Edukhabar
विहीबार, ०६ बैशाख २०८१
खबर/फिचर

शिक्षा ऐन नबनाई सकियो संसद अधिवेशन, प्रधानमन्त्री भन्छन् : ठूलै देशले नसकेको काम गर्दै छौं !

आइतबार, १० चैत्र २०७५

काठमाडौं - राष्ट्रिय शिक्षा ऐन निर्माण नगरीकनै संसदको तेश्रो अधिवेशन सकिएको छ । देशको संरचना र व्यवस्थामा भएको परिवर्तनलाई कार्यान्वयन गर्न आवश्यक भए पनि नयाँ ऐन निर्माण गर्न सरकार असक्षम भएको छ । विधेयक अधिवेशनका नामले समेत चिनिने हिउँदे अधिवेशनले समेत शिक्षा ऐन निर्माण गर्न नसक्नु सरकारको कमजोरी हो । यसले गर्दा शिक्षा क्षेत्र थप लथालिङ् हुने बाटोमा उभिएको छ । 

विद्यालय शिक्षाका अधिकार स्थानीय सरकार मातहत भएको अवस्थामा त्यसको कार्यान्वयन गर्न सहज वाटो निर्माणका लागि पनि ऐनको खाँचो थियो । तर, विद्यालय शिक्षामा भएको निजी लगानीलाई गर्ने सम्बोधनका विषयमा सरकार माथि परेको तिव्र दवावका कारण ऐन निर्माण धकेलिएको श्रोतले जनाएको छ । मौलिक हक अन्र्तगत संविधानले व्यवस्था गरेको शिक्षाको अधिकार कार्यान्वयनका लागि विद्यालय शिक्षामा भएको निजी लगानीलाई गुठिमा रुपान्तरण गर्न उच्चस्तरीय राष्ट्रिय शिक्षा आयोगले सुझाव दिएपछि विद्यालय सञ्चालकहरुले तिव्र विरोध गर्दै आएका छन् । उनीहरुकै लविङ्को कारण ऐन निर्माण रोकिएको शिक्षा मन्त्रालयको उच्च श्रोत दावी गर्छ । शिक्षालाई मौलिक हक अन्र्तगत गरिएको व्यवस्था कार्यान्वयनका लागि आयोगले तयार पारेको सुझाव सहितको प्रतिवेद नगत माघ १ गते प्रधानमन्त्री केपी ओलीलाई बुझाईए पनि सरकारले औपचारिक रुपमा सार्वजनिक गरेको छैन । 

विद्यालय शिक्षामा भएको निजी लगानी र विद्यालय सञ्चालकहरुकै दवावका कारण प्रधानमन्त्रीले उक्त प्रतिवेदन सार्वजनिक गर्न रोकेका हुन् । तर आईतबार बसेको संसदको हिउँदे अधिवेशको अन्तिम बैठकमा प्रधानमन्त्री ओलीले सरकारले शिक्षामा ठूला उपलब्धि हासिल गर्ने उद्धेश्य राखेको दावी गरे । शिक्षामा ठूलै देशले गर्न नसकेको काम गर्न सरकार कृयाशिल भएको उनको दावी छ ।  

'शिक्षामा ठूला उपलब्धि हासिल गर्ने उद्धेश्य राखेका छौं, गत बर्ष सरकार बनेपछि बालबालिकालाई स्कुल भर्ना अभियान चलायौं यस बर्ष पनि चलाउँछौ' संसद बैठकमा बोल्दै उनले भने, 'लगभग हामी विद्यालय बाहिर कुनै बालबालिका छ भन्ने स्थितीको अन्त्य गर्छौ, यो अलिक ठूलै देशले पनि अलिक बलियैले पनि गर्न सकिहाल्या छैनन् यो हामी गर्दै छौं ।' 

निरक्षरता अन्त्यको निम्ति विशेष कार्यक्रम सञ्चालन गरेको र २ बर्ष भित्र निरक्षरता अन्त्य गर्ने उनले दोहोर्याए । यो उद्धेश्यका लागि ठोस योजनाका साथ काम गर्ने उनले बताए । विद्यालय पुर्याउने र टिकाउने, स्थानीय तहमा प्राविधिक शिक्षा पुर्याउने, गत बर्ष पहिलो पटक विद्यालयमा पाठ्यपुस्तक पुर्याईएको र यो बर्ष पनि विद्यार्थीले समयमा पाठ्य पुस्तक पाउने उनले दावी गरे । 

आफ्नो नेतृत्वमा सरकार बने पछि देशको विकासको गती  तिब्र भएको बताउँदै उनले जनतामा निराशा फैलाउन खोजिएको आरोप लगाए । 

'निराश जनता खतरनाक कुरा हो' एक घण्टा बोलेका उनले भने, 'हामी सबैका प्रयासले सदन सफल भएको छ ।'

प्रतिक्रिया