Edukhabar
विहीबार, १५ चैत्र २०८०
खबर/फिचर

कर्मचारी सरुवा गरिदिने शिक्षकको धम्कि, सांसदले जनाए आपत्ति

सोमबार, ०४ चैत्र २०७५

काठमाडौं - स्थानीय सरकारका कर्मचारीलाई शिक्षकले सरुवा गरिदिने धम्कि दिएको भन्दै राष्ट्रिय सभा बैठकमा सांसदले आपत्ति जनाएका छन् ।  

मोरङ्को सुन्दर हरैचा नगरपालिका स्थित सुकुना बहुमुखि क्याम्पसमा पढाउने शिक्षकहरुले कर्मचारी सन्तोष बराललाई सरुवा गरिदिने धम्कि दिएको भन्दै सोमबारको बैठकमा प्रमुख प्रतिपक्षी दलका सांसद रमेशजंग रायमाझिले आपत्ति जनाएका हुन् । आफूले पढाउने विद्यालयमा झोले शिक्षक राखेर १९ जना शिक्षकले क्याम्पस पढाउँदै आएका र उनीहरुले दोहोरो सुविधा लिएको भन्दै उक्त कार्य तत्काल रोक्न सांसद रायमाझिले माग गरे ।

'१९ जना शिक्षक क्याम्पसमा पनि पढाउने र स्कुलमा पनि पढाउने क्याम्पस प्रमुख पनि हुने स्कुल प्रमुख पनि हुने' उनले भने 'एउटै ब्यक्तिले  दोहोरो सुविधा प्राप्त गर्न सक्दैन, शिक्षा ऐनको दफा १६ मा एउटै व्यक्तिले दुई पद र सुविधा प्राप्त गर्न सक्दैन र त्यस्तालाई तुरुन्तै शिक्षक पदबाट बर्खास्त गर्न सकिन्छ भनिएको छ, म सरकारको ध्यानाकर्षण गराउन चाहन्छु ।' 

नागरिक समाज सहित नियमन गर्ने निकायले खबरदारी गर्दा पनि शिक्षकले नसुनेको भन्दै सांसद रायमाझिले दुबै तर्फबाट सञ्चयकोषको रकम जम्मा नहुने हुँदा उनीहरुले क्याम्पस तर्फबाट १० प्रतिशत रकम तलबमा गाभेर खाने गरेका दावी गरे । शिक्षकले लिएको दोहोरो सुविधा नियम विपरित भन्दै चौमासिक तलब निकासाको सिफारिस नगर्ने बरालको अडान पछि शिक्षकहरुले सरुवा गरेर रोल्पा रुकुम पुर्र्याईदिने धम्कि दिएको उनले बताए ।  

'शिक्षकहरुलाई कर्मचारी सरुवा गर्ने अधिकार कहाँबाट आयो ?' प्रश्न गर्दै उनले भने, 'पञ्चायतकालमा खेलकुद परिषद् भूमिगत गिरोहले सञ्चालन गर्छ भन्ने सुनिन्थ्यो आज सरकार पनि यस्तैका नाईकेले चलाएका छन् की ?'

उक्त घटना  पछि सांसद रायमाझिले शिक्षा मन्त्रालय सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको समेत ध्यानाकर्षण हुनु पर्ने माग गरेका छन् ।

संविधानले विद्यालय शिक्षाको अधिकार स्थानीय सरकार मातहत गरेसँगै नियमनमा कडिकडाउ गर्न थाले पछि शिक्षकका संघ संगठनहरुले विरोध गर्दै आएका छन् । 

राज्यको श्रोतको दोहन गरेर सरकारले लिएको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य हासिल नहुने भन्दै सांसद रायमाझिले प्रधानमन्त्री निवास वालुवाटार र मन्त्री निवास पूल्चोकमा मात्रै समृद्धि आएर पुग्ने हो ? भन्दै सरकार प्रति समेत कटाक्ष गरेका छन् । 

प्रतिक्रिया