Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

अस्थायी शिक्षक अन्तर्वार्ताको नतिजा सार्वजनिक, ३ सय ९५ जना स्थायीमा सिफारिस

विहीबार, २३ फागुन २०७५

भक्तपुर - शिक्षक सेवा आयोगले गत असारमा लिएको कार्यरत अस्थायी शिक्षक  परीक्षा अन्र्तगत अन्तर्वार्ताको नतिजा सार्वजनिक गर्ने क्रम शुरु गरेको छ । पहिलो दिन बिहीबार निम्न माध्यमिक तह अन्र्तगत सबै क्षेत्रको गणित, गणित विज्ञान र कम्प्युटरको नतिजा सार्वजनिक गरेको आयोगले जनाएको छ । जसमा ३ सय ९५ जना स्थायीमा सिफारिस भएका छन् । जस अनुसार गणित विज्ञानमा ४५, गणितमा ३ सय ४९ र कम्प्युटरमा १ जना स्थायीका लागि सिफारिस भएको आयोगका अध्यक्ष ताना गौतमले जानकारी दिए ।

यस अघि आयोगले नतिजा सार्वजनिक गर्ना साथ वेभसाईट मार्फत् विवरण सार्वजनिक गर्दै आएकोमा यस पटक भने सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र नतिजाको क्षेत्र लेखे पछि मात्रै हेर्न मिल्ने बनाईएको छ । यसले गर्दा प्रविधिको पहुँचमा नभएका उम्मेद्वारले नतिजा थाह पाउन मुस्किल भएको गुनासो गरेका छन् ।

'आफ्नो मान्छे दुर्गम क्षेत्रमा हुनुहुन्छ, फोन पनि लाग्दैन न नम्बर थाह छ, न जन्ममिति ? कसरी थाह पाउनु रिजल्ट ?' एक जना शिक्षकका आफन्तले एडुखबरसँग टेलिफोनमा गुनासो गर्दै भने, 'नतिजा त सार्वजनिक कुरा हो किन गोप्य राख्नु परेको हो ? बुझ्न सकिएन ।'

आयोगले सबै नाम नामेसी सहितको विवरण सार्वजनिक गर्ने भए पनि केही समय लाग्ने भएकाले तत्काल सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र नतिजाको क्षेत्र लेखे पछि थाह पाउने गरी सार्वजनिक गरिएको गौतमले बताए ।

कूल २२ हजार ७६ पदका लागि गत असार २९ र ३० गते भएको अस्थायी शिक्षकको परीक्षाको लिखितको नतिजा आयोगले गत मंसिर १० गतेबाट सार्वजनिक गर्न शुरु गरेको थियो । लिखितमा आवश्यक पद भन्दा निकै कम उम्मेद्वार मात्रै पास भएका थिए । विज्ञापन भएको पदमा आवश्यकता अनुसार परीक्षामै सहभागी नभएको र भए पनि अन्र्तवार्ताका लागि छनौट हुन नसकेको नतिजा सार्वजनिक भएको थियो । तिनै तहमा गरी लिखितका लागि २३ हजार २ सय ८६ आवेदन परेको थियो । तर परीक्षामा २२ हजार २ सय ३५ जना सहभागी भएका थिए ।

अब बाँकी विषयको नतिजा क्रमैसँग सार्वजनिक गर्ने गौतमले बताए ।

अपडेट :

शिक्षक सेवा आयोगले कार्यरत अस्थायी शिक्षकको अन्तर्वार्ताको नतिजा थाह पाउने तरिका सच्याएको छ । सम्बन्धित उम्मेद्वारको जन्म मिति, सिम्बोल नम्बर र क्षेत्र लेखे पछि मात्रै थाह पाउने गरी आयोगको वेभसाईट मार्फत् सार्वजनिक भएको अन्तर्वार्ताको विवरणका कारण नतिजा थाह पाउन असहज भएको भन्दै गुनासो बढे पछि आयोगले सच्याएको हो ।  

शिक्षक आयोगले सच्यायो नतिजा थाह पाउने तरिका, अब नाम नामेसी नै हेर्न मिल्ने 

प्रतिक्रिया