Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

आन्दोलनरत शिक्षकलाई स्थानीय सरकारद्वारा सचेत

मंगलबार, २१ फागुन २०७५

बाग्लुङ - वार्षिक परीक्षाको मुखमा पठनपाठन अवरुद्ध हुने गरी आन्दोलनमा उत्रिएका शिक्षकलाई बाग्लुङ नगरपालिकाले सचेत गराएको छ । विनम्रता पूर्वक गरिएको आग्रहलाई अवज्ञा गरिएमा प्रचलित नियम कानून अनुसार कारवाही हुने भन्दै नगर शिक्षा शाखाले सचेत गराएको हो । 

स्वतः स्थायीको माग  गर्दै राहत शिक्षकहरु काठमाडौं केन्द्रित आन्दोलनमा उत्रिए पछि पठनपाठनमा असर परेको छ । शिक्षकको आन्दोलनलाई सम्बोधन गर्दै संघीय शिक्षा मन्त्रालयले स्थानीय सरकारलाई अनुरोध गरेकै दिन सोमबार सूचना जारी गर्दै नगरपालिकाको शिक्षा शाखाले शिक्षकलाई आफ्नो कर्तव्य नभुल्न पनि सम्झाएको छ । 

'विद्यार्थीहरु वर्ष भरिको सिकाइ परीक्षण गराई आफ्नो उपलब्धीको उचित प्रमाणीकरण गराउने तयारीमा जुटिरहेका छन्, शिक्षक तथा सबै शिक्षाकर्मीहरु एसईई लगायत अन्य वार्षिक परीक्षा सञ्चालनको तयारीमा जुटिरहेका छन्' शाखाद्वारा जारी सूचनामा भनिएको छ , 'यस्तो संवेदनशील घडीमा विभिन्न तह र कक्षाका परीक्षाको तयारी तथा सुसञ्चालनमा जिम्मेवारी पूर्वक आआफ्नो भूमिका निर्वाह गर्नु सबै शिक्षक तथा शिक्षाकर्मीहरुको अहम् कर्तव्य हो ।'

विद्यार्थीका लागि हरेक मीनेटको अत्यन्तै महत्व हुने भन्दै यो समयमा पठनपाठनमा असर पर्ने गरी हुने कुनै पनि क्रियाकलाप युक्तिसंगत नहुने सूचनामा भनिएको छ ।  राहत शिक्षकले विद्यालय बन्द गर्ने आह्वान गरेका छन् । उक्त आह्वानलाई हल्ला भन्दै नगरपालिकाले उक्त हल्लाका पछाडि नलागी पूर्ववत् रुपमा विद्यालय सञ्चालन गर्न शिक्षक, विद्यार्थी, अभिभावक, व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका पदाधिकारीहरुलाई समेत अनुरोध गरेको छ । 

शिक्षकको आन्दोलनले शैक्षिक कृयाकलापमा परेको असरलाई रोक्न आग्रह गरेको नगर शिक्षा प्रमुख ठाकुर जी तिवारीले बताए ।

'हामीले कुनै आन्दोलन केन्द्रित भन्दा पनि विद्यार्थीको पठनपाठन केन्द्रित कुरा गरेका हौं' उनले भने, 'अहिलेको अवस्था भनेको विद्याथीृको वर्ष भरीको सिकाइको परीक्षण गर्ने समय हो यस्तो संवेदनशील समयमा शिक्षकहरु कक्षा कोठामै हुनु पर्छ भन्ने हाम्रो धारणा हो ।'

नगरपालिकाले अगामी चैत १ गते देखि कक्षा ८ को परीक्षा सञ्चालन गर्दै छ भने १० गतेबाट कक्षा १० को अन्तिम परीक्षा एसईई सञ्चालन हुदैं छ । नगर भित्र ८८ सामुदायिक र ३१ निजी विद्यालय छन् । 

यो सामग्री पनि पढ्नुहोस्  : मौका यही हो – गरिहालौँ आन्दोलन, भईहालौँ स्वतः स्थायी !

 

प्रतिक्रिया