Edukhabar
मंगलबार, ११ बैशाख २०८१
खबर/फिचर

शिक्षा इकाइ प्रमुखलाई कालोमोसो !

आइतबार, १० चैत्र २०७५

डोटी - शिक्षा विकास तथा समन्वय इकाइ प्रमुख अनन्त कुमार पौड्याललाई प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस निकट विद्यार्थीले कालोमोसो दलेका छन् । आइतबारबाट शुरु भएको एसईई परीक्षाको अनुगमन गरेर फर्केका पौड्यालमाथि कार्यकक्षमै मोसो दलिएको हो । १० १२ जनाको समूहमा आएका विद्यार्थीले कालोमोसो दलेका हुन् । 

घटना लगत्तै नेपाल विद्यार्थी संघका कार्यकर्ताले प्रेस विज्ञप्ती जारी गर्दै पौड्यालले अनियमिता गरेकोले उक्त कारवाही गरेको सार्वजनिक गरेका छन् । विद्यालयको भवन निर्माण, मर्मत र शौचालय निर्माणका योजनामा उनले १० प्रतिशत सम्म कमिसन खाएको, विद्यालयको अधिकार क्षेत्र मिचेर कमिसनकै आधारमा करार शिक्षकहरु नियुक्त गरेको, कमिसन खाएरै प्रश्नपत्र समेत आउट गर्ने गरेको प्रेस बिज्ञप्तीमा आरोप लगाईएको छ ।  अस्थायी, करार शिक्षकहरुको म्याद थप गर्दा उठेको राजश्व खर्च गरेको, वढुवा हुने शिक्षक संख्या लुकाएको र विद्यालय शिक्षा परीक्षाका लागि केन्द्राध्यक्ष छनौट गर्दा राजनीतिक कोटाका आधारमा गरेको आरोप विज्ञप्तीमा लगाईएको छ । नेबिसंघ पूर्व आमन्त्रित केन्द्रीय सदस्य विजयराज ओझा लगायतका कार्यकर्ताहरुद्वारा हस्ताक्षरित उक्त विज्ञप्तीमा पौड्यालले कमिसनको रकम जम्मा गर्नका लागि चन्द्रामाया कोईराला र अरुण पौड्यालको बैङ्क खाता विद्यालयका प्रधानाध्यापकहरुलाई वितरण गरेको आरोप समेत लगाईएको छ । पौड्यालले आफ्नो मोबाईलबाट पठाएको म्यासेज समेत विद्यार्थीले सार्वजनिक गरेका छन् । 

विदाको दिनमा सरकारी गाडीको दुरुपयोग गरेको र राजनीतिक आस्थाका आधारमा पूर्वाग्रही भएर काम गरेको विज्ञप्तीमा आरोप छ ।

‘यस विषयमा डोटीका प्रमुख जिल्ला अधिकारी यादव सुदेवीलाई पटक पटक जानकारी गराउँदा समेत कुनै सुनुवाई नभएकाले भ्रष्टाचारको जालो चारैतिर फैलिएको कुरा प्रष्ट छ’ विज्ञप्तीमा भनिएको छ । 

 

प्रतिक्रिया