदर हुने भएमाः

क. समस्या समाधानका लागि अत्यन्तै सहयोगी हुने ब्यवस्था भनेको नै Tuition Protection Service (TPS) हो ।

ख. TPS लागु हुन कलेज पुर्ण रुपमा बन्द भएको हुनु पर्दछ ।

ग. TPS लागु भएपछि उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरुलाई सम्भव भए सम्म अर्को स्विकृती प्राप्त कलेजमा मिल्दो जुल्दो विषयमा स्थानान्तरण गराउने काम हुन्छ ।

घ. जो विद्यार्थी अब अध्ययन नै गर्दिन र स्वदेश फर्किन्छु भन्छ उसले कलेजलाई बुझाएको शुल्कमा अध्ययन अवधि बाँकी रहेको रहेछ भने बाँकी अवधिको शुल्क TPS ले फिर्ता गर्दछ ।

ङ. जो विद्यार्थी नर्सिङ्ग विषयमा डिप्लोमा वा एडभान्स डिप्लोमाको अध्ययन पुरा गर्ने अवस्थामा छन् उनिहरुको हकमा हालसम्मको अध्ययनको मान्यता स्थानान्तरण हुने शिक्षण संस्था अनुसार फरक हुनेछ तर अहिलेकै अध्ययनले भने ANMAC मा दर्ता हुन नपाउने भएको हुँदा उनिहरु वास्तविक रुपमा मर्कामा पर्नेछन् । तसर्थ कलेज र अष्ट्रेलियन सरकारले संयुक्तरुपमा विद्यार्थीहरुको समुचित व्यवस्थापन गर्न पहल गर्नु पर्दछ ।

समस्यामा परेका विद्यार्थीहरुको भिषाको सम्वन्धमाः

क. AIBT मा अध्ययनरत विद्यार्थीहरुले कलेजको अपिलको नतिजा नआएसम्म नियमित रुपमा कलेजमा जाने र पठन पाठन कार्यमा सरिक भइरहनु पर्दछ । यदि कसैले कलेज जान छोडेमा भिषाको नियम उलंघन गरेको ठहर्छ । हाल कलेजमा नियमितरुपमा कक्षाहरु संञ्चालन भईरहेको छ र विद्यार्थीहरु पढ्न गईरहेका छन् ।

ख. यदि कसैको भिषा सकिने अवस्था छ भने उनिहरुले भिषा थप्ने प्रक्रियाका लागि कलेजसँग तुरुन्त सम्पर्क गर्नु पर्दछ ।

ग. कलेज पुर्णरुपमा बन्द भएमा विद्यार्थीहरुले TPS सँग सम्पर्कमा रहनु पर्ने हुन्छ र विद्यार्थीहरुलाई कलेज बन्द भएको कारण थप्नुपर्ने भिषा निशुल्क थपिदिने ब्यवस्था अष्ट्रेलियन सरकारले गर्दछ ।
हामी के गदैछौं त ?

नेपाल स्थित शैक्षिक परामर्शदातृ कम्पनीका छाता संगठनहरु नेपाल शैक्षिक परामर्श संघ (ECAN), FECON, IERIN, NAAER ले संयुक्त रुपमा समस्याको समाधानका निमित्त पहल गरि रहेका छौं । जस अन्तर्गतः

क. सम्वन्धित कलेजका जिम्मेवार अधिकारी हाल नेपालमा पनि भएको हुँदा निजसँग नियमित सम्पर्क समन्वयमा रहँदै विद्यार्थीको विषयमा बुभ्mने कार्य भईरहेको र व्यवस्थापनको प्रयास भईरहेको छ ।

ख. नेपाल सरकार शिक्षा मन्त्रालय र परराष्ट्र मन्त्रालय समक्ष समन्वय एवम् अन्तरक्रिया गरेको र समस्या समाधान नभए सम्म सोको निरन्तरता हुनेछ ।

ग. नेपाल स्थित सम्वन्धित परामर्शदाता कम्पनीहरुसँग निरन्तर समन्वय र संयोजन गरि समस्या समाधानमा उनिहरुलाई जिम्मेवार बनाउने प्रयास जारी रहेको छ र सम्बन्धित परामर्शदाता कम्पनिहरु पनि समस्यालाई गहन रुपमा लिदै सो को समुचित समाधान र ब्यवस्थापनका लागि प्रयासरत रहेको बुझिएको छ ।

