Edukhabar
मंगलबार, ११ बैशाख २०८१
अन्तैवाट

थेसिस चोरी धन्दामा प्राध्यापकहरूकै कनेक्सन

शुक्रबार, ०१ चैत्र २०७५

काठमाडौं १ चैत / स्नातकोत्तर तह पासका लागि आवश्यक पर्ने थेसिस (शोत्रपत्र) र अनुसन्धानमूलक सामग्रीको व्यापक चोरी हुने गरेको पाइएको छ । क्याम्पसनजिक रहेका पुस्तक पसल र केही बिचौलियाबाट ती सामग्री चोरी हुने गरेको पाइएको हो । बौद्धिक चोरी भए पनि प्राध्यापक र विश्वविद्यालयबाट पनि पर्याप्त मात्रामा निगरानी र खोजतलास हुन सकेको छैन । उल्टो यस्तो अवैध कार्यमा केही प्राध्यापककै संलग्नता समेत रहने गरेको विद्यार्थीको आरोप छ ।

स्रोतका अनुसार मुख्यतः विश्वविद्यालय नजिक भएका स्टेसनरीसँग प्राध्यापक, सम्बन्धित लेक्चरहरूको कनेक्सन हुने र रकमको आधारमा अंक चढ्ने गरेको पाइएको छ ।

रोल्पा थवाङ घर भएका नवीन बुढा हाल नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसमा कानुन विषय लिएर स्नातकोत्तर तहमा अध्ययनरत छन् । उनले अनुसन्धानमूलक सामग्री पुस्तक पसलबाटै किने । ‘मलाई जसरी भए पनि रिसर्च बुझाउनुपर्नेछ । त्यही भएर विश्वभाषा क्याम्पसअगाडिको एक पुस्तक पसलबाट प्रतिपेपर ५० रुपैयाँका दरले ३ सय रुपैयाँमा किनें,’ उनले भने ।

त्रिभुवन विश्वविद्यालयबाट एमबीएसको लिखित परीक्षा भर्खरै सकेका प्रविन ओझाले भने, ‘हतार हुन्छ । त्यही भएर भएको थेसिसलाई तोडमोड गरेर बुझाएँ ।’
विद्यार्थीहरूले उत्तीर्ण हुन थेसिसका लागि पाँचदेखि २० हजार रुपैयाँसम्म खर्च गर्दै आएका छन् ।

त्रिभुवन विश्वविद्यालयमा अध्ययनरत विद्यार्थी नेता मदन चापागाईंका अनुसार थेसिस सिर्जनात्मक हुनुपर्छ भनेर पटक–पटक कुरा उठाए पनि लागू हुन सकेको छैन । उनले भने, ‘विश्वविद्यालयमा बुझाइने अधिकांश थेसिसको गुदी कुरा सबैको उही हुन्छ । नाम, थर र सिम्बोल नम्बर मात्रै परिवर्तन भएको देखिन्छ ।’

विद्यार्थीहरूलाई बिक्रेताहरूले उपलब्ध गराएको अनुसन्धानमूलक सामग्री जस्ताको तस्तै सम्बन्धित प्राध्यापकलाई पेस गर्न मिल्ने सुझाव दिन्छन् ।
स्नातकोत्तर तहमा गणित विषयको परीक्षा उत्तीर्ण गरेका नवीन बस्नेतले भने, ‘मलाई पुस्तक पसलको साहुजीले अनुसन्धानमूलक सामग्रीमा आफ्नो नाम, सिम्बोल नम्बर र क्याम्पस फेरेर जस्ताको तस्तै प्राध्यापकलाई बुझाउँदा हुन्छ भन्नुभयो । के गर्नु बुझाउनुपर्ने समय आइहाल्यो ।’

थेसिस र अनुसन्धानमूलक सामग्री चोरी हुँदा नियमित अध्ययन गर्ने र समयमा थेसिस बुझाउने विद्यार्थीहरू मारमा पर्ने गरेका छन् । सम्बन्धित विश्वविद्यालयले समेत थेसिस चोरीको विषयमा आवश्यक कारबाही प्रक्रिया अघि बढाउन नसकेको देखिएको छ ।

‘एड्रेसिङ इरेगुलारिटिज एन्ड इम्प्रोभिङ दि क्वालिटी अफ डिग्री रिसर्च वक्र्स एट त्रिभुवन युनिभर्सिटी’ मा त्रिविमा गुणस्तरहीन थेसिसको उत्पादन बढ्नुमा विद्यार्थी, शोध निर्देशक र समग्र विश्वविद्यालयकै कमजोरी हुने गरेको उल्लेख छ ।

त्रिभुवन विश्वविद्यालय व्यवस्थापन संकायका डिन डिल्लीराज शर्मा थेसिस दोहोरिने विषयलाई स्विकार्छन् । उनले भने, ‘हामीले कतिपय थेसिस रिजेक्ट गरेर पुनर्लेखन गर्न पनि भनेका छौं । थेसिस चोरेको थाहा पाउने सफ्टवेयर एक वर्षभित्र बन्ने सम्भावना छ । त्यो भयो भने केही हदसम्म रोकिन्छ ।’

राजधानीमा प्रशान्त वलीले लेखेका छन् । 

प्रतिक्रिया