Edukhabar
बुधबार, १२ बैशाख २०८१
खबर/फिचर

विद्यालयको गुणस्तर सुधार्न प्रज्ञार्थी तयार

विहीबार, ०७ चैत्र २०७५

काठमाडौं - ७ जिल्लाका ६७ सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर सुधार्न ६८ प्रज्ञार्थी तयार भएका छन् । विभिन्न पेशा र क्षेत्रबाट छनौट गरिएका युवालाई प्रशिक्षित गरी टिच फर नेपालले विद्यालयमा पठाउँदै आएको छ । यो वर्ष १ हजार ६ सय भन्दा बढी आवेदन बाट उनीहरुको छनोट गरिएको थियो । उनीहरुलाई गत माघ २० गतेबाट बाट चितवनको सौराहामा ४५ दिने आवासीय तालिम दिईएको थियो । तालिम पुरा गरेका युवाहरुले आउँदो शैक्षिक सत्रबाट छनौटमा परेका सामुदायिक  विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्ने प्रयास गर्ने छन् ।

विद्यालयसँगको साझेदारीमा उक्त संस्थाले विभिन्न विश्वविद्यालयहरूबाट स्नातक उत्तीर्ण युवाहरुलाई छनौट तथा तालिम पश्चात अंग्रेजी,गणित र विज्ञान शिक्षकका रूपमा उपलब्ध गराउँदै आएको छ । यस अघि ललितपुर, सिन्धुपाल्चोक, धनुषा, दाङ, लमजुङ  र पर्साका विद्यालयमा कार्य गर्दै आएको उक्त संस्थाले आगामी शैक्षिक सत्र देखि तनहुँका विद्यालयहरूमा पनि यो अभियान सञ्चालन गर्दै छ । उक्त अभियान अन्र्तगत १ सय ३८ प्रज्ञार्थी शिक्षकहरू विद्यालयमा कार्यरत रहेको संस्थाले जनाएको छ । 

यसरी छनौट भएका युवाहरुले १५ हजार भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्ने संस्थाको दावी छ । ४५ दिने उक्त तालिममा प्रज्ञार्थीहरुले कक्षा कोठा व्यवस्थापन, सिकाइ विधि मात्र नभई नेपाली समाजमा रहेका विकृति, विसंगति र तिनको हलका बारेमा पनि छलफल गरेका थिए । 

संस्थाले यो सहित सातौं समुह तयार पारेको छ । हरेक समूहले २ बर्ष उनीहरुले छनौट गरेका विद्यालयमै रहेर कार्य गर्ने छन् । आफूहरुले शुरु गरेको उक्त अभियानले नेपालमा विद्यमान शैक्षिक असमानता अन्त्यका लागि योगदान गरेको भन्दै  संस्थाकी सह संस्थापक स्वस्तिका श्रेष्ठले कक्षा कोठामा जान तयार प्रज्ञार्थीबाट विगतमा जस्तै यस बर्ष पनि आफु उत्साहित रहेको बताईन् । 

२०७० मा ललितपुरबाट शुरु संस्थाको उक्त अभियान २०७१ देखि सिन्धुपाल्चोक, २०७२ देखि धनुषा,२०७५ देखी दाङ, लमजुङ, पर्सा गरी ६ वटा जिल्लाहरुमा विस्तार गरिएको थियो । आगामी शैक्षिक सत्रबाट उक्त अभियान तनहुँमा पनि शुरु गर्न लागिएको हो । तनहुँ संस्थाका संस्थापक शिशिर खनालको गृह जिल्ला पनि हो ।

 

प्रतिक्रिया