घ. नेपाल स्थित अष्टे«ेलियन दुतावाससँग नियमित सम्पर्क र समन्वयमा रहि समस्या समाधानमा पहल गरिरहेको छ ।

ङ. अष्ट्रेलीया स्थित नेपाली दुतावास, समस्यामा परेका विद्यार्थीहरु, अन्तर्राष्ट्रिय विद्यार्थी संगठन, गैर आवसीय नेपाली संघ र अन्य नेपाली परामर्शदाता कम्पनीहरुसँग नियमित सम्पर्क र समन्वय गर्दै समस्या समाधानको पहलकदमी भइरहेको छ ।

च. सम्वन्धित सबै सरोकारवालाहरुको संयुक्त प्रयासमा समस्याको समुचित समाधान उक्त कलेजको दर्ता खारेजि विरुद्ध अपिलको निस्कर्ष पश्चात तत्कालनै हुने विषयमा हामी विश्वस्त छौं ।

नेपाल सरकारको तर्फबाट गरिनु पर्ने कुटनितिक पहल

१. नेपाली विद्यार्थीहरु अष्ट्रेलिया सरकारको प्रवेशाज्ञा पश्चात नै त्यहाँ गएको हुँदा उनिहरुको विषयमा गम्भिर हुन नेपाल सरकारको तर्फबाट अष्ट्रेलिया सरकार समक्ष अनुरोध गर्नु जरुरी छ । यहाँ विचारणिय के छ भने विद्यार्थीले भर्ना लिएको कलेज अष्ट्रेलियन सरकारको निकायद्वारा स्विकृति प्राप्त भएर नै अष्ट्रेलियन हाई कमिसनले प्रवेशाज्ञा प्रदान गरेको हुनु पर्दछ ।

२. जुलाई १, २०१८ भन्दा पछि मात्र Diploma of Nursing (Accredited Course) अध्ययन गर्न IELTS मा प्रत्येक ब्याण्डमा ७ अंक ल्याउनु पर्ने प्रावधान आएकोले उक्त मिति भन्दा अघि AIBT मा नर्सिङ्ग विषयमा Diploma / Advanced Diploma अध्ययन गर्न गएका विद्यार्थीहरुको हकमा विशेष व्यवस्था गरि ANMAC Accredited कलेजहरुमा विद्यार्थीहरुले AIBT मा पढेको जति विषयको Credit Transfer / RPL सहित स्थानान्तरण गराईदिन अनुरोध गर्नु पर्ने आवश्यकता छ ।

भविष्यका लागि अपनाइनु पर्ने सावधानी

१. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले हाल वैदेशीक अध्ययनमा जाने नेपाली विद्यार्थीहरुले छनौट गरेका गन्तव्य मुलुकका सरकारसँग समवन्य गरि त्यहाँ स्थित स्विकृती प्राप्त कलेज, विश्वविद्यालय र शैक्षिक संस्थाहरुलाई सुचिकृत गरि सुचिकृत भएका संस्थाहरुको मात्र भर्ना प्रकृयामा सरिक हुन पाउने व्यवस्था गर्नु अति आवश्यक भएको छ ।

२. नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट सेवा सञ्चालन स्विकृती नलिइ अवैधानिक रुपमा परामर्श सेवा, भाषा शिक्षण लगायत औपचारीक अनौपचारीक अस्वस्थ्य व्यवसाय गरिरहेका व्यक्ति, संस्था तथा कम्पनीहरुलाई तत्काल कार्वाही गर्ने, वन्द गर्ने कार्य गर्नु पर्दछ ।

३. सेवा सञ्चालन स्विकृती, नविकरणको प्रकृया नियमित र छिटो छरितो बनाउन जरुरी छ ।

४. सेवा सञ्चालन स्विकृती प्राप्त परामर्शदाताहरुले प्रवाह गरि रहेको सेवाको प्रभावकारी अनुगमन, पुरस्कार, प्रोत्साहन तथा दण्ड सजायको व्यवस्था हुन अति आवश्यक भएको छ ।

५. नेपाल स्थित शैक्षिक परामर्शदाता कम्पनीहरुले आफुले प्रवाह गर्ने सेवा, प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्था, त्यसले संचालन गर्ने कार्यक्रम, कार्यक्रमको वैधानिकता, लाग्ने शुल्क लगायत आवश्यक सबै विषयमा आफु अत्यन्तै स्पष्ट भएर सोही बमोजिम विद्यार्थी, अभिभावकका विचमा सम्झौता गरेर मात्र परामर्श सेवा प्रदान गर्नु पर्दछ ।

