एसएलसीको नाम त बदलियो केही चरित्र निरन्तर !


यस वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई चैत १० गते बाट सुरु हुँदैछ । शिक्षा ऐनमा भएको आठौं संशोधनले विद्यालय शिक्षाको संरचना बदलेसँगै  ९० बर्ष देखिको एसएलसीको नाम सँगै नतिजा प्रकाशन प्रणाली पनि परिवर्तन भएको छ । नाम त बदलियो तर यसका केही चरित्र निरन्तर छन् । त्यहि मध्येको एक हो – परीक्षामा चीट चोर्ने चोराउने संस्कार !

यो परीक्षा अन्य कक्षाको जस्तै हो भन्नु भन्दा पनि चाहिंदो भन्दा बढी प्रचारका कारणबाट विद्यार्थीमा मनोवैज्ञानिक त्रासादी अर्को डरलाग्दो अवस्था हो । यो आलेख, त्यस तर्फ भन्दा पनि चीट चोराउने विगत देखिको प्रथा र यसले पारेको असरका बारेमा केन्द्रित छ ।

विद्यार्थीलाई 'एक्जामिनेशन फिभर'ले छोइसकेको छ । फलामे ढोकाको नाममा विद्यार्थी माथि पार्दै आईएको दवाव कायमै छ । परीक्षा नियन्त्रण कार्यालयले परीक्षालाई मर्यादित गर्न चीट चोर्ने र चोराउने विरुद्ध कारवाहीको व्यवस्था गरे पनि त्यसमा कमी नआउनुको पछिल्तिर जसरी पनि राम्रो अंक ल्याउनु पर्छ भन्ने यही दवावले काम गरिरहेको छ ।

अंग्रेजी शब्दको फरक हिज्जे अनुसार चीट शव्दको अर्थ - एक सानो कागजको टुक्रा र अर्को निहीत स्वार्थ पूर्तीका लागि विश्वासघात गरी गरिने अनुशासनहीन धूर्त कामलाई जनाउँछ ।

परीक्षामा सानो कागजको टुक्रामा उत्तर लेखेर निरीक्षकको आँखा छली चोर्ने काम हुने भएकोले वर्तमानमा चीट शब्द अंग्रेजीका उल्लेखित दुबै अर्थको रिमिक्सका रुपमा प्रयोग भएको पाइन्छ । अझ एसईई परीक्षाको समयमा त चीट सर्वत्र बहसको विषय बन्ने गरेको छ । अन्य क्षेत्रमा पनि नेपालीले यसलाई विना हिचकिचाहट आफ्नो बानी  बेहोरामा उतारेको बग्रेल्ती उदाहरण पाईन्छ । एकले अर्कालाई ठग्ने झुक्याउने धोखा दिने काम हाम्रो संस्कार र संस्कृति बन्दै गएको छ ।

राष्ट्रिय स्तरमा सञ्चालित यस परीक्षामा एक किसिमले चीट हाहाकार नै हुने गरेकोले परीक्षा मर्यादित बनाउन  हर प्रयास गरेता पनि निमिट्यान्न पार्न पनिकालाई हम्मेहम्मे परेको यथार्थ जगजाहेर छ । एसईई परीक्षामा मात्र चीटको चर्चा किन व्यापक हुन्छ ? कारण खोजिनु पर्दछ । चीट चोर्न चोराउन विद्यार्थी शिक्षक र अभिभावक किन मरिहत्ते गर्छन् ? बहसको विषय बन्नु पर्दछ । परीक्षा सञ्चालन समयमा गरिने कडाई चीट निराकरणको एक मात्र उपाय हो त ? सार्थक अध्ययन अनुसन्धानबाट समस्याको जरो र समाधानको चुरो पहिल्याउन विलम्व भैसकेको छ । शैक्षिक विकृति विसंगतिरुपी रोगको एक लक्षण मात्र  हो सदाबहार चीट लोकप्रीयता । पाठ्यक्रमले तोकेको सिकाइ उपलव्धी हाँसिल गर्ने गरी तोकिएको समयावधी पठनपाठन गरेर विद्यार्थीलाई सहज परीक्षा दिने गरी सक्षम बनाउन असफल हुनुको विकल्प हो चीट । यस प्रकार चीटको दोषी विद्यार्थीलाई मात्र बनाएर अन्य सरोकार पक्ष उम्किन खोज्नु अक्षम्य भूल हो । अर्को तर्फ चीट चोर्नु चोराउनु र चोर्न विवस बनाउने सबै गतिबिधी एक प्रकारको शैक्षिक भ्रष्टाचार हो । चीट चोरर पास हुनु र सुन्निएर मोटाउनु एकै हो । चीट चोरेर अधिक अंक ल्याएर सफल भए पनि पछि व्यवहारमा असफल हुँदाको ग्लानी युक्त यथार्थता व्यहोर्दाको क्षण पश्चाताप पूर्ण हुन्छ । तसर्थ वास्तवमा चीटले गर्दैन कसैको हीत ।

