Edukhabar
विहीबार, १३ बैशाख २०८१
अन्तैवाट

बयान दिँदादिँदै भारततिर फरार

सोमबार, ०४ चैत्र २०७५

काठमाडौं ४ चैत / अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धान दायरामा रहेका नेपाल इन्जिनियरिङ कलेजका पूर्वअध्यक्ष लम्बोदर न्यौपाने फरार भएका छन् । उनी स्थलमार्गबाट पोखरा–भैरहवा हुँदै भारत गएका हुन् । 

‘उनले दुई पटक बयान दिइसकेका थिए भने लगत्तै अर्को बयानका लागि डाक्ने योजना थियो,’ अख्तियार उच्च स्रोतले कान्तिपुरसित भन्यो, ‘एकाएक उनको फोन अफ भयो, घरमा थिएनन् । अनुसन्धान गर्दा गाडीबाट भारततिर हिँडेको पुष्टि भइसकेको छ ।’

स्रोतका अनुसार न्यौपाने घरमा नभएपछि उनका सहयोगी जुजुभाइ महर्जन र रोहित घिमिरेलाई प्रहरीले अख्तियारमा झिकाएर सोधपुछ गरेको थियो । उनीहरूले न्यौपाने भारत गएको बताएका हुन् । फोनसम्पर्कको अनुसन्धान गर्दा घिमिरे र महर्जनलाई भारतीय नम्बरबाट सम्पर्क भएको भेटिएको अख्तियारस्रोतले बतायो । कान्तिपुरको सम्पर्कमा रहेका न्यौपानेका एक नातेदारका अनुसार बयानका क्रममा हुन सक्ने पोलिग्राफ परीक्षणका विषयमा उनी चिन्तित थिए । ‘छानबिनका क्रममा थुनामा पर्ने डरले भागेका हुन सक्छन्,’ स्रोतले भन्यो ।

न्यौपानेमाथि नेपाल इन्जिनियरिङ कलेजको अनियमितता ढाकछोप गर्न ७८ लाख रुपैयाँ घूसबुझाएको आरोप छ । उनले ऊक्त रकम ४० लाख र ३८ लाख गरी दुई किस्तामा अख्तियारका आयुत्त राजनारायण पाठकलाई पठाइदिएका थिए । घूस प्रकरणको भिडियो टेप बाहिरिएपछि अख्तियारले ३ सदस्यीय टोली गठन गरी अनुसन्धान गरिरहेको छ ।

स्रोतका अनुसार पाठकलाई थुनामा नराखी तारेखमा अनुसन्धान गर्ने तौरतरिकामा केही समस्या देखिएका थिए । ‘कलेजबाट करोडौं रकम निकालेको, अस्ट्रेलियामा स्थायी आवास अनुमतिपत्र (पीआर) भएको व्यक्ति नेपालको कुनै सार्वजनिक पदमा थिएन, यसै पनि ऊ जोखिमपूर्ण अवस्थामा थियो भनेर आकलन हुनुपर्ने हो,’ अख्तियारस्रोतले भन्यो, ‘थुनामा नराख्दा प्रमाण नष्ट हुने र अनुसन्धान प्रभावित हुने आशंका हुन्छ भने उदारता देखाउनुपर्ने थिएन, त्रुटि भएकै हो ।’

कलेजको असन्तुष्ट पक्षले न्यौपानेविरुद्ध अस्ट्रेलियाको नेपालस्थित दूतावासमा उजुरीसमेत दिइसकेको छ । तर अस्ट्रेलियाकै पीआर पाएको व्यक्तिका बारेमा नागरिक स्तरमा दिइएको उजुरीको गाम्भीर्यबारे आकलन भइसकेको छैन । न्यौपाने भारतबाट अस्ट्रेलिया जान सक्ने अख्तियार टोलीको अनुमान छ । नेपाल र अस्ट्रेलियाबीचपारस्परिक कानुनी सहायता आदानप्रदान सन्धिसमेत भइसकेको छ ।

नेपाल इन्जिनियरिङ कलेजको अनियमितता मिलाउन विभिन्न निकायमा मिलेमतो गरेको आरोप खेपिरहेका न्यौपानेले सामाजिक संस्थालाई निजी बनाउने प्रयाससमेत गरेका थिए । उनको नेतृत्वमा नेपाल इन्जिनियरिङ कलेजमा झन्डै ५८ करोड ८६ लाख रुपैयाँ अनियमितता भएको भेटिएको थियो ।

‘जी पौड्याल एन्ड एसोसिएट्स’ नामक चार्टर्ड एकाउन्टेन्सी फर्मले गरेको लेखापरीक्षणबाट विभिन्न व्यक्तिका नाममा २३ करोड १० लाख २३ हजार रुपैयाँ अनियमित रूपमा भुक्तानी भएको खुलेको थियो । कलेज सञ्चालक तथा अन्य पदाधिकारीले गरेको ३३ करोड ७६ लाख ७३ हजार ४९ रुपैयाँ खर्चलाई लेखापरीक्षणले गैरकानुनी ठहर्‍याएको थियो । त्यसबाहेक विद्यार्थीको धरौटी फिर्ता गरेको भनी २ करोड २२ हजार ५ सय १५ रुपैयाँ खर्च देखाइएको थियो ।

कलेजका तत्कालीन अध्यक्ष न्यौपानेले सबैभन्दा बढी गैरकानुनी रूपमा रकम झिकेको लेखापरीक्षण प्रतिवेदनबाट देखिन्छ । उनले ८ करोड ५८ लाख रुपैयाँ लेखाको रेकर्डमा रहने गरी रकम निकालेका थिए भने उनले लेखा प्रणालीको सूचनाबिनै ४ करोड ७४ लाख रुपैयाँ झिकेको प्रतिवेदनमा उल्लेख छ । प्रतिवेदनअनुसार उनले लिएको गैरकानुनी भुक्तानीको कुल अंक १३ करोड ३२ लाख रुपैयाँ थियो ।

कान्तिपुरबाट 

प्रतिक्रिया