Edukhabar
बुधबार, १२ बैशाख २०८१
गतिविधि

सामुदायिक विद्यालयको छात्रवृत्ति ४४ लाख रुपैंया !

विहीबार, २३ फागुन २०७५

भक्तपुर - वागीश्वरी माध्यमिक विद्यालयले यस वर्ष छात्रवृत्तिका लागि ४४ लाख रुपैंया विनियोजन गरेको छ । विद्यालय स्थापनाको हीरक वर्षको अवसरमा बिहीबार आयोजित विशेष कार्यक्रममा उक्त रकमबाट कक्षा १ देखि १० सम्मका ३ सय ७६ जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिएको छ । उक्त छात्रवृत्ति केही अँश मात्रै भएको र बाँकी छात्रवृत्ति एसईईमा उत्कृष्ट, कक्षा ११–१२ मा संकायगत रुपमा हुने उत्कृष्ट, टेक्स तथा डिप्लोमामा उत्कृष्ट विद्यार्थीलाई स्वर्ण र रजत पदकबाट सम्मान गरिने प्रधानाध्यापक कृष्णप्रसाद धन्छाले बताए । 

शिक्षक तथा कर्मचारीहरुसँग वर्षको १ दिन बराबरको तलब सहयोगबाट वागीश्वरी विद्यार्थी सहायता कोषको व्यवस्था गरिएको छ । 

'यो दिर्घकालिन रुपमा छात्रवृत्ति वितरणको बलियो खम्बा बन्ने हाम्रो विश्वास हो' उनले भने, 'हाल सम्म यो कोषमा ६ लाख ६ हजार ६ सय ४९ रुपैंया जम्मा भईसकेको छ, यो वर्षेनी बढ्दै जाने रकम हो ।' 

पोहोर ४३ लाख ८५ हजार १ सय ६८ रुपैंया छात्रवृत्ति प्रदान गरिएको उनले बताए । 

विद्यालयको हीरक वर्षको उपलक्ष्यमा आयोजित २०४० साल देखि २०६४ साल सम्मका पूर्व विद्यार्थीको भेलाले गरीब तथा जेहेन्दार विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न एउटा कोष स्थापना गरेको छ । उक्त कोषमा अहिले सम्म ५ लाख ६१ हजार ८ सय ३७ रुपैंया जम्मा भएको धन्छाले जानकारी दिए । यसको ब्याजबाट आगामी वर्ष देखि थप विद्यार्थीलाई छात्रवृत्ति दिने उनले बताए । 

विद्यालयमा रहेको सिद्धिवहादुर अक्षयकोषमा १ लाख ७ हजार, नारायणी मानन्धर अक्षयकोषमा १ लाख ४० हजार र कृष्णराम कृष्णलक्ष्मी कोषमा १ लाख रुपैंया संकलित रहेको छ । यस बाहेकको रकम शिक्षा विकास तथा समन्वय एकाइ मार्फत् सरकारबाट प्राप्त हुने सहित विद्यालयलाई स्थानीय सरकार अन्र्तगत नगरपालिकाले दिने छात्रवृत्तिबाट जुटाईने धन्छाले बताए । 

विद्यालयमा ३ हजार ५ सय २४ विद्यार्थी अध्ययनरत छन् । सामुदायिक विद्यालयको गुणस्तर र व्यवस्थापन खस्कदैं गएकाले विद्यार्थी संख्या समेत घटेको खबर सार्वजनिक भईरहेका बेला यो विद्यालयले अपनाएका सुधारका अन्य उपाय सहित उक्त छात्रवृत्ति पनि अन्य विद्यालयका लागि अनुकरणीय हुन सक्ने देखिन्छ । 

विद्यालयको हीरक वर्ष र वागीश्वरी कलेजको ११ औं वार्षिकोत्सव अवसरमा बिहीबार आयोजित औपचारिक कार्यक्रममा विद्यालयले प्राप्त गरेको उपलब्धिको प्रशंसा गर्दै विभिन्न व्यक्तिहरुले शुभकामना व्यक्त गरेका छन् ।   

स्थानीय सरकारका प्रमुख समेत रहेका भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति, प्रदेश सभा सदस्य सुरेन्द्रराज गोसाई, नेपाल मजदुर किसान पार्टिका अध्यक्ष नारायणमान विजुक्छे, पूर्व सचिव महाश्रम शर्मा, शिक्षक, अभिभावक, विद्यार्थी लगायतले विद्यालयले गर्दै आएको प्रगतीको प्रशंसा गर्दै अझै प्रगतीका लागि आफूहरु विगतमा जस्तै साथमै रहने प्रतिवद्धता जनाउँदै दत्तचित्त भएर लाग्न विद्यालय परिवारलाई आग्रह गरेका छन् ।

विद्यालयले बिहीबार विशेष कार्यक्रम सहित स्थापनाको ६० वर्षे उत्सव मनाएको हो । हीरक वर्षे उत्सव अन्र्तगत विद्यालयले विगत ११ महिना देखि विविध कार्यक्रम सञ्चालन गर्दै आएको थियो । 

हीरक वर्षको अवसरमा विद्यालयले अभिभावक जागरण कार्यक्रम सहित शैक्षिक अन्तरक्रिया र बहस सञ्चालन गरेर सार्वजनिक शिक्षा सुधारका बारेमा ब्यापक बिमर्श गरेको थियो । यस्तै पूर्व शिक्षक र विद्यार्थी भेला र पूर्व प्रधानाध्यापक सम्मान, सांस्कृतिक कार्यक्रम, गुठी नाईकेको सम्मान, खेलकुद प्रतियोगिता, स्वास्थ्य परीक्षण र रक्तदान लगायतका सामाजिक कार्यक्रम समेत उक्त अवधिमा सञ्चालन गरिएको थियो ।

हीरक वर्ष मनाउन आयोजित कार्यक्रममा विद्यालयकी शिक्षक प्रेमलक्ष्मी श्रेष्ठलाई प्रमुख अतिथी समेत रहेका विजुक्छेले दीर्घसेवा सम्मानबाट सम्मानित गरे । कार्यक्रमको दोश्रो चरणमा विद्यार्थीले सांस्कृतिक प्रस्तुती दिएका थिए ।  

यसैबीच २०६४ सालमा स्थापना भएको कलेजमा त्रिभुवन विश्वविद्यालयको सम्बन्धनमा मानविकी संकाय तर्फ बिए, बिएसडब्लु र समाजशास्त्र तर्फ एमए र व्यवस्थापन संकायतर्फ बिबिएस र एमबिएसको पढाई हुन्छ । स्नातकोत्तर तर्फका कक्षाहरु सेमेष्टर प्रणाली अन्र्तगत सञ्चालनमा रहेको छ । सामाजिक र सांसकृतिक रुपमा पछाडि पारिएका विद्यार्थीले कलेजलाई अध्ययन थलोका रुपमा छनौट गरेको कार्यक्रममा कलेजका प्राचार्य धनकुमार श्रेष्ठद्वारा प्रस्तुत वार्षिक प्रगति विवरणमा उल्लेख छ । 

हाल कलेजमा ८ सय १८ जना विद्यार्थी अध्ययनरत रहेको जसमा ७० प्रतिशत भन्दा बढी छात्रा रहेको विवरणमा उल्लेख छ । 

वागीश्वरी माध्यमिक विद्यालयको सफलतका बारेमा एडुखबरले चार बर्ष अघि प्रकाशन गरेको सामग्री पढ्नुहोस् : शिक्षकले आफैंलाई पत्याउँदा 

 

प्रतिक्रिया