Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

सरकारी स्कुलमा ६ शिक्षक मध्ये ५ जना एकै परिवारका

सोमबार, ०४ चैत्र २०७५

काठमाडौं ४ चैत / महोत्तरीको सोनमा गाउँपालिका–६ मगरथानास्थित नेवालाल राष्ट्रिय आधारभूत विद्यालय एउटै परिवारका सदस्यले जागिर खाने केन्द्र बनेको छ । नयाँ पत्रिकाका अनुसार विद्यालयका ६ मध्ये पाँच शिक्षक र एक लेखा कर्मचारी एउटै परिवारका सदस्य हुन् । यो विद्यालय स्थानीयस्तरमा ‘पारिवारिक विद्यालय’का नामले चिनिन्छ । 

प्रधानाध्यापक सीताशरण यादव स्थायी शिक्षक हुन् । उनकी छोरी संगीता यादव बालविकास कक्षाकी अस्थायी शिक्षिका हुन् । यस्तै, लेखा कर्मचारी अरविन्द यादव सीताशरणका ज्वाइँ हुन् । उनले निजी स्रोतमा जागिर खाएका छन् । अस्थायी शिक्षक वीरेन्द्र यादव र राहत शिक्षक धर्मेन्द्र यादव विद्यालयका तत्कालीन व्यवस्थापन समिति अध्यक्ष विश्वेश्वर यादवका भतिजा हुन् । जब कि प्रअ सीताशरण विश्वेश्वरका फुपूका छोरा हुन् । बालविकासकी अस्थायी शिक्षिका चन्द्रिका यादव धर्मेन्द्रकी श्रीमती हुन् । अर्की राहत शिक्षक सावित्री यादव मात्रै बेग्लै परिवारकी हुन् । तर, प्रअ सीताशरण सबै शिक्षक–शिक्षिकालाई विद्यालय व्यवस्थापन समितिकै निर्णयअनुसार प्रक्रिया पु¥याएरै राखिएको बताउँछन् ।

गाउँपालिका अध्यक्ष राजकुमार यादव भन्छन्–हाजिर मात्रै गर्नेलाई कारबाही गर्न खोज्दा उल्टै मुद्दा हालियो

विद्यालयको अवस्था दयनीय छ । गाउँपालिकामै सबैभन्दा कमजोर छ यो स्कुल । स्थानीय तहको मातहत आइसकेपछि हामीले शिक्षा कार्यविधि बनायौँ । हाजिर मात्रै गरेर तलब खाने शिक्षकलाई कारबाही गर्न खोज्दा हामीविरुद्ध नै मुद्दा हालिएको छ । शिक्षा कार्यविधिविरुद्ध उनीहरूकै निकटका शम्भु यादवले सर्वोच्च अदालतमा मुद्दा हालेकाले उल्टै महिनामा एकपटक तारेख लिन जानुपरेको छ ।

६ शिक्षक रहेको नेवालाल राष्ट्रिय आधारभूत विद्यालयमा पढ्न आउने विद्यार्थीको संख्या मुस्किलले २० पुग्छ । त्यसैले परिवारभित्रैका शिक्षक–शिक्षिका पालैपालो विद्यालय आउँछन् । नियमित २ जना मात्रै शिक्षक आउने गरेको स्थानीय बताउँछन् । 

प्रअ सीताशरण यादवले विद्यालयको पठनपाठन कमजोर रहेको स्वीकार गरे । ‘विद्यार्थी पढ्नै आउँदैनन् । हाम्रो स्कुलका वरिपरि निजी विद्यालय पनि छन्,’ यादवले भने । 

प्रधानाध्यापक सीताशरण यादव भन्छन्–गाउँ–समाजको माया लागेर मात्रै यति दुःख गरेको हुँ 

मैले एक्लै निर्णय गरेको होइन । व्यवस्थापन समितिका अध्यक्षसहितले गरेको निर्णयलाई स्वीकार गरेको हुँ । आफ्नै मान्छे राख्यो भन्नुहुन्छ, तर विद्यालयको अवस्था देखेर त मलाई नै यहाँ बस्ने इच्छा छैन । आफ्नो गाउँ–समाजको माया लागेर मात्रै जान सकेको छैन । 

नयाँ पत्रिकामा हदिश खुद्दारले लेखेका छन् । 

प्रतिक्रिया