६. नेपाल स्थित शैक्षिक परामर्शदात्रीहरु नेपाल सरकारका लागि उनिहरुले प्रवद्र्धन गर्ने विदेशी शैक्षिक संस्थाको सन्दर्भमा सबै भन्दा विश्वासनिय सुचना प्रवाहक हुनु पर्नेमा त्यो हैसियत कायम हुन सकेको छैन । आफुले प्रवद्र्धन गर्ने वैदेशीक शैक्षिक संस्थाको आधिकारीकता विषयमा समस्या उत्पन्न भए पछि मात्र थाहा पाउने विषय दुःखद हो । तसर्थ यो विषयमा नेपाल स्थित सबै शैक्षिक परामर्शदाताहरु गम्भिर एवम् सचेत रहँदै सो बमोजिमको योग्यता हाँसील गर्नु अनिवार्य छ । हामी आफ्ना सबै सदस्य कम्पनीहरुलाई उल्लेखित योग्यता हाँसील गर्न सक्षम बनाउने प्रयास गर्ने छौं ।

अन्तमा, मिडिया जगत समाजको चौथो अंग हो र मिडियाका माध्यमबाट नै समाजले सहि सुचना प्राप्त गर्दै अवधारणा निर्माण गर्न सक्ने कुरामा दुइमत हुन सक्दैन । मिडिया जगतले घटनाको वास्तविकता पत्ता लगाउन, दोषी पत्ता लगाउन तथा पिडितलाई न्याय दिलाउन समेत अहम भुमिका निर्वाह गर्दछ । हालको घटनाका सन्दर्भमा पनि मिडिया जगतको जागरुक सुचना सम्प्रेषणका लागि हामी हार्दिक धन्यवाद ज्ञापन गर्दछौं ।

यसका साथै सत्य तथ्य, प्रमाणीक एवम् यथार्थपरक सुचना सम्प्रेषणको सहायताबाट नै कुनै पनि समस्याको सहि र समुचित समाधानका उपायहरु प्हिचान हुन सक्ने कुरामा हामी विश्वस्त छौं । हाल अष्ट्रेलिया स्थित AIBT कलेजमा उत्पन्न समस्याका विषयमा कतिपय आधारहिन र लाञ्छानायुक्त विषयवस्तुहरु पनि केहि सञ्चार माध्यमहरुमा प्रकाशित भई रहेको विषय हाम्रो गम्भिर चासोको विषय बनेको छ । सम्वन्धित देशको नियम कानुन, त्यहाँ अध्ययनरत विदेशी विद्यार्थीहरुको लागि भएको वैधानिक व्यवस्था तथा पाउन सक्ने सुविधा तथा सुरक्षणका विषयमा यथेष्ट जानकारी बिना प्रसारण र प्रकाशन गरिने समाचारले समाजमा अन्यौलता तथा अनावश्यक आक्रोश मात्र उत्पन्न गराउने सम्भावना हुन्छ ।

हाल उत्पन्न समस्याका विषयमा पनि सरोकारवाला सम्वन्धित परामर्शदाता, कलेज, अष्ट्रेलियन सरकार, नेपाल सरकार लगायत सबैले आ–आफ्नो जिम्मेवारी बोधका साथ समस्या समाधानमा तदारुकता देखाई रहेको अवस्थामा अपमान एवम् अपत्तिजनक शब्दावलीहरु प्रयोग गरि व्यक्तिगत एवम् व्यवसायीक छवि धुमिल गराउने प्रकृतिका विषय वस्तुहरु प्रकाशीत एवम् प्रशारीत हुनु दःखद पक्ष हो भन्ने हाम्रो बुझाइ छ । तसर्थ वास्तविक, यथार्थपरक तथा प्रमाणीक विषय वस्तुहरु मात्र नेपाली सञ्चार माध्यमहरुमा प्रकाशित एवम् प्रसारीत हुनेछन् भन्ने विश्वास हामी यस क्षेत्रमा कृयाशिल सबै संस्थाहरु संयुक्त रुपमा व्यक्त गर्दछौं साथै सोही बमोजिम गरिदिन हुन सबै पत्रकार महानुभावहरुमा अपिल समेत गर्न चाहन्छौं ।

प्रतिक्रिया