चीट चोर्ने चोराउने तथा परीक्षालाई विथोल्ने जो कोहीलाई कसुर अनुसार परीक्षाबाट निस्कासन तथा ६ महिना सम्म जेल सजाय वा एक लाख सम्म जरिवाना गर्ने प्रावधान रहेको छ । अनि मर्यादित परीक्षा सञ्चालन गर्ने उत्कृष्ट विद्यालयलाई पुरष्कृत गर्ने नीतिले परीक्षा सञ्चालनमा सुधार आउने अपेक्षा गर्न सकिन्छ । शैक्षिकसत्र भरी हुने पठनपाठनलाई प्रभावकारी बनाउन सरोकार पक्ष उदासिनताको प्रतिफल हो चीट । शिक्षक, अभिभावक, विद्यालय तथा नीति निर्माताले विद्यार्थीलाई केन्द्रविन्दुमा राखेर इमान्दारी पूर्वक शैक्षिक गतिविधी सञ्चालनले मात्र परीक्षाको समयमा धेरै चर्चामा आउने चिटीङ् संस्कारलाई निरुत्साहित गर्न बल पुग्दछ ।  

परीक्षालाई अधिकतम उपलब्धी मूलक बनाउन अभिभावकको पनि उत्तिकै महत्व रहन्छ । छोराछोरीलाई अनावश्यक दवाव नदिने, उनीहरुको आहार विहारलाई स्वस्थकर बनाउने, पढ्ने लेख्ने सामग्री तथा बस्ने स्थानको सहजता प्रदान गर्ने  तथा उत्साह र ढाढस दिएर मर्यादित रुपमा परीक्षा दिन प्रोत्साहित गर्नु एक असल अभिभावकको जिम्मेवारी भित्र पर्दछ । जसले विद्यार्थीलाई परीक्षा देखि डराउने रोग एक्जामफोविया हुनबाट बचाउँछ । यस मानेमा एसईई समझदार अभिभावक भए नभएको जाँचिने परीक्षा हो भन्दा अन्यथा नहोला ।

विद्यालयले पनि विद्यार्थीको रुची क्षमता अनुसारको विषयको छनौट तथा परीक्षालाई सहज रुपमा सामना गर्न सक्ने योग्यताको विकास गराउनु पर्दछ । विद्यार्थीको वैयक्तिक विभिन्नता तथा उसको प्रगतिको गति र क्षमताको आधारमा पठन पाठनको  अभ्यास गर्ने अवसरको चाँजोपाँजो मिलाउनाले समग्रमा विद्यालयको उपलब्धी  उच्च हुने यर्थाथता हो । किन कि एसईई नतिजाको आधारमा विद्यालयको छवी  सरकार र समुदायमा कायम हुने गरेको छ । तसर्थ आफ्ना विद्यार्थीको उपलव्धि स्तर उच्चतम बनाउन अधिकाधिक सकारात्मक प्रयास गर्नुपर्ने हुन्छ ।

प्रश्नपत्र निर्माणमा बैज्ञानिकता, बस्तुनिष्ठता  तथा गुणस्तरियताले पनि परीक्षाको नतिजालाई असर पार्द छ। व्यवस्थित, मर्यादित, निष्पक्ष, स्वच्छ र सौहाद्र वातावरणमा परीक्षा सञ्चालन गर्न परीक्षा केन्द्र निर्धारण, भौतिक तथा मानवीय व्यवस्थापन एवं उनीहरुले परीक्षार्थीलाई गर्ने व्यवहारबाट  परीक्षाको गुणस्तरीयताको हैसियत निक्र्यौल गर्दछ । विद्यार्थीले परीक्षालाई सामान्यरुपमा आत्मसात गर्ने खालको वातावरण बनाउन सकेमा पनि चिट संस्कारलाई निरुत्साहित गर्न टेवा पुग्दछ ।

माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा प्रत्यक्ष रुपमा विद्यार्थीको लागि मात्र फलामे ढोका भए जस्तो लागेता पनि परोक्ष्य रुपमा राज्यले विद्यालय शिक्षा सम्बन्धि अख्तियार गरेको नीति नियम तथा कार्यव्रmम  जाँच्ने कसी पनि हो । त्यस्तै विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावकले विद्यार्थीको पठनपाठनमा कतिको योगदान पु¥याउन चासो देखाए भन्ने  कुराको एकिन गर्ने एक  सशक्त सूचक  विद्यार्थीले प्राप्तगरेको प्राप्ताङ्क र उत्तीर्ण प्रतिशत नै हो । तसर्थ एसईई विद्यार्थीको लागि मात्र परीक्षा नभएर  सम्बन्धित निकाय, विद्यालय, शिक्षक, अभिभावक लगायत सरोकारपक्षको पनि परीक्षा हो । असफलताको प्रत्यक्ष क्षतिको भागेदार विद्यार्थी भएता पनि परोक्ष रुपमा अन्तत्वगत्वा समग्र राष्ट्रलाई पर्छ ।  यसको सही विश्लेषण र व्याख्या गरी आ आफनो जिम्मेपारी र जवाफदेहिता बहनगर्न ढिलो भैसकेको छ । तसर्थ एसएलसीलाई मर्यादित एवं अनुशासित रुपमा सञ्चालन गर्न सबै क्षेत्रबाट इमान्दारीपूर्वक आ–आफ्नो भूमिका निर्वाह गर्न सक्यौें भने  विद्यार्थीले कर र डर ले नभई रहरले परीक्षा दिन उत्साहित हुन्छन् ।

कार्की शिक्षा मन्त्रालयका पूर्व उपसचिव हुन् ।