Edukhabar
शुक्रबार, १४ बैशाख २०८१
अन्तैवाट

नेपाल भाषाको विद्यालय खोलिने

बुधबार, २९ फागुन २०७५

काठमाडौं २९ फागुन / शहरी क्षेत्रमा अंग्रेजी माध्यममा पढाउने विद्यालयको संख्या बढिरहँदा ललितपुर महानगरपालिकाले नेपाल भाषाको विद्यालय खोल्ने तयारी गरेको छ। बालबालिकालाई मातृभाषामा पढाउने उद्देश्यले नेपाल भाषाको विद्यालय खोल्नका लागि छलफल भइरहेको महानगरपालिकाका शिक्षा अधिकारी महेन्द्रबहादुर क्षेत्रीले बताए।

महानगरले केही वर्ष पहिलेदेखि प्रारम्भिक बाल विकास (इसिडी) मा नेपाल भाषाबाट पढाउन सुरु गरेको थियो। हाल १० इसिडी सञ्चालनमा छन्। विद्यालयका तल्ला कक्षबाट सुरु गरेर नेपाल भाषालाई माथिल्लो कक्षासम्म पुर्याउने उद्देश्य रहेको उनले बताए। उनले भने, ‘आधारभूत तहमा अभिभावकले चाहँदा आफ्नो भाषामा पढाउन पाउनेछन्।’

सामुदायिक विद्यालयले अभिभावकलाई आकर्षित गर्ने भन्दै अंग्रेजी माध्यममा पढाइरहँदा महानगरपालिकाले भने मातृभाषामा कक्षा सुरु गर्ने तयारी गरिएको जनाएको छ। कतिपय अभिभावक अंग्रेजीमा आकर्षित भइरहे पनि कतिपय अभिभावकले सन्तानलाई नेपाली र कतिपय अभिभावकले मातृभाषामा पढाउन चाहेको शिक्षा अधिकारी क्षेत्रीले बताए। अहिले सञ्चालनमा रहेका विद्यालयले मातृभाषामा पनि पढाउनुपर्नेमा उनले जोड दिए। उनले भने, ‘चाहेको माध्यममा पढाउन पाउने गरी विद्यालयले फरक फरक माध्यममा पढाउनुपर्छ।’

महानगरपालिकामा सामुदायिक ४० र संस्थागत १८२ गरेर जम्मा २०२ विद्यालय र प्रारम्भिक बाल विकास ७४ रहेका छन्। नेपाल भाषाको लिपि रञ्जना हो जुन नेपालले संयुक्त राष्ट्र संघमा सदस्यताका लागि आवेदन दिँदा आफ्नो मौलिक लिपि भनी पेश गरेको थियो। 

नागरिकबाट 

प्रतिक्रिया